कोशी प्रदेशको पर्यटन विकासलाई दीर्घकालीन दिशानिर्देश दिने उद्देश्यसहित गुरु योजना निर्माणको काम सुरु भएको छ ।
प्रदेशको योजना आयोगद्वारा तयार पार्ने १० वर्षे पर्यटन विकास गुरु योजना तर्जुमा सम्बन्धी पहिलो बैठक आज भएको छ ।
बैठकमा आयोगका उपाध्यक्षले प्रस्तुत गरेको अवधारणा पत्रमाथि प्रारम्भिक छलफल गरिएको थियो। छलफलमा प्रदेशको पर्यटन सम्भावना, पूर्वाधार, निजी क्षेत्रको भूमिका र दीगो पर्यटन विकासका विषयलाई समेटेर गुरु योजना अघि बढाउने सहमति बनेको छ।
गुरु योजना निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन विभिन्न सरोकारवाला निकायसँगको छलफललाई सङ्गठित गर्दै योजना लेखन कार्य अघि बढाउने उद्देश्यले एक समिति गठन गरिएको छ।
समितिको संयोजकमा आयोगका सदस्य किशोर थुलुङ छन्। समितिमा सदस्यका रूपमा कृष्ण शाह, डा. प्रनिल नेपाल र कृष्ण न्यौपाने छन् ।
आयोगले तयार पार्ने यो गुरु योजनाले समग्र कोशी प्रदेशको पर्यटन विकासको स्पष्ट खाका कोर्ने, सम्भावनाको पहिचान गर्ने र आगामी दशकका लागि नीतिगत तथा कार्यान्वयनयोग्य मार्गचित्र प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: २५ पुस २०८२ १९:४५ शुक्रबार





