गैरआवासीय नेपाली संघ (एनआरएनए) ले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासँग माफी मागेको छ । राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी अमेरिका) का तर्फबाट हालै सार्वजनिक भएका दुई फरक विज्ञप्तिहरूका कारण मन्त्रीको अमेरिका भ्रमण तथा कार्यक्रमसम्बन्धी विषयमा भ्रम सिर्जना भएको भन्दै एनआरएनएले माफी मागेको हो ।
एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठ र उपाध्यक्ष डा.बद्री केसीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, 'सम्बन्धित सरकारी निकाय, सञ्चार माध्यम तथा नेपाली समुदायमा पर्न गएको कुनै पनि प्रकारको असहजता, भ्रम वा अपूरणीय क्षतिप्रति गैरआवासीय नेपाली संघ क्षमाप्रार्थी छ।'
यो पनि पढ्नुहोस्
मन्त्री गुप्ताले अमेरिका भ्रमण रद्द गरे, नैतिक पराजय व्यहोरे
विकास उप्रेतीको अध्यक्षतामा एनआरएनए एनसीसी अमेरिकाले औपचारिक रूपमा कार्यक्रमका लागि मन्त्री गुप्तालाई आमन्त्रण गरेको जानकारी पाएको बताउँदै एनआरएनएले गैरआवासीय नेपाली संघमा विगतमा देखिएका आपसी असमझदारीहरू अन्त्य गर्दै केन्द्रमा बृहत् एकताको सम्झौता सम्पन्न भइसकेको तथा राष्ट्रिय समन्वय परिषद्हरू (एनसीसी) समेत एकताको प्रक्रियामा सहभागी भइरहेको स्पष्ट पारेको छ। यद्यपि, विकास उप्रेती र सत्येन्द्र शाहको अध्यक्षतामा गठित दुघ फरक राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी अमेरिका) बीच आपसी समन्वयको अभावका कारण अहसज परिस्थित उत्पन्न भएको उसको बुझाइ छ ।
विज्ञप्तिमा भनिएको छ,'गैरआवासीय नेपाली संघ नेपाली डायस्पोरालाई प्रतिनिधित्व गर्ने संस्था भएको नाताले नेपालको बदलिँदो राजनीतिक–सामाजिक परिस्थिति, साथै पछिल्लो जेन-जी आन्दोलनपश्चात् उत्पन्न राष्ट्रिय अवस्था र सम्भावनाहरूको सन्दर्भमा नेपाल सरकारमा जेन-जीको प्रतिनिधित्व गर्दै युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालिरहनुभएका माननीय बब्लु गुप्ताज्यूलाई नेपाली समुदायसँग प्रत्यक्ष अन्तरक्रिया तथा विचार–विमर्श गर्न औपचारिक रूपमा आमन्त्रण गरिएको र “Role of NRNA Youth in the Development of Nepal Post Gen-Z Revolution” शीर्षकमा माननीय मन्त्रीज्यूको विचार, अनुभव तथा नीतिगत दृष्टिकोणमार्फत विदेशमा रहेका नेपाली युवाहरूलाई नेपालको विकास प्रक्रियासँग अझ सशक्त रूपमा जोड्ने कार्यक्रमको उदेश्य रहेको बुझिएको छ ।
गैरआवासीय नेपाली संघ सधैं संस्थागत मर्यादा, पारदर्शिता तथा जिम्मेवार सञ्चारप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै एनआरएनएले आगामी दिनमा यस्तो अवस्था पुनः नदोहोरिन सुनिश्चित गर्न आन्तरिक समन्वय तथा सूचना प्रवाह प्रक्रियालाई अझ व्यवस्थित र सुदृढ बनाइने प्रतिवद्धता पनि पनि जनाएको छ ।
प्रकाशित: २५ पुस २०८२ १९:४२ शुक्रबार




