प्रस्तावित अमेरिका भ्रमण चौतर्फी विवादमा परेपछि युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले अन्ततः भ्रमण रद्द गरेका छन्। सहभागी हुने भनिएको कार्यक्रमको मिति, मोडालिटी र आधिकारिक अस्तित्व नै स्पष्ट नभएको अवस्थामा मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत गराएर अमेरिका जान खोज्नु पदीय दुरुपयोग भएको भन्दै गुप्ताको तीव्र आलोचना भइरहेको थियो।
मन्त्री गुप्ताले टेक्ससको डालसमा हुने भनिएको ‘रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल पोस्ट जेनजी रिभोल्युसन’ शीर्षकको कार्यक्रममा सहभागी हुन २१ पुसको मन्त्रिपरिषद् बैठकबाट भ्रमण स्वीकृत गराएका थिए। तर उक्त कार्यक्रम न त नेपाल सरकारको अभिलेखमा देखियो, न त अमेरिकी सरकार, न नेपाली दूतावासको कुनै आधिकारिक सूचिमा नै। झन् गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका स्वयं विभाजित रहेको र आधिकारिक एनआरएनएले मन्त्रीलाई कुनै निम्तो नदिएको स्पष्ट पारिसकेपछि भ्रमण ‘मोह’ र ‘हठ’ बाहेक केही नभएको आरोप चर्कियो।
विकास उप्रेती नेतृत्वको एनआरएनए अमेरिकाले कार्यक्रमको विस्तृत विवरण र सेड्युल तय नभएको स्वीकार गरे पनि सतेन्द्र साह नेतृत्वको आधिकारिक एनआरएनएले भने मन्त्रीलाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरिएको स्पष्ट विज्ञप्ति जारी गरेको थियो। संस्थाको नाम, इआइएन नम्बर र डिजिटल पहिचान दुरुपयोग गरी अनधिकृत गतिविधि भइरहेको आरोपसमेत लगाइएको छ।
यसैबिच, सरकारको सदाचार नीतिअनुसार अत्यावश्यकबाहेक विदेश भ्रमण नगर्ने व्यवस्था उल्लंघन गरिएको भन्दै स्वयं सरकारी अधिकारीहरू असन्तुष्ट देखिएका थिए। प्रधानमन्त्री सुशीला कार्कीले समेत यस विषयमा ध्यानाकर्षण भएको बताएकी थिइन्।
चौतर्फी दबाबपछि मन्त्री गुप्ताको सचिवालयले अमेरिका भ्रमण रद्द भएको जानकारी दिएको छ। कार्यक्रम तय नभएको, भिसा प्रक्रिया नै सुरु नभएको र समय अभावका कारण भ्रमण रद्द गरिएको भनिए पनि आलोचकहरूले भने ‘विवाद चुलिएपछि पछि हट्नु नैतिक पराजय’ भएको टिप्पणी गरेका छन्।
चुनाव गराउने म्यान्डेटसहित बनेको नागरिक सरकारका मन्त्रीको यस्तो व्यवहारले गुप्ताको प्राथमिकता, जिम्मेवारी र नियतमाथिको गम्भीर प्रश्न भने कायमै छ।
प्रकाशित: २५ पुस २०८२ १७:०२ शुक्रबार





