बंगलादेश र पाकिस्तानबीच चौध वर्षपछि प्रत्यक्ष हवाई उडान पुनः सुरु हुने भएको छ। ढाकाको राष्ट्रिय ध्वजावाहक बिमान बंगलादेश एयरलाइन्सले जनवरी २९ देखि ढाका–कराँची उडान सञ्चालन गर्ने जनाएको छ।एयरलाइन्सका अनुसार हप्तामा दुई पटक उडान हुनेछ ।
सन् २०१२ यताकै पहिलो नियमित प्रत्यक्ष उडान हो। बिमान बंगलादेश एयरलाइन्सकी प्रबन्धक बोस्रा इस्लामले ढाका–कराँची रुट दुई साप्ताहिक उडानसहित पुनः सुरु गर्न लागिएको जानकारी दिइन्।
भारतद्वारा करिब १,५०० किलोमिटर दूरीले विभाजित बंगलादेश र पाकिस्तान पहिले एउटै राष्ट्र थिए। सन् १९७१ को युद्धपछि दुवै देश अलग भएका थिए।
एयरलाइन्सले प्रत्यक्ष उडान पुनः सञ्चालनले व्यापारिक यात्रा, पर्यटन तथा पारिवारिक भेटघाटलाई सहज बनाउने विश्वास व्यक्त गरेको छ। हालसम्म दुवै देशका यात्रुहरूले दुबई र दोहा जस्ता खाडी मुलुक हुँदै जोडिएका उडान प्रयोग गर्नुपर्ने अवस्था थियो।
सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि प्रधानमन्त्री शेख हसिनाको १५ वर्षे शासन अन्त्य भएसँगै बंगलादेश राजनीतिक अस्थिरतामा परेको थियो। त्यसपछि भारतसँगको सम्बन्ध चिसिँदै गएको र पाकिस्तानसँगको सम्बन्ध भने सुधार हुँदै गएको देखिएको छ।
नोभेम्बर २०२४ देखि कराँचीबाट बंगलादेशको प्रमुख बन्दरगाह चिटगाउँसम्म मालवाहक जहाज पुनः सञ्चालनमा आएका छन्। त्यसयता व्यापार वृद्धि भएको छ भने सांस्कृतिक आदानप्रदान पनि बढेको छ। पाकिस्तानी गायकहरूको ढाकामा प्रस्तुति र बंगलादेशी बिरामीहरू उपचारका लागि पाकिस्तान जाने क्रम बढ्दै गएको जनाइएको छ।
प्रकाशित: २५ पुस २०८२ १९:१५ शुक्रबार





