रुपन्देहीमा कुल ६ लाख ७२ हजार ५२३ मतदाता रहेका छन्। यहाँ पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। सबै क्षेत्रमा उम्मेदवारहरू घरदैलो अभियानसँगै असन्तुष्ट कार्यकर्ता समेट्ने रणनीतिमा सक्रिय छन्।
रुपन्देही क्षेत्र नं. २ विगतदेखि नै चर्चामा रहने क्षेत्र हो। बुटवल उपमहानगरपालिकाका १३, तिलोत्तमा नगरपालिकाका ६ र सैनामैना नगरपालिकाका ४ वडा यस क्षेत्रमा पर्छन्। यहाँ १ लाख ३५ हजार ५० मतदाता छन्। यसपटक पनि यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ।
यस क्षेत्रमा नेपाली कांग्रेसबाट चुन्नप्रसाद पौडेल, नेकपा एमालेबाट विष्णु पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुलभ खरेल र नेपाल कम्युनिष्ट पार्टीबाट विश्वदीप पाण्डेय (सुभाष) चुनावी मैदानमा छन्।
कांग्रेसका चुन्नप्रसाद पौडेलको दाबी
नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेल पार्टीका महाधिवेशन प्रतिनिधि हुन्। उनी यस क्षेत्रमा सफल उद्योगीका रूपमा परिचित छन्। रुपन्देहीमै उत्पादनमूलक र सेवामूलक उद्योग सञ्चालन गरी रोजगारी सिर्जना गर्दै आएकाले निजी क्षेत्र, उद्योगी–व्यवसायी र श्रमिक वर्गसँग उनको राम्रो सम्बन्ध रहेको बताइन्छ।
व्यवसायिक रूपमा स्थापित भए पनि राजनीतिक रूपमा उनी पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका नयाँ अनुहार हुन्। दाग नलागेको र सरल व्यक्तित्व भएको भन्दै कांग्रेसले यसपटक पुरानो विरासत फर्काउने दाबी गरेको छ। गठबन्धनका कारण विगतमा विभाजित भएका कार्यकर्ता अहिले एकढिक्का भएको र विशेष महाधिवेशनको माहोलले उत्साह थपेको विश्लेषण कांग्रेसको छ।
पौडेलले प्रतिनिधिसभालाई देशको मूल कानुन निर्माण गर्ने थलो भएको उल्लेख गर्दै निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काम गर्ने बताएका छन्। उनले संस्कारसहितको सीपमूलक तथा प्राविधिक शिक्षा, रोजगारीको ग्यारेन्टी, सर्वसुलभ स्वास्थ्य सेवा, परिणाममुखी विकास र नीतिगत सुधारका एजेन्डा अघि सारेका छन्। उद्योग विस्तार, व्यापार र पर्यटन प्रवर्द्धनमार्फत बुटवल तथा रुपन्देही क्षेत्र नं. २ लाई देशकै भरपर्दो आर्थिक केन्द्र बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। भ्रष्टाचारमुक्त देश निर्माण र आर्थिक विकासको नयाँ अध्याय सुरु गर्ने उनको घोषणा छ।
एमालेका विष्णु पौडेलको विरासत जोगाउने प्रयास
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल यस क्षेत्रबाट लगातार चार पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन्। उनी पाँच पटक अर्थमन्त्रीसमेत भइसकेका छन्। २०६४ सालयता लगातार जित हासिल गर्दै आएका पौडेल यसपटक पनि आफ्नो विरासत कायम राख्न सक्रिय छन्। यद्यपि, पार्टीभित्रका असन्तुष्टलाई व्यवस्थापन गर्न उनलाई चुनौती रहेको बताइन्छ।
एमालेले पौडेललाई यस क्षेत्रको विकासको पर्यायका रूपमा प्रस्तुत गर्दै जित सुनिश्चित भएको दाबी गरेको छ। पौडेलले आफ्नो नेतृत्वमा सडक, पुल, सुरुङमार्ग, अस्पताल स्तरोन्नति र औद्योगिक क्षेत्र विस्तारजस्ता ठूला पूर्वाधार आयोजना सम्पन्न भएको उल्लेख गरेका छन्।
भौतिक पूर्वाधार, आर्थिक विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, पर्यटन, ऊर्जा र सामाजिक सुरक्षालाई उनले मुख्य चुनावी एजेन्डा बनाएका छन्। सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर घरदैलो अभियान सञ्चालन गरिरहेका छन्।
२०५१ सालमा पाल्पा–३ बाट पहिलोपटक निर्वाचित भएका पौडेल २०५६ मा बुटवल झरेका थिए। त्यसबेला उनी नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भए। त्यसपछि २०६४ मा माओवादीका भक्ति पाण्डेय, २०७० मा तत्कालीन माओवादीका बाबुराम भट्टराई, २०७४ मा कांग्रेसका युवराज गिरी र २०७९ मा रास्वपाका गणेश पौडेललाई पराजित गर्दै प्रतिनिधिसभामा पुगे।
तर २०७९ को मतान्तरले उनलाई झस्काएको थियो। विशेषतः बुटवलबाट लुम्बिनी प्रदेशको राजधानी दाङ सारिएपछि उनको प्रभाव घटेको विश्लेषण गरिन्छ। त्यतिबेला गठबन्धनका कारण मतपत्रमा कांग्रेसको चुनाव चिह्न नहुनु र रास्वपाका उम्मेदवार गणेश पौडेल कम परिचित हुनुका बाबजुद प्राप्त मतले प्रतिस्पर्धा कडा भएको संकेत दिएको थियो।
यसपटक महाधिवेशनमा नेतृत्व परिवर्तनको मुद्दा नअँगालेको र यथास्थितिमा रमाएको आरोप पनि उनीमाथि छ। यद्यपि, उनको सचिवालयले आन्तरिक विषयले संसदीय निर्वाचनमा ठूलो असर नपार्ने दाबी गरेको छ।
उनप्रति सुनिने अर्को गुनासो भनेको ‘सधैं एउटै व्यक्तिलाई किन भोट दिने?’ भन्ने हो। तर पौडेलले आफूलाई विजयी गराएर जनताले कहिल्यै पछुताउनु नपर्ने दाबी गर्दै आएका छन्।
अन्य उम्मेदवार पनि मैदानमा
यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टीबाट युवा नेता विश्वदीप पाण्डेय चुनावी दौडमा छन्। उनले क्षेत्र नं. २ का जनताको आवाज, समस्या र अपेक्षालाई सदनमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। जनताले खोजेको सुशासन र विकासको प्रत्याभूति गराउने भन्दै मत मागिरहेका छन्।
राष्ट्रिय जनमुक्ति पार्टीबाट केशबहादुर थापासमेत चुनावी प्रचारप्रसारमा सक्रिय छन्।
समग्रमा रुपन्देही क्षेत्र नं. २ मा कांग्रेस, एमाले र रास्वपाबीच कडा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ। पुरानो विरासत फर्काउने, जोगाउने र नयाँ विकल्प स्थापित गर्ने दाबीका बीच मतदाताको निर्णयले परिणाम तय गर्नेछ।
प्रकाशित: १७ फाल्गुन २०८२ २१:४० आइतबार





