४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

‘जितिसकेको’ खेल हार्‍यो कर्णाली याक्स !

क्रिकेटका पण्डितहरूमाझ ‘क्याच विन म्याच’ भन्ने उखान प्रचलित छ। क्याच समात्न नसके खेल हार्ने सम्भावना प्रबल हुन्छ ।

बिहीबार नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा कर्णाली याक्सले त्यही परिणति ब्यहोर्‍यो । लगभग आफ्नो पक्षमा आइसकेको खेल हारेर प्रतियोगिताबाट बाहिरिन कर्णालीका लागि एक साधारण ‘क्याच’ छाड्नु मुख्य कारण बन्यो । कर्णाली हार्दा जनकपुर बोल्ट्सले फाइनलको यात्रा सुनिश्चित गर्‍यो । 

उसो त कर्णालीको हारमा त्यो क्याचमात्रै कारण होइन । टस हारेर पहिले ब्याटिङको निम्ता पाएको कर्णालीले निर्धारित २० ओभरमा ११८ रनको निम्न स्कोरमा रोकिनु उसका लागि पहिलो झट्का थियो । 

ब्याटर ‘फ्लप’ हुँदा लगभग पहिलो इनिङमै गुमाएको खेलमा कर्णालीका बलरले भने सुरुदेखि नै ऊर्जा भरेर नै आशा जगाइदिए ।

जनकपुरको इनिङमा दोस्रो ओभरमा शुभ कंशाकार, तेस्रो ओभरमा आसिफ शेख, पाँचौँ ओभरमा लहिरु मिलान्था, १० औँ ओभरमा आकाश त्रिपाठी, १२ औँ ओभरमा हर्ष ठाकरको विकेट लिएर कर्णाली लगभग खेलमा हाबी भएको थियो । 

यो अवस्थामा जनकपुर बोल्ट्स १२ ओभरमा ५ विकेट गुमाएर जम्मा ५८ रनको नाजुक स्थितिमा थियो । जनकपुरलाई खेल जित्न अझै ८ ओभरमा ६१ बल बनाउनु थियो । लगातार विकेट गइरहेका थिए, जम्मा पाँच विकेट मात्र बाँकी थिए ।  

कर्णालीका खेलाडी र समर्थकमा विजयी भाव छचल्किसकेको थियो ।

कर्णालीको त्यो यात्रामा एकाएक न्युजिल्यान्डका स्टार अलराउन्डर जिम्मी निसम खलल पुर्‍याउन थाले । निसमले एकपछि अर्को ठुला प्रहार गर्दै १७ बलमै आक्रामक ४५ रन जोडेर जनकपुरलाई खेलमा फर्काए । जसक्रममा उनले पाँच ठुला छक्का र दुई चौका प्रहार गरे । 

एकाएक खेलमा अर्को ट्विस्ट देखियो । स्पिनर विपिन शर्माको बलमा निसम ‘कट एन्ड बोल्ड’ भए । निसम आउट हुँदा जनकपुर हाबी थियो । १५.३ ओभरमा जनकपुरको ९४ रन थियो । हातमा चार विकेट बाँकी थिए । तर निसम आउट भएकै ओभरमा विपिनले मोहम्मद मोहसिनलाई पनि एलबिडब्लुको धरापमा पारे । 

एकै ओभरमा लगातार दुई विकेट लिएपछि फेरी एकाएक खेलमा कर्णालीमा हाबी भयो । 

त्यसपछि १७ औँ ओभरमा कर्णालीबाट सबैभन्दा ठुलो त्रुटि भयो । नन्दन यादवले फालेको १७ औँ ओभरको पहिलो बल मयन यादवले सामना गर्दै थिए । जसमा बलले मयनको ब्याटको एज लिएर सहज क्याचको अवसर हुँदै विकेट किपर चाडविक वाल्टनको हातसम्म पुग्यो । तर, ग्लब्ससँग छट्किएर अलग्गै गयो, क्याच छुट्यो । 

लगातार विकेटको सिलसिलामा आएको यही क्याच कर्णालीका लागि निकै महँगो भयो । 

त्यसपछि पनि सोही ओभरमा मयनको ब्याटबाट ‘फाइन लेग’तर्फ उठेको सम्भावित क्याच त्यहाँ फिल्डिङ गरिरहेका फिल्डर भेउ नै पाएनन् । उल्टो ‘मिस फिल्ड’ हुँदा दुई रन गुम्यो ।

खेलको १९ औँ ओभरमा पुग्दा जनकपुरले ८ विकेट गुमाइसकेको थियो । जित्न १४ रन चाहिन्थ्यो । त्यहाँ कर्णालीका कप्तान सोमपाल कामीको कमजोर कप्तानी देखियो । 

१९ औँ ओभरमा अनुभवी बलरबाट बलिङ गराउनुपर्थ्यो । उनी आफै जान पनि सक्थे । उनी आफैले ‘डेथ’ ओभरमा फाल्न एक ओभर बाँकी राखेका थिए । सम्भवतः अन्तिम ओभरका लागि बाँकी राखे । 

१९ औँ ओभर नन्दन यादवलाई थमाए । जुन निर्णय निकै महँगो साबित भयो । नन्दनले एकै ओभरमा पूरै १४ रन खर्च गरिदिए । त्यसमा केही ‘मिस फिल्ड’ पनि देखियो । 

‘हाई भोल्टेज’ खेलमा १९ औँ ओभर अनुभवी बलर वा सोमपाल आफैले गरेको भए केही बल ‘डट’ हुँदा वा विकेट नै गुम्दा जनकपुर दबाबमा आउन सक्थ्यो । जसले अन्तिम ओभरमा कर्णाली जित निकाल्न सक्थ्यो । 

तर, न्यून स्कोर बचाउन सुरुमा बलरले गरेको उत्कृष्ट प्रदर्शन अन्तिमसम्ममा जोगाउन नसक्दा कर्णालीले हारेर प्रतियोगिताबाट बाहिरिएको छ । सम्भवतः कर्णालीले यो हार लामो समयसम्म चुभिरहने छ ।   

प्रकाशित: ४ पुस २०८१ १७:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App