१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

को नायक को खलनायक ?

क्याप्शन

भारतीय चलचित्र ‘खलनायक’ रिलिज भएको तीन दशक बढी भइसक्यो । तर बिहीबारबाट ‘नायक नहीं, खलनायक हुँ मैं’ गीत फेरि एकपटक सामाजिक सञ्जालमा भाइरल भएको छ । खलनायम चलचित्रमा अभिनय गरेका कलाकार सञ्जय दत्त नेपाल आएसँगै उनका पुराना चलचित्र, गीत र दृश्यहरू पुनः ट्रेन्डमा आएका छन् ।

बलिउड स्टार दत्त बिहीबार बेलुका काठमाडौं आएका हुन् । काठमाडौंस्थित होटल बाराहीले सञ्चालनमा ल्याउन लागेको ‘बादशाह क्यासिनो’ उद्घाटनका लागि उनी यहाँ आएका हुन् । व्यावसायिक कार्यक्रममा सहभागी हुन आएका उनको काठमाडौं यात्रा छोटो भए पनि प्रभावशाली बन्यो ।

क्यासिनो उद्घाटनसँगै उनले शुक्रबार बिहान पशुपतिनाथ मन्दिर पुगेर दर्शन गरे । उनी शुक्रबार नै स्वदेश फर्किएका छन् । तर काठमाडौंमा उनको छोटो उपस्थितिले नेपाली सिने जगत् र सामाजिक सञ्जालमा गहिरो छाप छोड्यो ।

दत्त नेपाल आएको खबरसँगै टिकटक, फेसबुक, इन्स्टाग्राम र रिल्समा उनका चर्चित चलचित्रका गीत र दृश्यहरू व्यापक रूपमा सेयर भए । विशेषगरी ‘नायक नहीं खलनायक हुँ मैं’ गीत युवा पुस्तामाझ पुनः चर्चामा आयो । ३० वर्षअघि रिलिज भएको उक्त गीत आज पनि उस्तै प्रभावशाली हुनु दत्तको स्टारडम र चरित्र अभिनयको प्रमाण हो ।

दत्तको काठमाडौं यात्राका क्रममा अर्को एउटा तस्बिर पनि चर्चामा आयो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र दत्तबिच भएको भेटको तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो । फिल्म स्टार र राजनीतिक नेताबिचको यो भेटले पनि धेरैको ध्यान तान्यो । दाहाल–दत्त तस्बिरको रिलमा खलनायक सिनेमाको उही चर्चित गीतको प्रयोग गरिएको छ । ‘नायक नही खलनायक हुँ मैं,’ दाहाल र दत्तको भेटको तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ता प्रल्हाद थापाले लेखेका छन्, ‘को नायक को चाहिँ खलनायक ?’

नेपालका नेताले मात्र हैन अभिनेताले पनि दत्तसँगको भेटका तस्बिरहरु सार्वजनिक गरेका छ्न । दत्तको काठमाडौं आगमनले नेपाली कलाकारहरूलाई पनि हौस्यायो । दत्तलाई भेट्न थुप्रै कलाकारहरू उनी बसेको स्थानमा पुगे । हास्य कलाकार सन्दीप क्षेत्री दत्तलाई भेट्न पुगेका पहिलो कलाकारमध्येका एक हुन् ।

आफ्नो बाल्यकालको हिरो भन्दै सन्दीपले दत्तलाई रुद्राक्षको माला उपहार दिए । उनले सामाजिक सञ्जालमा भेटको तस्बिर र भिडियो सेयर गरे । ‘मेरो बाल्यकालको हिरोलाई प्रत्यक्ष भेट्दै । म योभन्दा बढी के माग्न सक्छु’, उनले लेखेका छन्, ‘साँच्चै जीवनभरको सम्झना । सधैंभरि कृतज्ञ ।’

त्यस्तै अभिनेता प्रदीप खड्काले पनि दत्तलाई भेटे । भेटपछि उनले दत्तसँग खिचेका केही तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरे । सार्वजनिक तस्बिर प्राविधिक रूपमा स्पष्ट नभए पनि भावनात्मक रूपमा बलिया छन् । ‘बत्तीहरू पर्फेक्ट थिएनन्’, उनले लेख, ‘तर भाइब्स लेजेन्डरी थियो ।’

अभिनेत्री नीति शाह पनि दत्तलाई भेटिन् । भेटपछि उनले दत्तसँगको तस्बिर सेयर गरिन् । ‘नेपालमा सञ्जय दत्त । कहिल्यै नसकिने आकर्षण र प्रतिष्ठित व्यक्तित्व’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

दत्तको जीवन र करियर संघर्ष, विवाद र पुनरुत्थानको कथा हो । रकी, सड़क, खलनायक, मुन्नाभाइ एमबिबिएस, लगे रहो मुन्नाभाइ, अग्निपथ, केजिएफः च्याप्टर २ जस्ता चलचित्रमा दत्तले गरेको प्रभावशाली अभिनयले उनी बलिउडमा सदाबहार नायक बन्न सफल भएका छन् ।

विशेषगरी दत्तलाई मुन्नाभाइ शृंखलाले जनप्रिय बनायो भने खलनायकले एन्टी–हिरोको प्रतिमूर्ति बनायो । यही कारण आज पनि ‘खलनायक’ सामाजिक सञ्जालमा पुनर्जीवित हुँदा दर्शक भावनात्मक रूपमा जोडिन्छन् । सामाजिक सञ्जालमा यो गीत धेरै चर्चित हुनुको कारण पनि यही हो । दत्तको काठमाडौं यात्रा कुनै फिल्म सुटिङ वा लामो बसाइ थिएन । तर पशुपतिनाथ मन्दिरको दर्शन, नेपाली कलाकारसँगको आत्मीय भेट, राजनीतिक व्यक्तित्वसँगको संवाद र सामाजिक सञ्जालका पोस्टले उनको यो यात्रा स्मरणीय बन्यो ।

प्रकाशित: २५ पुस २०८२ २१:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App