२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

क्यूबाले शरणार्थी टिमबाट आफ्ना खेलाडी हटाउन गर्‍याे आग्रह

क्युबा ओलम्पिक कमिटी (सिओसी) ले पेरिस ओलम्पिक २०२४ मा रिफ्युजी टिमबाट प्रतिस्पर्धा गर्न लागेका खेलाडीलाई तत्कालै हटाउन आयोजकसमक्ष माग गरेको छ।

गत मेमा मात्र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले ११ देशका ३७ खेलाडीले पेरिस ओलम्पिकमा रिफ्युजी ओलम्पिक टिमको तर्फबाट प्रतिस्पर्धा गर्ने जनाएको थियो।

सन् २०१६ को रियो ओलम्पिकदेखि रिफ्युजी ओलम्पिक टिमको सुरुआत भएको हो। विश्वभरका शरणार्थीको कठिन अवस्थालाई ध्यान दिँदै आशाको प्रतीकको रूपमा रिफ्युजी टिमको सुरुआत भएको थियो। तर, यो टिमका बारेमा बोल्ने क्युबा पहिलो राष्ट्र बनेको छ। क्यानोइङका खेलाडी फर्नान्डो डायन जर्ज यस पटक रिफ्युजी ओलम्पिक टिमबाट प्रतिस्पर्धा गर्दै छन्।

उनी सन् २०२० को टोकियो ओलम्पिकमा क्यानोइ स्प्रिन्टको एक हजार मिटरमा स्वर्ण विजेतासमेत हुन्। फर्नान्डोसँगै भारोत्तोलनका रमिरो मोरा पनि सोही टोलीबाट यस पटक ओलम्पिकमा प्रतिस्पर्धा गर्दै छन्।

फर्नान्डो डायन जर्ज र रमिरो मोरा दुवै क्युबाका पूर्वखेलाडी हुन्। फर्नान्डो अहिले अमेरिकामा र मोरा बेलायतमा बस्छन्। त्यसैले पनि उनीहरूलाई आइओसीले शरणार्थी खेलाडीका रूपमा समावेश गरेको हो। तर, गत मेयता क्युबा आइओसीको उक्त निर्णयको विपक्षमा छ र उनीहरूलाई शरणार्थी टोलीबाट निकाल्न आग्रह गर्दै आइरहेको छ।

आफ्ना पूर्वखेलाडीलाई आइओसीले शरणार्थी टिममा समावेश गर्ने निर्णयलाई क्युबाले ‘तेलसँग भेनेगर मिसाएको’ भनेर प्रतिक्रिया दिएको छ। ती खेलाडीलाई देशले कुनै किसिमको दुःख नदिएको र देशबाट पनि ननिकालिएको क्युबाको भनाइ छ।

खेलाडी आफैँले देश छाड्ने निर्णय गरेकाले उनीहरूलाई शरणार्थी टिममा नराख्न क्युबाले माग राख्दै आएको छ। ‘शरणार्थी टिममा समावेश दुई खेलाडीले आफ्नो देश, जनता र देशको खेलभावनाप्रति अपमानजनक र भ्रामक रूपमा राजनीतिक अभिव्यक्ति दिएका छन्। जसले उनीहरूलाई सन् २०२० को टोकियो ओलम्पिकमा च्याम्पियन बनायो र त्यसलाई नै उनीहरूले अपमान गरे,’ क्युबाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

क्युबाको विज्ञप्तिमा भने खेलाडीको नाम भने उल्लेख गरिएको थिएन । यद्यपि, क्यानोइस्ट फर्नान्डो डायनले भने देशको आलोचना गरेका छन्। मेक्सिकोमा भएको प्रतियोगिताका क्रममा आफ्नो टोली छाड्दै फर्नान्डो अमेरिका गएको क्युबाको आरोप छ।

‘आइओसीका नियमअनुसार पेरिस ओलम्पिक २०२४ मा रहेका ती खेलाडीलाई तत्काल निष्कासन गर्न सिओसी आग्रह गर्दछ। किनकी उनीहरू कोही पनि द्वन्द्व या देशले दुःख दिएर निकालिएका खेलाडी होइनन्,’ सिओसीले भनेको छ।

तर, क्युबाको यो भनाइप्रति क्यानोइङका ओलम्पिक स्वर्ण विजेता फर्नान्डोले प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। इतिहासमै सबैभन्दा बढी शरणार्थीहरूले पेरिस ओलम्पिकमा सहभागिता जनाउँदै छन्।

शरणार्थी टोलीले लगातार तेस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गर्न लागेको हो। ओलम्पिक रिफ्युजी फाउन्डेसनले व्यवस्थापन गरेको शरणार्थी टोलीले ओलम्पिकमा प्रतिस्पर्धा गर्ने मौका नपाएका शरणार्थी खेलाडीलाई विश्व खेलकुदको सबैभन्दा ठूलो खेलकुद महाकुम्भमा सहभागी गर्ने अवसर प्रदान गर्दै आएको छ।

प्रकाशित: १० श्रावण २०८१ ०७:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App