२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

स्यान्टु र मनिताले नेपालको झन्डा बोक्ने

फ्रान्स राजधानी पेरिसमा आयोजना हुने ३३औँ ग्रीष्मकालीन ओलम्पिक प्रतियोगिताको मार्चपासमा नेपालको झन्डा टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोक्ने भएका छन्।

साउन ११ देखि २७ गतेसम्म हुने प्रतियोगिताको उद्घाटनमा नेपाली झन्डा बोक्न यी दुई खेलाडी छनोट भएको नेपाल ओलम्पिक कमिटीले जनाएको हो। गत जेठ दुई गते लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको दक्षिण एसियाली छनोट फाइनलमा नेपालकै संयोग कपालीलाई ४–३ ले हराउँदै स्यान्टुले ओलम्पिकमा आफ्नो स्थान सुरक्षित गरेका थिए।

उनी नेपाली टेबल टेनिस इतिहासमा ओलम्पिकमा छनोट हुने पहिलो खेलाडी पनि हुन्। यस्तै, मनिताले एसियाली कोटामार्फत पेरिसको टिकट काटेकी हुन्। मनिताले पछिल्लो दुई वर्षदेखि ओलम्पिक छात्रवृत्तिमा प्रशिक्षण गरिरहेकी थिइन्।

 पेरिस ओलम्पिकमा स्यान्टु र मनितासहित ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठले नेपालबाट सहभागिता जनाउनेछन्। अस्ट्रेलिया बस्दै आएका स्यान्टु उतैबाट पेरिस गएका छन्।

मनितासहित अन्य खेलाडी काठमाडौँबाट पेरिस पुगिसकेका छन्। एथलेटिक्सतर्फ महिला म्याराथनको प्रतिस्पर्धा अन्तिम दिन हुनेछ। त्यसैले सन्तोषी र अफिसिलय भने अर्को मंगलबार मात्र पेरिस प्रस्थान गर्ने ओलम्पिक कमिटीले जनाएको छ।

टेबलटेनिसमा राजेन्द्र कपाली, जुडोमा देवु थापा प्रशिक्षक रहेका छन्। सुटिङमा प्रदीप खाती, एथलेटिक्समा कान्तिकुमारी महतो यादव र पौडीमा नयना शाक्यले प्रशिक्षको भूमिका निर्वाह गर्नेछन्। ब्याडमिन्टनका प्रिन्सले भने प्रशिक्षकबिना ओलम्पिक खेल्दै छन्।

टिम डाक्टरमा नविसमानसिंह प्रधान छन्। उनीहरूबाहेक युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसँगै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव नीलेन्द्रराज श्रेष्ठ भने उद्घाटनमा उपस्थित हुनेछन्। 

प्रकाशित: १० श्रावण २०८१ ०७:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App