२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

महिला एसिया कप: नेपालको सेमिफाइनलमा नजर

महिला एसिया कपको आगामी यात्रा न नेपाललाई सजिलो छ, न पाकिस्तानलाई। किनकी पहिलो खेलमा जित हासिल गरेको नेपालले अब पाकिस्तान र भारतजस्ता बलिया टोलीलाई पराजित गर्नुपर्छ। यता, पाकिस्तान भने पहिलो खेल गुमाउँदा केही दबाबमा छ। पहिलो खेलमा पाकिस्तानले भारतसँग हार बेहोरेको थियो। अब पाकिस्तानको दुई प्रतिद्वन्द्वी एसोसिएट टोली हुन्। तर, अनुभवी पाकिस्तानले सहज प्रतिद्वन्द्वीका रूपमा भने लिने छैन। किनकी सन् २०२२ को एसिया कपमा नै पाकिस्तानले यो कुरा बुझिसकेको छ। ट्वान्टी–२० मा कमजोर राष्ट्रले पनि ठूलो टोलीलाई हराएका छन्। जुन पाकिस्तानले सामना गरेको थियो।

सन् २०२२ को एसिया कपमा पाकिस्तानले थाइल्यान्डसँग स्तब्धपूर्ण हार सामना गरेको थियो। जुन गल्ती पाकिस्तानले यस पटक नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध दोहोर्‍याउन चाहँदैन । तर, एसोसिएट भए पनि नेपाल र युएई दुवै कमजोर छैनन्। अब चर्चा गरौ नेपाल र पाकिस्तानबीच आज हुने खेलको। यी दुई भिडेपछि नै समूह ‘ए’ को आगामी समीकरण लगभग स्पष्ट हुनेछ। यो भेटले एक खेलअगावै नेपाल सेमिफाइनलमा पुग्छ पुग्दैन भन्ने टुंगो लाग्नेछ। तर, पाकिस्तानलाई भने पहिलो जितले आगामी चरणमा पुग्न पर्याप्त हुने छैन।

शुक्रबारको पहिलो खेलमा युएईविरुद्ध ६ विकेटको जितपछि नेपाली टोलीमा निकै उत्साहित छ। नहुनु पनि किन ? यो नेपालको ऐतिहासिक जित हो। अघिल्ला दुई संस्करणमा सहभागिता जनाउँदै आठ खेल खेले पनि नेपाल जितविहीन थियो। तर, शुक्रबार युएईविरुद्ध नेपालले ऐतिहासिक सफलता निकाल्यो। युएईविरुद्धको जितमा मात्र नेपाली महिला टोली सीमित हुन चाहँदैन। टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई निरास बनाउँदै नेपाल ऐतिहासिक सफलतालाई निरन्तरता दिने लक्ष्यमा छ।

सेमिफाइनलसम्म पुग्ने लक्ष्यसहित श्रीलंका पुगेको नेपालको उद्देश्य अझैँ पूरा भएको छैन। यद्यपि, लक्ष्य भने सहज छैन। सन् २०१२ मा ट्वान्टी–२० फरम्याटमा एसिया कप सुरु भएपछि पाकिस्तान दुई पटक फाइनलमा पुगेको छ। तर, अहिलेसम्म उपाधि जित्न भने सकेको छैन। यता, नेपालको भने यो तेस्रो सहभागिता मात्र हो। त्यसैले पनि पाकिस्तान नेपालका लागि कठिन प्रतिद्वन्द्वी हो। पहिलो खेलमा नेपाल र युएई समान प्रतिद्वन्द्वी हुन्। यद्यपि, जित निकाल्न नेपालले संघर्ष गर्नुपर्‍यो। पाकिस्तानविरुद्ध ससानो गल्ती गर्ने नेपाललाई छुट हुने छैन।

अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन देखाउनु पर्नेछ। बलिङमा कप्तान इन्दु बर्मासहित स्पिनरले राम्रो प्रभाव छाडे। तथापि, मध्यम गतिकी सबनम राई र कविता कुँवर लयमा देखिएका छैनन्। फिटनेस र फिल्डिङमा पनि समस्या उस्तै छ। विकेटकिपर काजोल श्रेष्ठले पनि गल्ती गरिरहेकी छन्। एक समय नेपालकी महत्त्वपूर्ण ब्याटर मानिएकी सीता रानामगरले पनि आफ्नो लय भेट्टाउन सकेकी छैनन्। यस्तोमा नेपालको ओपनिङमा दबाब पर्न सक्छ।

यद्यपि, २४ वर्षीया ओपनर सम्झना खड्काको प्रदर्शन नेपालका लागि सुखद पक्ष हो। गत वर्ष मात्र राष्ट्रिय टोलीमा डेब्यु गरेकी उनले युएईविरुद्ध अविजित ७२ रनको इनिङ खेलिन्। यो इनिङ नेपालका लागि जित दिलाउन पर्याप्त बन्यो। सम्झनाले लय जारी राख्दा अनुभवी सीता, कप्तान इन्दु र पूर्वकप्तान रुविना क्षेत्रीले जिम्मेवारीपूर्ण इनिङ खेल्न सकेमा पाकिस्तानविरुद्ध जित सम्भव हुनेछ। साथै बलिङमा पनि साथ पाउनु पर्नेछ।

पाकिस्तानको टोली पहिलो खेलमा हरमनप्रीत कौरको कप्तानीमा रहेको भारतविरुद्ध चल्न सकेन। तर, सातपल्टको विजेताविरुद्ध पाकिस्तानको प्रदर्शन कमजोर भने होइन। दुई ओपनर चल्न नसके पनि सदिरा अमिन (२५), तुबा हसन (२२) र फातिमा सना (२२)ले क्रिजमा टिकेर प्रदर्शन गर्दा पाकिस्तानको इनिङ समालेका थिए। प्रशिक्षक मनोज कटवालको भनाइ मान्ने हो भने नेपालको इनिङ कमै मात्र सय रनको आँकडा कटाउन सक्छ। तर, युएईविरुद्ध सम्झनाले उत्कृष्ट ब्याटिङ गर्दा नेपालले लय सुधार गर्‍यो।

पाकिस्तानविरुद्ध भने नेपाललाई ब्याटिङ गर्न सहज हुने छैन। किनकी पाकिस्तानी बलर उत्कृष्ट छन्। यस्तो नेपालले समालिएर खेल्नु पर्छ। यसअघि २०१६ मा भएको भेटमा पनि नेपालले पाकिस्तानविरुद्ध ४७ रन मात्र बनाउन सकेको थियो। त्यतिबेला रुविना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, इन्दु बर्मा र सबनम राई टोलीमा थिए। यी पाँचै जना सम्भवत् आइतबार पनि पाकिस्तानविरुद्ध टोलीमा हुनेछन्। त्यो भेटमा रुबिनाबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन्। यस पटक भने नेपाली ब्याटर सुधार गर्ने लक्ष्यमा हुनेछन्।

यद्यपि, ब्याटिङमा रुविना, सीता र इन्दु लयमा नहुनु नेपालका लागि समस्या बन्न सक्छ। नेपालविरुद्ध पाकिस्तानका लागि सबैभन्दा महŒवपूर्ण खेलाडी कप्तान निदा रसिद दार हुन सक्छिन्। उनी बलिङ अलराउन्डर हुन्। हालसम्म १४३ इनिङमा उनले १४० विकेट पूरा गरेकी छन्। उनी पाकिस्तानकी सर्वाधिक विकेटकर्ता पनि हुन्। त्यसैले नेपालको ब्याटिङमा उनी चुनौती बन्न सक्छिन्। युवा स्पिनर सैयदा अरूब शाहले भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।

उनले तीन ओभरमा नौ रन मात्र खर्चेर शेफाली बर्मा र स्मृति मन्दानाजस्ता उत्कृष्ट ब्याटरलाई आउट गरेकी थिइन्। सिद्रा अमिन अहिले पनि छोटो फम्र्याटमा उत्कृष्ट लयमा छिन्। उनले पछिल्ला आठ ट्वान्टी–२० आईमा २०५ रन बनाएकी छन्। त्यसैले पाकिस्तान आगामी दुई खेलमा उत्कृष्ट पुनरागमन गर्नेमा विश्वस्त छ। निदा भन्छिन्, ‘फरक पावरप्लेको थियो, हामीले दुवै ओपनर गुमायौं। बलरहरूले भारतविरुद्ध अन्त्यमा राम्रो प्रदर्शन गरेका पनि थिए। अब नेपाल र युएईविरुद्ध उत्कृष्ट पुनरागमन गर्नेछौं।’

प्रकाशित: ६ श्रावण २०८१ ०७:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App