२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

पुरस्कार घोषणा गर्ने तर नदिने झापा खेलकुद पत्रकार मञ्च

क्याप्शन

गत चैत ३० मा आयोजित पाँचौं झापा स्पोर्ट्स अवार्डको महिलातर्फ वर्ष उत्कृष्ट खेलाडी बक्सिङकी तृषा जवेगू घोषित भइन्।

२०७९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडी घोषित भएकी उनले सहमतिअनुसार एक लाख रूपैयाँ पाउनुपर्ने थियो। तर, अवार्ड आयोजना भएको साढे दुई महिना हुन लागिसक्दा पनि उनले त्यो रकम नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाबाट अझै पाउन सकेकी छैनन्। ‘मलाई करिब एक महिनाअगाडि नै खाता नम्बर पठाइदिनु दिन्छु भन्नुभएको थियो। तर, अवार्ड भएको र प्रतिबद्धता व्यक्त भएको यत्रो समय भइसक्यो, अझै पनि एक पैसासम्मेत दिनुभएको छैनन्,’ उनी भन्छिन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकविक्रम नेम्बाङका स्वर्गीय भाइ तथा फुटबलर आशिषविक्रम नेम्बाङको स्मृतिमा २०७३ सालदेखि आयोजना हुँदै अवार्ड कार्यक्रममा उत्कृष्ट महिला खेलाडीतर्फ तृषासहित १९औं एसियाली खेलकुदअन्तर्गत कबड्डीतर्फकी कांस्य पदक विजेता अनुजा कुलुङ राई र टेबल टेनिसकी सिक्का सुलवाल श्रेष्ठ मनोनीत भएका थिए।

अनुजा र सिक्कालाई पछि पार्दै अवार्ड जितेपछि उनले प्राप्त हुने रकम भाइबहिनीको पढाइमा खर्च गर्ने मन बनाएकी थिइन्। तर, उक्त रकम नआउँदा अहिले उनको यो योजना लथालिङ्ग भएको छ।

‘अरू त केही योजना थिएन। त्यो रकम पाइदिए भाइबहिनीको पढाइमा खर्च गर्ने थिएँ। त्यही पनि आउँछ कि भनेर अहिलेसम्म कुरिरहेको छु,’ उनले भनिन्।

तृषाले मात्रै होइन, वर्ष उत्कृष्ट प्रशिक्षक डम्बर लिम्बूलाई पनि आयोजकले उसै गरी झुलाइरहेको छ। तृषालाई खाता नम्बर मागे पनि बक्सिङ प्रशिक्षक लिम्बूलाई भने त्यो प्रक्रिया पूरा गर्न मञ्चले आवश्यक ठानेको छैन। न अहिलेसम्म उनलाई बैंकमा भुक्तानी दिने भनिएको छ न उनले पाउनुपर्ने २५ हजार रूपैयाँ हाताहाती नै दिने प्रतिबद्धता नै व्यक्त गरिएको छ। बरु एक पटक आफैंले कल गरेर अध्यक्ष इन्द्रजित मुखियालाई भेट्न खोजे पनि नभेटिएको उनी दुखेसो पोख्छन्। ‘एक हप्ताअघि मैले नै कल गरेको थिएँ। त्यतिखेर आउनु न त भनेका थिए। म गएको पनि थिएँ। तर, अध्यक्ष मुखियाले के काम परेर कता जानुभएकोे छ रे भनेर भेटेनन्। त्यसपछि मलाई सम्पर्क गरेका छैनन्,’ उनले भने, ‘पुरस्कार रकम पाइन्छ कि भनेर कुरिरहेको छु। कहिले दिने हुन् खोइ?’

चर्चा कमाउन उधारोमै अवार्ड कार्यक्रम

खेलकुद पत्रकारहरूको साझा मञ्च भएपछि यसले खेलक्षेत्रमा भइरहेको विकृति र विसंगतिबारे कलम चलाउन आफ्नो संस्थामा आबद्ध पत्रकारहरूलाई उत्प्रेरित गर्नुपर्ने हो। खेलाडीले पाएको दुख कष्ट र प्रतिबद्धता जनाएअनुसार विभिन्न निकायबाट घोषित पुरस्कार नपाउँदा आवाज उठाइदिनुपर्ने हो। तर, यही मञ्चले भने खेलाडीलाई नै पीडित बनाइरहेको छ। तर, मञ्चका सचिव तथा खेल प्रतिभा छनोट समितिका संयोजक चिरञ्जीवी घिमिरे भने सधैं उधारो र आश्वासनमा काम गर्नुपर्ने बाध्यता रहेको सुनाउँछन्। त्यसैले गर्दा आफू आबद्ध रहेको मञ्चमा यो समस्या उत्पन्न भएको भन्दै उनी पन्छिन खोज्छन्।

‘हामीले मञ्चमा ब्याक अप पैसा भएर यो कार्यक्रम गरेको हैन। विभिन्न संघसंस्थासँग सम्झौता गरेर गर्ने गरेका छौं। त्यहाँबाट आर्थिक सहयोग गर्छु भनेपछि कार्यक्रम आयोजना गरेका हौं। प्रतिबद्धताअनुसार समयमै रकम नआएपछि अहिले समस्या आएको छ। यद्यपि, केही साना रकमहरू भने हामीले आउनसाथ दिएका छौं,’ उनी भन्छन्।

मञ्चले स्पेसल अचिभमेन्ट अवार्ड प्राप्त गरेका फिफा रेफ्री श्याम दनुवारलाई बल्लतल पाउनुपर्ने  २५ हजार रूपैयाँ प्रदान गरेको थियो। सुरुमा उनलाई चेक थमाइएको थियो। तर, उक्त चेकमा हस्ताक्षर नमिलेको भन्दै फिर्ता मागिएको उनी बताउँछन्। त्यसको केही दिनपछि मञ्चले नै रकम उपलब्ध गराएको उनको भनाइ छ।

‘मलाई पनि दाइ (डम्बर लिम्बू)ले हिजोतिर कल गर्नुभएको थियो। अहिलेसम्म पैसा आएन, तिम्रो के भयो भनेर सोध्दै हुनुहुन्थ्यो। मैले चेक पाएको थिएँ। त्यो चेक पाएको १५ दिनपछि बोलाउनुभएको थियो। सुरुमा चेक फिर्ता दिएँ। पछि एकाउन्टमा पठाइदिनुभएको रहेछ,’ उनले भने।

सधैँ ढिलासुस्ती

पहिलो संस्करणमा अन्य खेलाडीको प्रदर्शन उत्कृष्ट हुँदाहुँदै नेपाली राष्ट्रिय टोलीकी पूर्वकप्तान रुबिना क्षेत्री बेलबासेलाई पुरस्कृत गरिएको भन्दै मञ्च विवादमा तानिएको थियो। त्यसयता पनि मञ्च पटकपटक पुरस्कृत गर्ने कुरामा विवादमा नपरेको होइन। अघिल्लो संस्करणमा नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ र उसुकी जुनी राई वर्ष उत्कृष्ट खेलाडी घोषित हुँदा पनि पुरस्कारमै विवाद सिर्जना भएको थियो।

जुनीले उक्त संस्करणमा यामाहाको स्कुटर प्राप्त गरेकी थिइन्। अवार्ड प्रदान गर्दा नै उनलाई ‘डमी’ चाबी थमाइएको थियो। तर, उक्त स्कुटरसँग फोटो खिचेपछि भने मञ्चले रकम भुक्तानी नगरेको भन्दै स्कुटर तत्कालै यामाहाको सोरुमले फिर्ता लगेको थियो। त्यसपछि उक्त स्कुटर पाउन करिब नौ महिना कुर्नुपरेको जुनी बताउँछिन्।

‘स्कुटर बल्लतल्ल पाएँ नि! खै उहाँहरूको के कुरा मिलेको थिएन। पाएको स्कुटर पछि दिन्छु भनेर लग्नुभयो। त्यो कार्यक्रम भएको ४/५ महिनापछि म झापा गएर सोधेको पनि थिएँ। दिन्छुु भन्नुभएको थियो। मैले पछि वास्ता गरेको थिइनँ। तर, नौ महिनापछि उहाँहरूले नै पास गरेर मलाई दिनुभयो,’ उनी भन्छिन्।

त्यतिखेर कोरोना महामारी भएका कारण आफूले पनि छुट दिएको उनी बताउँछिन्। तर, अहिले सामान्य स्थिति हुँदा पनि खेलाडीले पाउनुपर्ने पुरस्कार नपाउनु दुखको विषय भएको उनको भनाइ छ।

‘रकम ठूलो कुरा होइन’

झापा खेलकुद पत्रकार मञ्चका कोषाध्यक्ष प्रकाश बानियाँ आफूहरूले धेरैलाई पुरस्कार रकम दिन बाँकी रहेको स्वीकार गर्छन्। अहिले सरकारी निकायको ‘क्लोजिङ टाइम’ भएका कारण पनि दुई तीन जनाको भन्दा अरूको पुरस्कार रकममा ढिला भएको उनको भनाइ छ। उनका अनुसार स्पेसल अचिभमेन्ट अवार्ड पाएका फिफा रेफ्री श्याम दनुवार र पिपुल्स चोइस अवार्ड पाएकी क्रिकेटर रुबिना क्षेत्री बेलबासेले जनही २५ हजार रूपैयाँ पाइसकेका छन्।

‘श्याम दाइले त पाइसक्नुभयो। रुबिनाजीले पनि म मलेसिया जाँदै छु पुरस्कार रकम चाहियो भनेपछि मैले हाल्दिएको थिएँ। अन्यको भने बाँकी छ। मैले चेक साइन गरेर छाड्दिएको छु। यो दुई तीन दिनमा अध्यक्षज्यूहरूले कतैबाट ल्याएर दिनुभएको भए मलाई थाहा छैन,’ उनले भने।

वर्ष उत्कृष्ट खेलाडी घोषित भएका आइटिएफ तेक्वान्दोका रोशन मगर र तृषा जवेगूले जनही एक लाख, लाइफ टाइम अचिभमेन्ट अवार्ड प्राप्त ओलम्पियन मेनुका राउतले ५० हजार र उत्कृष्ट खेल पत्रकार घोषित भएका एनएसजेएफ झापाका संस्थापक अध्यक्षसमेत रहेका रमेश समदर्शीले ३५ हजार रूपैयाँ पाउनुपर्ने थियो। वर्ष उत्कृष्ट युवा खेलाडीमा पौडीका प्रारम्भ भण्डारी र वर्ष उत्कृष्ट प्रशिक्षकमा बक्सिङका डम्बर लिम्बूले जनही २५ हजार रूपैयाँ लिनुपर्नेछ।

तर, बानियाँ पुरस्कार रकमभन्दा पनि पुरस्कृत हुनुमा खेलाडी र प्रशिक्षकहरूले गर्व गर्नुपर्ने बताउँछन्। ‘पत्रकारहरूले यत्रो ठूलो कार्यक्रम गरेर सम्मानित गर्नु भनेको सानो कुरा होइन। खेलाडीहरूले एक गेम खेलेर एक लाख कमाउलान् रे, तर वर्षमा हामीले एक पटक ५० हजारले सम्मान गर्नु भनेको ठूलो कुरा होइन र?,’ उनले भने। जबसम्म संस्थाको एकाउन्टमा रकम हुँदैन तबसम्म अब अवार्ड कार्यक्रम नगर्ने उनले प्रतिबद्धता व्यक्त गरे। 

प्रकाशित: १४ असार २०८१ ०९:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App