२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

किरणको एक सय ‘क्याप’

 फुटबलमा जित र हारलाई मात्रै सम्झिने गरिन्छ । तर, अब समर्थकहरूलाई फुटबलले अर्को एउटा कुरा पनि सम्झिन बाध्य बनाउँछ । त्यो हो किरणकुमार लिम्बूको १००औं क्याप । धनकुटाको राजारानीमा जन्मिएर फुटबल खेल्न काठमाडौ ंसम्मको यात्रा तय गरेका उनै किरणले फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत मंगलबार राति साउदी अरबको दममास्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा यमनविरुद्ध खेल्दै यो दुर्लभ कीर्तिमान कायम गरेका हुन् । 

भलै यो खेलमा नेपाल २–२ गोलको बराबरीमा रोकियो । तर, पाँच खेलसम्म जित र गोल निकाल्न नसकेको कप्तान किरणको मन खिन्न देखिएन । नमेटिने कीर्तिमान कायम गरेका उनले खेल सक्किएपछि खुसी हुँदै भने, ‘अन्तिम समयसम्म सम्हालिन नसक्दा सोचेभन्दा राम्रो परिणामबाट टाढा भयौं । तर, मेरो १००औं खेल अवस्मरणीय बन्यो । यसको श्रेय सम्पूर्ण नेपाली टोलीलाई जान्छ ।’

उपेन्द्रमान सिंहको खेल हेरेर उनले राष्ट्रिय टोलीसम्म पुग्ने सपना बुनेका थिए । त्यसैले उनले १३ वर्षको उमेरदेखि फुटबल खेल्न थाले । त्यसको एक वर्षपछि नै उनी इन्टर स्कुल कप प्रतियोगिता खेल्न काठमाडौं ओर्लिएका थिए । उक्त प्रतियोगितामा उनको टोली सेमिफाइनलबाट माथि उक्लिन सकेन । तर, राम्रो उचाइ र निडर स्वभावले गर्दा उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले तत्कालै यू–१६ छनोटमा बोलायो । त्यसपछि किरणले करिअरमा पछाडि फर्केर हेर्न परेन । यू–१६ पछि १७ र १९ बाट पनि खेल्ने अवसर प्राप्त गरेका उनले उमेर समूहमा गरेको प्रदर्शनसँगै सिधै राष्ट्रिय टोलीमा स्थान बनाए । किरणले राष्ट्रिय टोलीमा पाइला टेक्दै गर्दा विकास मल्ल र रितेश थापाबीच नेपाली पोस्ट सम्हाल्न चर्को प्रतिस्पर्धा चलिरहेको थियो । यही होडले त्रिकोणात्मक मोड लिँदा बाजी मारे किरणले ।

पहिलोपटक टोली सम्हाल्न नेपाल आइपुगेका जर्मन प्रशिक्षक थोमस फ्लाथले मे २४, २००८ मा नोम पेन, कम्बोडिया भएको एएफसी च्यालेन्ज कप छनोटमा मकाउविरुद्ध किरणलाई डेब्यु गराएका थिए । तर, खेलको २४औं मिनेटमा बल रोक्नेक्रममा विपक्षी खेलाडीसँग जुध्न पुग्दा किरणको बंगारा फुस्कियो । गम्भीर चोट लागेर लामो समय मैदान बाहिर बस्नुपरेको उनलाई एक समय लागेको थियो, ‘अब कमब्याक गर्न सकिँदैन होला!’ हुनत त्यसबेला चोट नलागेको भए उनले १००औं क्याप योभन्दा धेरै अगाडि पूरा गरिसक्थे । 

 तर, उनले हिम्मत हारेनन् । करिब तीन वर्षपछि मार्च १८, २०११ मा पोखरा रंगशालामा भएको भुटानविरुद्धको मैत्रीपूर्ण खेलमार्फत किरणले पुनरागमन गरे । उक्त खेलमा नेपाल १–० ले विजयी भयो । त्यसयता किरणले नियमित नेपाली पोस्ट सम्हाल्न थालेको करिब १३ वर्ष भइसकेको छ । उमेरले ३४ वर्षमा टेकेका उनले माल्दिभ्स र भारतमा पुगेर व्यवसायिक फुटबल खेलिसकेका छन् ।

उनले एक वर्षअघि मात्रै पञ्जाब फुटबल क्लबलाई आइ लिगबाट इन्डियन सुपर लिगमा बढुवा गराएका थिए । करिअरको अन्त्यनजिक रहेर पनि किरण अन्य युवा खेलाडी झैं उत्तिकै फुर्तिला देखिन्छ । यही फिटनेसलाई कायम राख्ने हो भने उनले अझैपनि धेरै खेल खेल्ने छन् । त्यसैले त उनी भन्छन्, ‘मैले कहिलेसम्म खेल्ने भन्ने क्याल्कुलेसन गरेको छैन । योसबै स्वास्थ्यमा भर पर्छ । टाइम त आइहाल्छ, तर म जतिपनि खेल्छु नेपाली फुटबलको लागि रमाएर खेल्छु ।’

प्रकाशित: ३० जेष्ठ २०८१ २०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App