२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

सुध्रिएन नेपालको कमजोरी

युएईविरुद्धको खेलअघि अभ्यास गर्दै नेपाली टोली। तस्बिर सौजन्य: एनएसजेएफ

विश्वकप २०२६/एसियन कप २०२७ छनोटअन्तर्गत दोस्रो चरणको खेलमा युएई र यमनसँग खेल्न साउदी अरबको दमाम उड्नुअघि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस विगतमा देखिएको गल्ती स्विकार्दै समर्थकलाई केही राम्रो नतिजा दिने आश्वासन दिइरहेका थिए।

 उनी भन्दै थिए, ‘अघिल्ला खेलमा सबै पक्षमा खराब प्रदर्शन गरिरहेका थियौं। यस पटक १५ दिन प्रशिक्षण गर्ने मौका पाएका छौं। सबै क्षेत्रमा सुधार गरेका छौं।’

तर, प्रिन्स मोहम्मद विन फहद रंगशालामा बिहीबार युएईविरुद्ध ४–० को फराकिलो हार बेहोर्दा उनले दाबी गरेजस्तो कमीकमजोरी सुधार भएको कतै पनि देखिएन। खेलको सुरुआती समयदेखि नै पोर्चुगिज प्रशिक्षक पाउलो बेन्टोको प्रशिक्षणमा रहेको युएईले आक्रामक फुटबल पस्कियो।

 सुरुआती दुई ‘मुभ’ लाई नेपाली डिफेन्डरले असफल बनाइदिए। तर, लगातार दबाबमा राखेको युएईले १२औं मिनेटमा हरिब अब्दुल्लाह सुहेलको गोलमार्फत सुरुआती अग्रता बनायो।

सुहेलको गोलसँगै नेपालको डिफेन्स लाइन नराम्ररी हल्लिन पुग्यो। त्यसअघि म्यान टु म्यान चेक बसेका खेलाडी हाइलाइन बनाएर खेलिरहेका थिए। त्यसमा शारिरिक रूपमा बलियो रहेका युएईका खेलाडीलाई रणनीतिअनुसार चक्मा दिन नेपालले सकेन। त्यसको फाइदा भने दुई मिनेटपछि नै सुहेलले नै उठाउन भ्याए। अली सालेहले दिएको इन्सुइङ बललाई डिफेन्डर विशाल बस्नेतले रोक्ने प्रयास गरेका थिए। तर, सुहेलले अनुभवहीन विशाल र गोलरक्षक किरणलाई बिट गर्दै दोस्रो गोल गरे।

गोल हुनुअघि विशाल हाइलाइनमा बढेका थिए। यही समस्याका कारण नेपालले यसअघिका चार खेलमा १४ गोल खाइसकेको थियो। यो लाइनलाई छिट्टै कभर गर्नुपर्ने भए पनि विशालले त्यसो गर्न सकेनन्। उनी म्यान मार्किङमा पनि नराम्ररी चुक्न पुगे।

हाइलाइन डिफेन्समा अफसाइडको सम्भावना उच्च हुने गर्छ। अट्याकिङ फुटबल खेल्दा यसमा धेरै ध्यान पुर्‍याउनुपर्ने हुन्छ। नेपालले अट्याकिङ फुटबल खेल्न खोज्छ। तर, हाइलाइन डिफेन्समा भने बारम्बार चुक्दै आएको छ।

सायद अगाडि नेपालले खेलेका केही खेल युएईले हेरेको हुनुपर्छ। यही गल्तीलाई नेपालले ध्यान नदिँदा सुहेलले भरपूर फाइदा उठाए। नियमित खेल्दै आएका केही खेलाडीलाई आराम दिएर युएई मैदान उत्रिएको थियो।

नेपालले यसबाट फाइदा उठाउने रणनीति बनाएको थियो। त्यसैले मुख्य प्रशिक्षक एनेसले डेब्यु खेल खेलिरहेका वसन्त जिम्बाको स्थानमा राइट विंगर सनिश श्रेष्ठ र सौभाग्य राईको स्थानमा ‘राइट ब्याक’ छिरिङ लामालाई खेलको २२औं मिनेटमै मैदान पठाए।

एनेसले यो खेलमा सेट भइसकेको ब्याक लाइनमा अनुभवविहीन डिफेन्डर वसन्तलाई घुसाएका थिए। सुरुआती ११ मै परेका उनी पहिलो खेलमा आत्मविश्वासी देखिएनन्। अर्का डिफेन्डर सौभाग्यले पनि डिफेन्स लाइनमा निकै संघर्ष गरिरहेका थिए। उनलाई सुलेहले निरन्तर बिट गरिरहेका थिए। उनी मार्किङमा चुकेपछि नेपालले पहिलो गोल खाएको थियो।

सायद मुख्य प्रशिक्षकले आफ्नो सेट भइसकेको डिफेन्स लाइनलाई नै निरन्तरता दिएको भए १४ मिनेटभित्रै नेपालले दुई गोल बेहोर्नु पर्दैनथ्यो।

त्यसको १५ मिनेटजति नेपालले एनेसको रणनीतिअनुसार केही मुभ पनि बनायो। खेलको ३७औं सनिशले दिएको ‘एअर क्रस’ बललाई विशालले हेडर गरेका थिए। तर, उक्त बल बारमा लागेर फर्कियो। सोही बललाई सञ्जीव विष्टले प्रहार गरे पनि माथिल्लो बारमा लागेर बाहिरियो। योसँगै नेपालले गोलअन्तर घटाउने मौका पाएन।

योबाहेक खेलमा नेपालले कुनै हेर्न लायक अवसर सिर्जना नै गर्न सकेन। तर, युएईले भने लङ बलबाट मुभ बनाउँदै फरवार्डलाई व्यस्त बनायो। यसमा नेपाल चुक्यो।

नेपालले कुनै पनि मुभ लङ बलमा बनाउनै सकेन। नेपाली मिडफिल्डरले बल अगाडि सप्लाइ गर्न त सकेनन् नै अट्याकिङ फुटबल पनि पस्किन सकेनन्। हुन त युएईका खेलाडीहरू नेपालीभन्दा शारीरिक रूपमा फिट छन्।

उनीहरूले खेल अवधिभर नै रनिङमा होस् या अन्य कुरामा नेपाली खेलाडीलाई पछि पारिरहेका देखिन्थे नै। पहिलो हाफमै दुई गोल खाएपछि अझ धेरै गोल नखाइयोस् भनेर नेपालले आफ्नो रणनीतिअनुसार अट्याकिङ फुटबल खेलेन। तर, नेपालले यस खेलमा गुमाउनुपर्ने केही थिएन।

युएईले यो खेल बाँकी रहँदा नै चार खेलबाट १२ अंक जोड्दै विश्वकपको तेस्रो चरण र एसियन कपमा सीधै स्थान बनाइसकेको थियो। बहराइन पनि पाँच खेलबाट १० अंक जोडेर युएईसँगै अघिल्लो चरणमा पुगिसकेको छ।

तेस्रो स्थानमा रहेको यमन नेपालभन्दा अंकतालिकामा एक स्थान अगाडि नै थियो। एसियन कपको प्लेअफ खेल्ने तयारीमा रहेको नेपाललाई यो खेल अनुभव बटुल्ने माध्यम मात्रै थियो। तर, एक वर्ष मुख्य प्रशिक्षकको सम्झौता थप गरेका एनेस सकेसम्म कम गोल खाने योजनामा देखिन्थे। यसले गर्दा नेपालले अघिल्लो चरणमा युएईसँग बेहोरेको ४–० को नतिजा नै दोहोर्‍यायो। मुख्य प्रशिक्षक एनेस टोलीमा अझै सुधारको आवश्यक रहेको महसुस गर्छन्।

उनी भन्छन्, ‘हामीले अझै सुधार गर्न आवश्यक छ। फरवार्ड लाइनलाई राम्रो बनाउन सकेका छैनौं। किनभने हामी धेरै अनुभवी छैनौं।’

अब नेपाललले यही मैदानमा सात जुनमा यमनसँग प्रतिस्पर्धा गर्नेछ। अघिल्लो चरणमा घरेलु मैदानमा २–० को हार बेहोरेको नेपालले अन्तिम खेलमा भने यमनलाई हराउने लक्ष्य लिएको छ। यो खेल जित्न सकेन नेपालले सात खेलको लामो अपराजित यात्रालाई टुंग्याउनेछ।

प्रकाशित: २६ जेष्ठ २०८१ ०८:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App