२ असार २०८१ आइतबार
image/svg+xml
खेल

अन्नपूर्ण आधारशिविरबाट दौडेर घान्द्रुक झर्नेगरि म्याराथन हुँदै

अन्नपूर्ण म्याराथन जेठ २१ मा

अन्नपूर्ण म्याराथनको अघिल्लो संस्करणमा सहभागि धावक। फाइल तस्बिरः नागरिक

अन्नपूर्ण आधारशिविर (एबिसी) बाट दौडेर पर्यटकीय गाउँ घान्द्रुक ओर्लने गरि आयोजना हुने अन्नपूर्ण म्याराथनको चौंथो संस्करण जेठ २१ गते हुने भएको छ। ‘पर्यटनका लागि सबै मौसम’ भन्ने नाराका साथ आयोजना हुने म्याराथनले अन्नपूर्ण क्षेत्रमा साहसिक पर्यटन प्रवर्द्धन हुने आयोजकको भनाई छ। 

२०७५ सालदेखि सुरु भएको अन्नपूर्ण म्याराथनको तयारी तीव्र पारिएको आयोजकले बताएको छ। कास्कीको अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिको व्यवस्थापनमा हुने चौथो संस्करणको अन्नपूर्ण म्याराथन आगामी जेठ २१ गते सोमबार हुने आयोजकले बताएको छ। 

अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवं अन्नपूर्ण म्याराथन मूल आयोजक समितिका संयोजक ललित गुरुङले आन्तरिक र विदेशी धावकले म्याराथनका लागि नाम दर्ता गरिरहेको बताए। उनका अनुसार अन्नपूर्ण क्षेत्रमा साहसिक पर्यटन प्रवर्द्धन गर्नका लागि म्याराथन आयोजना गरिएको हो। ‘नेपाललाई साहसिक पर्यटकीय गन्तव्य बनाउनका लागि यो म्याराथनले सघाउनेछ,’ उनले भने, ‘हिमाली क्षेत्रमा हुने म्याराथन निकै साहसिक पनि छ।’

सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरि ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको सन्दर्भमा उक्त दिनमा म्याराथन आयोजना गरेको उनले बताए। यो दिनलाई ‘अन्नपूर्ण आरोहण दिवस’ का रुपमा पनि मनाउने गरिन्छ । ऐतिहासिक दिनको सम्झनामा अन्नपूर्ण म्याराथन हुने भएकाले यसको छुट्टै गरिमा बोकेको संयोजक गुरुङको भनाई छ।

समितिले अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका दिनको अवसर पारेर प्रत्येक वर्ष अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी)को अन्नपूर्ण म्याराथन गर्दै आइरहेको छ। २०७५ सालदेखि सुरु गरिएको म्याराथन कोरोना भाइरस संक्रमणका कारण बीचमा दुई संस्करण हुन नसकेको थिएन। तर, गत वर्षदेखि यसलाई निरन्तरता दिइएको अध्यक्ष गुरुङले बताए।

अन्नपूर्ण क्षेत्र विशेष गरी पदयात्राको लागि प्रख्यात छ। साहसिक पर्यटक भित्र्याउनका लागि पूर्वमा एभरेष्ट म्याराथनजस्तै गण्डकी क्षेत्रमा अन्नपूर्ण म्याराथन सुरु गरिएको आयोजकको भनाई छ। अन्नपूर्ण हिमालको फेदी आधार शिविरबाट दौड सुरु भई कास्कीको पर्यटकीय गाउँ घान्द्रुक झरेर म्याराथन समापन हुनेछ। झण्डै ४२ सय मिटरको उँचाइबाट धावकहरु ओर्लिँदै घान्द्रुक आइपुगेर दौड टुंग्याउनेछन्।

अन्नपूर्ण आधार शिविरबाट आरम्भ हुने म्याराथन माछापुच्छ्रे आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुक आई समापन हुने गरि म्याराथन रुट कायम गरिएको समितिका महासचिव दिलीप गुरुङले बताए। यही रुटबाट अन्नपूर्ण आधारशिविरसम्मको पदयात्रा पनि हुने गरेको छ।

महिला तथा पुरुष दुवै तर्फका लागि हुने म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँ साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। विदेशीका लागि प्रोत्साहन बापत विशेष पुरस्कारको व्यवस्था गरिएको पनि उनले बताए। पुरुषतर्फ दर्ता शुल्क ७ हजार र महिलातर्फ ५ हजार तोकिएको पनि उनले बताए।

उनका अनुसार अहिले नाम दर्ता चलिरहेको छ। अहिलेसम्म ३० जना नेपालीले नाम दर्ता गरिसकेका  छन्। केही विदेशीले पनि नाम दर्ता गराएका छन्। म्याराथनको अघिल्लो संस्करणमा पोहोर ४ जना विदेशी र ५२ जना नेपाली धावकले अन्नपूर्ण म्याराथनमा सहभागिता जनाएका थिए। ‘पोहोर भन्दा अहिले सहभागी हुने विदेशीको संख्या बढ्ने हाम्रो अपेक्षा हो । केहीले दर्ता गरिसकेका छन्। इच्छुक विदेशी धावक सम्पर्कमा छन्,’ उनले भने।

अन्नपूर्ण म्याराथनमा पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मीका हरिकुमार रिमालले जितेका थिए, दोस्रोमा डोटीका खगेन्द्रबहादुर भाटले र तेस्रो संस्करणको उपाधि जुम्लाका धीरबहादुर बुढा र महिला तर्फ गणना भण्डारीले जितेका थिए।

प्रकाशित: ७ जेष्ठ २०८१ १५:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App