पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा मंगलबार दिउँसो भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बिआर-१०- एबी-७७३९ नम्बरको कार अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दिउँसो १ बजे भएको उक्त दुर्घटनामा पाँच जना सवार थिए। दुर्घटनामा परी घाइते हुनेहरूमा भारतको बिहार मधुबनी निवासी ३७ वर्षीया आशा देवी र सोही स्थानकी ४० वर्षीया मनिका देवी रहेका छन्।
उनीहरू दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। यस्तै, कार चालक भारतको बिहार, भागलपुर बस्ने २८ वर्षीय सोनु सामान्य घाइते भएका छन्।
उनीहरुलाई उपचारका लागि दमौलीस्थित प्रादेशिक अस्पताल पठाइएको छ। प्रहरीका अनुसार कारमा सवार अन्य दुई जना भने सुरक्षित रहेका छन्।
दुर्घटनापछि केही समय अवरुद्ध भएको राजमार्ग अहिले पूर्ण रूपमा सुचारु भइसकेको छ। तीव्र गतिका कारण कार अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रकाशित: २६ जेष्ठ २०८३ १५:२४ मंगलबार





