coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लकडाउनमा निशुल्क पढाउने ‘गुरुआमा’

लकडाउनमा गाउँका बालबालिकाहरुलाई निशुल्क पढाएकी गणेशकुमारी केसी।

लकडाउनका कारण घरमै थन्कीएका दुई सन्तानको शैक्षिक गतिविधि शून्य बन्दै थियो। उनिहरु पठनपाठन भन्दा पनि मोबाईल अनि टिभीमा बढि ब्यस्त थिए। विद्यालय बन्द भएपछि पठनपाठन भन्दा बाहिर ध्यान केन्द्रीत गरेका दुई सन्तानलाई कसरी पठनपाठनमा अभ्यस्त बनाउने भन्ने पिरलो दंगीशरण गाउँपालिका सलौराकी गणेशकुमारी केसीलाई बढ्दै गयो। ‘स्कुल बन्द भएपछि घरमा छोराछोरीले पढ्दै नपढ्ने खाली मोबाईल र टिभीमा मात्रै ब्यस्त हुन थाले,’ उनले भनिन् ‘अनि उनिहरुलाई आँफै घरमा नियमीत पढाउन खोज्दा पनि सम्भवै भएन।’ आफ्ना दुई सन्तान मात्रै हैन, गाउँका सबै बालबालीकाहरु अध्ययनबाट निकै टाढा थिए। गत वैशाखमा विद्यालयले पाठ्य पुस्तक वितरण गर्यो। तर पाठ्य पुस्तक पाएपनि गाउँका बालबालीकाहरुको ध्यान खेल मनोरञ्जनबाट मोडिन सकेन।  

अनि उनले गाउँका सबैलाई पढाउने योजना बुनिन्। उनले घरको आँगनलाई पाठशाला बनाईन्, अनि आँफू गुरुआमा बनिन्। तथापी उनि पेशाले शिक्षक भने हैनन्। आँफ्नो स्नातकसम्मको अध्ययनले उनलाई गाउँकी गुरुआमा बन्न आत्मबल बढायो। ‘म पेशाले शिक्षक त हैन, तैपनि मैले स्नातकसम्म गरेको अध्ययनले गाउँको गुरुआमा बन्ने अवसर प्रदान गर्यो,’ उनले भनिन् ‘मैले गरेको अध्ययनलेनै घरमै बालबालिकालाई पढाउने आत्मबल बढायो।’  

सुरुमा सिमित संख्याबाट सुरु गरेको उनको ‘आँगन पाठशाला’ भरिँदै जान थाल्यो। ‘गाउँमा रहेका सबै बालबालीकाहरु अध्ययनबाट निकै टाढा थिए, उनिहरु सबै अभिभावक सन्ततीको भविष्य प्रति चिन्तीत हुनुहुन्थ्यो,’ उनले भनिन् ‘अनि म आँफैले घरको आँगनमै बोलाएर पढाउने सोँच बनाएँ, र पढाउन सुरु गरेँ।’  

प्रत्यक दिन विहान घरको आँगनमा गाउँघरीका बालबालीकाहरु जम्मा हुन्थे। एक÷एक मिटरको दुरी टाढा उनिहरु बस्थे। अनि केसीले सबै बालबालीकाहरुलाई पालैपालो पढाईमा अभ्यस्त बनाउँथिन्। ‘गाउँका ३५ जना सम्म बालबालीकाहरु मेरो घरमा पढ्नका लागि आउँथे,’ उनले भनिन् ‘साना कक्षाका देखि ७ कक्षा सम्मका बालबालीकाहरुलाई पालैपालो सिकाउँथे।’ उनले प्रत्यक दिन विहान ७ बजे देखि ९ बजे सम्म कक्षा सञ्चालन गर्थिन्। जेठ देखि भदौसम्म चार महिना आफ्नो आँगनमै कक्षा सञ्चालन गरेकी गणेशकुमारीको यो अध्यापन भने निशूल्क थियो। ‘मैले दिनभर खेल्नमै व्यस्त गाउँका बालबालिकाको पढाईमा अभ्यस्त बनाउने सोँच मात्रै बनाएको हुँ,’ उनले भनिन् ‘विद्यालय बन्द भएपनि उनिहरुले पढाई प्रतिको ध्यान शून्य नपारुन् भनेर निशूल्क रुपमै पढाएकी हुँ।’ पेशाले उनि शिक्षक नभएपनि कोरोना कहरका बेला पठनपाठनदेखि टाढा रहेका बालबालिकालाई घरमै बोलाएर पठनपाठन गरेकी उनि गाउँकी ठूलो शिक्षकका रुपमा चिनिईन्। ‘दिनमा दुई घण्टा मात्रै पढाउँदा पनि बालबालीकाहरुमा धेरै प्रभाव पर्दो रहेछ, बालबालीकाका अभिभावकहरुले पनि घरमा आफ्ना सन्ततीले पढ्न थाले भनेर सुनाउनु हुन्थ्यो,’ उनले भनिन् ‘अभिभावकहरुबाट यस्तो प्रतिकृया पाउँदा केहि राम्रो काम गरेछु भन्ने लाग्यो।’ कहिलेकाँही कामको व्यवस्तताले कक्षा सञ्चालन हुन सक्दैनथ्यो। अभिभावकहरुको फोन बजिहाल्थ्यो। ‘कामको शिलशिलामा कतै बाहिर जानु पर्दा कुनै दिन कक्षा चल्दैनथ्यो, अनि कक्षा किन भएन ? भनेर अभिभावकहरुले फोन गरिहाल्नु हुन्थ्यो,’ उनले भनिन् ‘कुनै दिन पनि कक्षा बन्द नगरिदिनुस् भनेर अभिभावकहरुले अनुरोध गर्नुहुन्थ्यो।’

कोरोनको उच्च जोखिम। गाउँभरीका वालवालीकाहरुलाई घरको आँगनमा जम्मा पारेर पढाउँदा उनको परिवारका अन्य सदस्यलाई संक्रमणको जोखिम अँझ बढि थियो। तर आवश्यक स्वास्थ्य सुरक्षा सावधानी अपनाईन्, तर त्रासदीले उनको यो सामाजिक सेवा भावलाई रोक्न भने सकेन। ‘सबैलाई मास्क अनिवार्य गरेको थिएँ, अनि स्यानिटाईजरको व्यवस्थापन गरिएको थियो,’ उनले भनिन् ‘घर परिवारका कसैले पनि मेरो कामलाई नगर् भन्नु भएन, परिवारबाट पनि राम्रो काम भनेर हौसला पाएँ।’ चार महिना सम्म गाउँकी शिक्षिका बनेकी गणेशकुमारीको आँगन विद्यालय अहिले बन्द भैसकेको छ। कारण अहिले गाउँमा रहेको लक्ष्मी नारायण आधारभुत विद्यालयमा पठनपाठन सुरु भैसकेको छ। अहिले सबै बालबालीकाहरु नियमीत रुपमै बिद्यालय जान थालिसकेका छन्। ‘जेठदेखि भदौसम्म घरमै पढाएँ, असोजदेखि विद्यालय खुलेपछि मैले घरमा पढाउन छोडिदिएँ,’ उनले भनिन् ‘अहिले त गाउँका सबै बालबालीकाहरु नियमीत विद्यालय जान थालिसकेका छन्।’

 

 

 

प्रकाशित: १२ आश्विन २०७७ १२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App