३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

लामो रस्साकस्सीपछि नेकपा उदयपुरको उम्मेदवार सिफारिस टुंगियो

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) उदयपुरले लामो आन्तरिक रस्साकस्सीपछि प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ। तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपासहित १७ दल मिलेर बनेको नेकपाले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनका लागि उम्मेदवार छनोट गर्न व्यापक कसरत गर्नुपरेको जनाएको छ।

साविक माओवादी केन्द्रमै उम्मेदवारका आकांक्षी धेरै रहेकामा एकीकरणपछि आकांक्षीको संख्या थप बढ्दा उम्मेदवार टुंगो लगाउन ढिलाइ भएको नेताहरूको भनाइ छ। अन्य जिल्लामा सिफारिस प्रक्रिया सकिए पनि आकांक्षी बढी भएकै कारण उदयपुरमा भने शनिबार मात्र अन्तिम नाम टुंगिएको हो।

एक नेताका अनुसार सुरुमा माओवादी केन्द्रभित्रै दर्जनभन्दा बढी आकांक्षी थिए। “एकीकरणपछि एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाबाट पनि आकांक्षी थपिँदा स्वाभाविक रूपमा समय लागेको हो,” उनले भने, “तर व्यापक र खुला छलफलपछि सौहार्दपूर्ण रूपमा नाम टुंग्याइएको छ।”

पार्टीले उम्मेदवार सिफारिसका लागि पटक–पटक कार्यदल बैठक गरेको जनाएको छ। सुरुमा स्थानीय तहबाट आएका सिफारिसका आधारमा जिल्ला बैठकले नाम टुंग्याउने प्रयास गरिए पनि सम्भव नभएपछि जिल्ला कमिटीले कार्यदललाई निष्कर्ष निकाल्ने अधिकार दिएको थियो।

जिल्ला बैठकले एकीकरणमा सहभागी दलका जिल्ला इन्चार्ज, संयोजक र केन्द्रीय सदस्यहरू सम्मिलित कार्यदल गठन गरेको थियो। कार्यदलमा माओवादी केन्द्रबाट इन्चार्ज मणि खम्बु (रिवासी) र संयोजक द्रोण पौडेल (निरज), एकीकृत समाजवादीबाट इन्चार्ज राममणि पोखरेल र अध्यक्ष विनोद खड्का तथा विप्लव नेतृत्वको नेकपाबाट लक्ष्मण पौड्याल र दीपक बस्नेत सदस्य थिए।

कार्यदलले आकांक्षीहरूमाथि व्यापक छलफल र बहस गरी सर्वसम्मत रूपमा नाम सिफारिस गरेको पार्टीले जनाएको छ। सिफारिसमा साविक माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव समूहका साथै जेन–जी आन्दोलनको भावना अनुसार युवाहरूको नाम पनि समेटिएको जनाइएको छ।

उदयपुरमा दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्। पार्टीले क्षेत्र नम्बर १ बाट १० जना र क्षेत्र नम्बर २ बाट ८ जनाको नाम सिफारिस गरेको आइतबार सार्वजनिक प्रेस नोटमा उल्लेख छ।

निर्वाचन क्षेत्र नम्बर १ बाट अर्जुन तिम्सिना, किरण राई, जगन्नाथ खतिवडा, प्रवेश खड्का, बलदेव चौधरी, विशाल राई, मणि खम्बु (रिवासी), मनकुमार राई, रमण भट्टराई र सुरेशकुमार राई (हिमाल) सिफारिस भएका छन्। वर्णानुक्रमअनुसार सिफारिस गरिएका नाममध्ये तिम्सिना, खतिवडा, चौधरी र मनकुमार साविक एकीकृत समाजवादीका हुन् भने बाँकी माओवादी केन्द्रका हुन्।

त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ बाट अबिराज राई, जगन्नाथ खतिवडा, बलदेव चौधरी, भेषकुमारी राउत (कोपिला), मेजरकुमार राई, लक्ष्मण पौड्याल, सुरेशकुमार राई (हिमाल) र हेमराज दाहाल सिफारिस भएका छन्। यसमध्ये खतिवडा र चौधरीबाहेक पौड्याल साविक विप्लव नेतृत्वको नेकपाका हुन् भने अन्य माओवादी केन्द्रबाट आएका हुन्।

कार्यदलले खतिवडा, चौधरी र हिमालको नाम दुवै निर्वाचन क्षेत्रबाट सिफारिस गरेको छ। खतिवडा र राई निर्वाचन क्षेत्र नम्बर २ का पूर्व सांसद हुन् भने चौधरी क्षेत्र नम्बर १ अन्तर्गत त्रियुगा नगरपालिकाका पूर्व मेयर हुन्। खतिवडा २०५६ र राई २०७४ मा निर्वाचित सांसद हुन्।

क्षेत्र नम्बर १ बाट सिफारिस भएकी मणि खम्बु (रिवासी) २०६४ सालमा तत्कालीन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य निर्वाचित भएकी थिइन्। यस्तै क्षेत्र नम्बर २ बाट सिफारिस भएकी भेषकुमारी राउत (कोपिला) २०६४ कै समानुपातिकतर्फ संविधानसभा सदस्य हुन्।

प्रकाशित: २७ पुस २०८२ २१:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App