१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस ब्युँझाउने गगन–विश्व सहयात्रा

नेपाली कांग्रेस विशेष महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार साँझपख सम्बोधन गर्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी र देश बदल्ने सङ्कल्प गरे।

रूपान्तरित कांग्रेसको सङ्कल्प गरिरहँदा संस्थापन पक्षबाट विद्रोह गरी ३० जना केन्द्रीय सदस्य पनि सहभागी भए। पूर्व महामन्त्री तथा पूर्व सभामुख रहेका तारानाथ रानाभाटदेखि लामो समय शेरबहादुर देउवा क्याम्प रहेका गोपालमान श्रेष्ठ पनि सहभागी भएर विशेष महाधिवेशनलाई अनुमोदन गरिदिए।

देश बदल्न आफू बद्लिन र कांग्रेस बदल्न सक्ने गगन थापा र विश्व प्रकाश शर्माको सङ्कल्प थियो।

गगन–विश्व, नेपाली कांग्रेस पार्टीका महामन्त्री हुन्। उनीहरुले महामन्त्रीमा चुनाव जित्दै गर्दा कांग्रेसका नवजवानमा एक प्रकारको आशा र भरोसा पैदा भएको थियो। २०७८ मंसिरको अन्तिम साता भएको कांग्रेसको १४ औं महाधिवेशनको मत परिणाम भने पुस १ गते सार्वजनिक हुँदा त्यतिबेला थापाले मतपरिणामअनुसार अत्यधिक मत ल्याएका थिए।

खसेको कुल ४६८२ मतमध्ये थापाले ३०२३ मत पाए भने विश्व प्रकाश शर्माले १९८४ मत प्राप्त गरेका थिए। यसरी हेर्दा कांग्रेसलाई परिवर्तन गर्ने र नयाँ पुस्तामा नेतृत्व ल्याउने अभिभार उनीहरूको काँधमा चार वर्ष आइसकेको थियो।

उनीहरु विद्यार्थी कालबाटै नेताका रुपमा उदाएका थिए। विद्यार्थी राजनीतिबाट उदाएका उनीहरुले पार्टी राजनीतिक यात्रा मार्फत् नेपाली समाज रूपान्तरण महत्त्वपूर्ण अभिभारा यो विशेष महाधिवेशनपछि आएको छ।

उनीहरूको नेतृत्वमा कांग्रेसले युवा पुस्तासँगको सम्बन्धलाई बलियो बनाउन र सामाजिक-आर्थिक परिवर्तनका लागि ठोस कदम चाल्न खोजेको छ। साथै, शेरबहादुर देउवालाई सम्मानजनक बर्हिगमनको बाटो खोलेर त्यहाँ रहेका नेताहरुलाई पनि सहभागी गराई पार्टीलाई बलियो बनाउने जिम्मेवारी उनीहरूको काँधमा आएको छ।

गगन–विश्वको सहयात्राले कांग्रेस बलियो बनाउने मात्र होइन, समाजमा समानता, न्याय र समृद्धि ल्याउने भूमिकामा उनीहरु अघि बढ्नुपर्नेछ।

उनीहरुले कांग्रेसलाई एक सशक्त र समृद्ध पार्टीको रूपमा बनाउने योजना मात्र होइन देशको विकासमा कांग्रेसको अग्रसरता रहनेछ भन्ने विश्वास कार्यकर्ता र जनतालाई दिलाउने जिम्मेवारी पनि उनीहरूको काँधमा आइलागेको छ।

विशेष महाधिवेशनमा सम्बोधन गर्नेक्रममा संथापन पक्षबाट आएकी पुष्पा भुसालले भनेझैँ विशेष महाधिवेशनले नयाँ नीतिसँग अगाडि बढाउनु पर्ने र कांग्रेस गुटबाट मुक्त हुनुपर्ने तथा राजनीतिक हिंसाबाट मुक्त र कृपाबाट अलग हुन्छ भन्ने सन्देश पनि दिन जरुरी देखिन्छ।

गगन विश्वको सहयात्राले जेन-जी आन्दोलनले उठाएको नैतिक प्रश्न, नेतृत्वको उत्तरदायित्व र संस्थागत सुधारको मागलाई पनि सम्बोधन गर्नुपर्नेछ।

लोकतन्त्रको नाममा पार्टी कब्जा गर्ने, पार्टीलाई प्राधिकार जस्तो बनाउने, मुलुक नै तीन वटा नेताको वरीपरी घुमाउने जस्ता गतिविधिहरू लोकतन्त्रकै उपहास हुन् भन्ने पक्षलाई आगामी दिनमा सुधार गर्नुपर्ने जिम्मेवारी उनीहरुले यही महाधिवेशनबाट सङ्कल्प गर्नुपर्नेछ।

यो सङ्कल्पपछि कांग्रेस व्यूझिने मात्र होइन अन्य प्रतिस्पर्धी दलमा पार्टी कब्जाको नीति रणनीति बनाउनेहरुले पनि सोच्नुपर्ने दिन नजिक आउनेछ।

को हुन गगन ?

कक्षा ९ मा पढ्दा नै २०४६ सालको जनआन्दोलनमा सक्रिय गगनको राजनीतिक यात्रा भने क्याम्पस पढ्न थालेपछि सुरु भएको थियो।

त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि उनी कांग्रेस निकट नेपाली विद्यार्थी सङ्गठनमा लागेका थिए। नेविसंघको सदस्य भएसँगै २०५१ सालमा उनी त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए भने त्रिचन्द्र स्ववियुमा सदस्यसचिव हुँदै उनी सभापति बनेका थिए।

२०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा आए। उनी नेविसंघको महामन्त्री बने। थापाले २०५९ सालदेखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरेका थिए।

उनी महामन्त्री हुँदा गुरुराज घिमिरे नेवि संघको अध्यक्ष थिए। तत्कालीन कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँग विचारमा असहमत हुँदा पनि ०६४ को चुनावपछि समानुपातिक सभासद् बनेका थापा दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौं–४ बाट निर्वाचित भएका थिए।

दोस्रो संविधानसभामा कृषि तथा जलस्रोत समितिको सभापति बनेका थापा तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री बनेका थिए।

०७४ को चुनावमा देशभर बाम गठबन्धन (एमाले– माओवादी) को लहर चले पनि काठमाडौं–४ बाट निर्वाचित भए। २०७९ सालमा उनी काठमाडौं क्षेत्र-४ बाटै विजयी भएका थिए।

उनी कांग्रेसको १२ औं महाधिवेशनमा सबैभन्दा बढी भोट प्राप्त गरी केन्द्रीय सदस्य बन्न सफल भएका थिए। गगन १३ औं महाधिवेशनमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उठेका थिए। त्यतिबेला उनी पराजित भएका थिए।

को हुन् विश्व ?

विश्वप्रकाश शर्मा २०७८ सालमा प्रकाशमान सिंहको टिमबाट महामन्त्रीमा विजयी हासिल गरेका थिए। ६ पुस ०२७ मा झापाको शान्तिनगरमा जन्मिएका उनी झापामा विद्यालय तहमा पढ्दादेखि नै राजनीतिमा लागेका थिए।

२०४० सालमा धुलाबारी मावि झापाको नेविसंघ इकाई सभापतिको रुपमा राजनीतिमा प्रवेश गरेका शर्मा २०४१ सालमा ९ कक्षामा पढ्दा प्रथम पटक प्रहरी गिरफ्तारीमा परेका थिए।

२०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति भएका उनी २०४८ सालमा नेवि संघ केन्द्रीय सदस्य बने। २०५३ सालमा नेविसंघ महामन्त्री बनेका शर्मा २०५३ नेवि संघ केन्द्रीय उपसभापति भएका थिए।

२०५७ सालमा उनी नेविसंघको केन्द्रीय सभापति बने भने २०५७ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए। नेविसंघको राजनीतिपछि शर्मा पार्टीको जिल्ला राजनीतिमा जाने प्रयास गरेका थिए।

तर १२ औं महाधिवेशनमा उनी झापा जिल्ला सभापतिमा पराजित भएका थिए। २०७२ सालमा भएको १३ औं महाधिवेशनबाट उनी कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए।

शर्मा २०७४ सालमा नेपाली कांग्रेस पार्टी प्रवक्ताको जिम्मेवारी पाएका थिए। उनी ०७० र ७४ माम भएको आम चुनावमा झापामा पराजित भएका थिए भने २०७९ को निर्वाचनमा विजयी भएका थिए।

प्रकाशित: २७ पुस २०८२ २१:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App