इजरायलले शनिबार इरानको राजधानी तेहरानमा दिउँसो आक्रमण गरेको छ। पहिलो आक्रमण इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको कार्यालय नजिकै भएको थियो।
अमेरिकी अधिकारी र सैन्य अपरेशनसँग परिचित एक व्यक्तिका अनुसार यस आक्रमणमा अमेरिका पनि सहभागी छ। यद्यपि, संवेदनशील सैन्य अभियान भएकाले यसमा अमेरिकाको संलग्नताको पूर्ण सीमा स्पष्ट पारिएको छैन। ८६ वर्षीय खामेनी आक्रमणको समयमा कार्यालयमा थिए वा थिएनन् भन्ने खुल्न सकेको छैन। अमेरिकासँगको तनाव बढेपछि उनी केही दिनयता सार्वजनिक रूपमा देखिएका छैनन्।
यो आक्रमण यस्तो समयमा भएको हो, जब अमेरिकाले इरानलाई परमाणु कार्यक्रमको सम्झौतामा दबाब दिन यस क्षेत्रमा लडाकु जेट र युद्धपोत तैनाथ गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानको आणविक कार्यक्रमलाई नियन्त्रण गर्न सम्झौता गर्न चाहन्छन्। इरानले युद्ध रोक्ने आशा राखे पनि युरेनियम संवर्धन गर्ने आफ्नो अधिकार रहने अडान लिँदै आएको छ। उसले लामो दूरीको मिसाइल कार्यक्रम वा हमास र हेजबुल्लाहजस्ता समूहलाई दिइरहेको समर्थनका विषयमा छलफल गर्न चाहेको छैन।
इजरायली रक्षामन्त्री इजरायली काट्जले यो आक्रमण ‘खतरा हटाउनका लागि’ गरिएको बताएका छन्। तेहरानमा प्रत्यक्षदर्शीहरूले खामेनीको कार्यालयबाट पहिलो विस्फोटको आवाज सुनेका थिए। इरानको सरकारी टेलिभिजनले विस्फोटको बारेमा समाचार प्रकाशित गरे पनि विस्तृत कारण खुलाएको छैन।
आक्रमण लगत्तै इजरायलभर साइरन बजेको छ। इजरायली सेनाले भनेको छ, ‘इजरायल राज्यतर्फ क्षेप्यास्त्र प्रहार हुन सक्ने सम्भावनाका लागि सर्वसाधारणलाई तयार पार्न सक्रिय चेतावनी जारी गरिएको छ।’ इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि राजधानी तेहरानमा थप विस्फोटहरू भएका छन्। अधिकारीहरूले हालसम्म कुनै हताहतीको जानकारी दिएका छैनन्। आक्रमणपछि इरानले आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेको छ। अमेरिकी सेनाले भने यस आक्रमणबारे कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ।
इरानले तत्काल जवाफी आक्रमण गर्छ वा गर्दैन भन्ने प्रस्ट छैन, तर उसले क्षेत्रमा रहेका अमेरिकी सैनिक र आधार शिविरलाई प्रतिशोधको निशाना बनाइने चेतावनी दिएको छ। एपी
प्रकाशित: १६ फाल्गुन २०८२ १२:५७ शनिबार





