१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अर्थ

उपत्यकाका होटलमा चहलपहल बढ्यो

जेनजी आन्दोलनमा थला परेका काठमाडौं उपत्यकाका होटलहरूमा चहलपहल बढेको छ । मंसिर र पुस महिनामा उपत्यका केन्द्रित खेलकुदलगायत विभिन्न राजनीतिक दलका कार्यक्रमले गर्दा होटलहरूमा चहलपहल बढेको हो ।  

मंसिर महिनाभरि नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण सञ्चालन गरियो । त्यो संस्करण नसकिँदै नेकपा एमालेको ११ औं महाधिवेशन (करिब एक हप्ता) गरियो । एमालेको महाविधेशन सकिएको केही दिनपछि आइतबार (पुस २७) देखि नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन सुरु भएको छ ।  

उपत्यका केन्द्रित यी विभिन्न कार्यक्रम सञ्चालन भएसँग उपत्यका बाहिरबाट आएका प्रतिनिधिको आगमनले गर्दा एक महिनादेखि उपत्यकाका होटलहरूमा चहलपहल बढेको होटल व्यवसायी बताउँछन् ।  

उपत्यकाका सुन्धारा र त्रिभुवन विमानस्थल नजिकका होटलहरूमा प्रतिनिधिहरूको चहलपहल बढेको व्यवसायीहरूले बताएका छन् ।  

सुन्धारामा रहेको होटल हङकङका सञ्चालक विष्णुप्रसाद घिमिरेका अनुसार जेनजी आन्दोलपछि होटल व्यवसायमा मात्रै नभई सम्रग देशको अर्थतन्त्र चलायमान हुन नसकिरहेका बेला उपत्यका केन्द्रित विभिन्न कार्यक्रमले बढेको चहलपहलले होटललगायत सम्रग क्षेत्रमा अर्थतन्त्र चलायमान भएको छ ।

अन्दोलनअघि सुन्धारामा विभिन्न पार्टीका नेतालगायत कार्यकर्तासँगै उपत्यकामा काम विशेषले आएका नागरिकको आगमनले अन्दोलनपछि सुनसान रहेका होटलहरूमा अहिले चहल बढेको उनको भनाइ छ ।  

‘मेरो होटलमा २० वटा रुम छ । अहिले २० वटै रुम प्याक छन् । अहिले कोठा खोज्न आउनेलाई समेत कोठा छैन भनेर फर्काउनु परेको छ’, उनले भने । अहिले व्यापार व्यवसायबाट सन्तुष्टि नै रहेको उनले बताए ।  

होटल युनिक एयरपोर्टका सञ्चालक झलककुमार श्रेष्ठले जेनजी आन्दोलनपछि होटलहरूमा निराशा छाएको भए पनि अहिले उपत्यका केन्द्रित विभिन्न कार्यक्रमले गर्दा होटलहरूमा चहलपहल बढेको बताए ।  

यो महिना सुरु भएदेखि नै आफ्नो होटलमा चहलपहल बढ्नुका साथै कोठाहरू भरिभराउ भएको उनी बताउँछन् । अहिले व्यापार व्यवसाय सन्तोषकजनक नै रहेको उनको भनाइ छ ।  

एयरपोर्टका ९० प्रतिशत होटल राजनीतिक कार्यकर्ताले भरिएका छन् ।  

श्रेष्ठले भने, ‘एयरपोर्ट नजिक मेरा दुई वटा होटल छन् । अहिले दुवै होटलमा पाहुना भरिभराउ छन् । हिजो÷आज कोठा खोज्न आउनेहरूलाई कोठा छैन भनेर फिर्ता पठाउनु परेको छ ।’

पछिल्लो समय पशुपतिनाथ दर्शनका लागि आएका भारतीय पर्यटकका कारणले पनि होटलहरूमा चहलपहल बढेको छ । होटलका कोठा भरिनुको अर्को कारण भारतीय पर्यटक पनि हुन् ।  

साना तथा मझौला होटलहरूमा समेत अहिले चहलपहल बढेको जिल्ला होटल व्यवासय संघ काठमाडौंका अध्यक्ष सुरेश बराल बताउँछन् ।  

जेनजी आन्दोलनका बेला भारतीय पर्यटकको आगमनमा कमी आएको भए पनि अहिले विस्तारै भारतीय पर्यटको आगमन बढ्दै जान थालेकाले गर्दा उपत्यका अधिकांश होटल भरिएको अध्यक्ष बरालले बताए ।  

अहिले स्टार होटलमा आउने विदेशी पर्यटकको आगमनमा कमी भए पनि भारतीयसँगै आन्तरिक पर्यटकले होटलमा चहलपहल बढेको अध्यक्ष बरालको भनाइ छ ।  

होटल संघ नेपाल (हान) का अध्यक्ष विनायका शाहले उपत्यकाका १५ सय होटल बुक भएको बताएका छन् । पछिल्ला दुई महिना उपत्यका केन्द्रित खेलकुद लगायत विभिन्न कार्यक्रमले गर्दा अधिकांश होटलहरूमा चहलपहल बढेको अध्यक्ष शाह बताउँछन् । 

प्रकाशित: २७ पुस २०८२ २१:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App