२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

जुम्लामा निर्वाचन लक्षित तयारी तीव्रः मतपेटिकासहित ५१ प्रकारका सामग्री वितरण सुरु

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा तयारी तीव्र पारिएको छ।

मतदान सञ्चालनका लागि आवश्यक पर्ने मतपेटिकासहित ५१ प्रकारका निर्वाचन सामग्री मतदान केन्द्रहरूतर्फ पठाउन सुरु गरिएको हो।

जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा निर्वाचनमा खटिने अन्य कर्मचारीलाई सम्बन्धित सामग्री बुझाएर कार्यक्षेत्रमा पठाउने क्रम जारी छ।

जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र कंडेलका अनुसार शनिबारदेखि सिँजा क्षेत्रका चारवटा गाउँपालिकाबाट मतपेटिका वितरण कार्य सुरु गरिएको हो।

कनकासुन्दरी, सिँजा, हिमा र तिला गाउँपालिकाअन्तर्गतका ५५ मध्ये ४८ वटा मतदान केन्द्रमा सामग्री वितरण भइसकेको छ। ती क्षेत्रका बाँकी ७ मतदान केन्द्रका साथै चन्दननाथ नगरपालिका, तातोपानी, गुठिचौर र पातारासी गाउँपालिकाअन्तर्गतका ५५ वटा मतदान केन्द्रका लागि आइतबार सामग्री उपलब्ध गराइनेछ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आइतबार नै जिल्लाका ८ वटै स्थानीय तहमा मतपत्रसमेत वितरण गर्ने तयारी छ।

आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदातालाई समेट्दा जुम्लाको कुल मतदाता संख्या ७१ हजार ७ सय ३९ पुगेको छ। जसमा ३७ हजार ४ सय ५९ जना पुरुष र ३४ हजार २ सय ८० जना महिला रहेका छन्।

यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका बेला जिल्लामा ६८ हजार ६ सय ३८ मतदाता थिए। अघिल्लो निर्वाचनको तुलनामा यसपटक जिल्लामा ३ हजार १ सय १ जना नयाँ मतदाता थपिएका हुन्। जसमा १ हजार ७ सय ५९ पुरुष र १ हजार ३ सय ४२ महिला हुन्।

निर्वाचन व्यवस्थापनका लागि जिल्लाभर ८५ वटा मतदान स्थल तथा २ वटा अस्थायीसहित कुल १ सय १० वटा मतदान केन्द्र तोकिएका छन्।

मतदान प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन ६ सय ४८ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ। प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक कार्यालय सहयोगी रहने व्यवस्था गरिएको छ।

जिल्लामा निर्वाचनका लागि प्रत्यक्षतर्फ ७७ हजार र समानुपातिकतर्फ ८० हजार मतपत्र ल्याइएको छ। निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृत गरी २ सय २० जनालाई लक्षित गरेर शुक्रबार एकदिने प्रशिक्षणसमेत दिइएको थियो।

तालिममा उनीहरूको काम, कर्तव्य र अधिकारका साथै शान्ति सुरक्षा, मतपत्र तथा मतपेटिकाको सुरक्षासहित निर्वाचन प्रक्रियाका संवेदनशील पक्षबारे विस्तृत जानकारी गराइएको निर्वाचन अधिकारी कंडेलले बताए।

निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ। शान्ति सुरक्षा कायम गर्न १ हजार ३ सयभन्दा बढी नेपाल प्रहरी, ८ सय ७४ निर्वाचन प्रहरी, ४ सय सशस्त्र प्रहरी बल र आवश्यकता अनुसार नेपाली सेनासमेत परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ।

प्रकाशित: १६ फाल्गुन २०८२ २२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App