मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रम र बढ्दो तनावलाई लिएर गैरआवासीय नेपाली संघ (एनआरएनए) ले चासो व्यक्त गरेको छ।
संघले इजरायल, इरान, कतार, कुवेत, युएई, बहराइनलगायतका देशमा रहेका करिब १९ लाखभन्दा बढी नेपालीको सुरक्षालाई मुख्य प्राथमिकतामा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
शनिबार एक विज्ञप्ति जारी गर्दै एनआरएनएले विषम परिस्थितिमा आफ्नो सुरक्षाको विशेष ख्याल गर्न सम्बन्धित देशमा रहेका सम्पूर्ण नेपालीहरूमा अपिल गरेको हो।
संघले सम्बन्धित देशका सरकारी निकाय तथा नेपाली राजदूतावासले जारी गरेका सुरक्षा निर्देशनहरूको कडाइका साथ पालना गर्न आग्रह गरेको छ।
‘अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनुहोस् र सुरक्षित स्थानमै बस्नुहोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘अनावश्यक यात्रा नगर्नुहोस् तथा स्थानीय अवस्थाबारे निरन्तर अद्यावधिक रहनुहोस्।’
साथै, हालको अवस्था सामान्य नभएसम्मका लागि मध्यपूर्वका देशहरूमा यात्रा गर्ने योजना स्थगित गर्नसमेत संघले सुझाएको छ।
कुनै पनि आपत्कालीन अवस्थाका लागि राष्ट्रिय समन्वय परिषद् (एनसीसी), एनआरएनए सचिवालय, स्थानीय नेपाली समुदाय र नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहन पनि संघले आग्रह गरेको छ।
यसैबीच, एनआरएनएले नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीको अवस्थाबारे निरन्तर जानकारी लिन आग्रह गरेको छ।
नेपालीहरूको तत्काल सहायता र सुरक्षित व्यवस्थापन (उद्धार) का लागि अविलम्ब प्रभावकारी कदम चाल्न संघले सरकारको ध्यानाकर्षण गराएको छ।
प्रकाशित: १६ फाल्गुन २०८२ २२:२९ शनिबार





