२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

तीन दिनदेखि चुलो बलेको छैन मृतकको घरमा

प्रहरी हिरासतमा रही उपचारको क्रममा मृत्यु भएका रौतहटको गरुडा ८ जिंगडियाका विजय रामको घरमा तीन दिनदेखि चुलो बलेको छैन । मृतक रामका दुई श्रीमतीका साथै बुबा र आमा भोकभोकै छन् । हिन्दु परम्पराअनुसार कसैको मृत्यु भएपछि लासको सदगति नगरेसम्म कसैले केही खानु हुँदैन भन्ने चलन रहेकोले घरका सबै सदस्य भोकभोकै रहेका छन् ।

मृतकका पिता पनिलाल महरा भन्छन्, ‘घरको एउटै दियो थियो निभ्यो । अब चुलो कसरी बलोस् कसका लागि बलोस् ?’ छोराको अन्तिम संस्कार नगरी घरमा चुलो बल्ने चलन नभएकोले बालबच्चा सबै भोकै छन् । आँखाभरि आँशु पार्दै महरा भन्छन्, ‘छोरालाई पुलिसले मारिसक्यो भन्छन्, लास देखेको छैन । मुखमा अन्न पस्छ ?’ छोराको मृत्यु भएको खबर सुनेर मुखमा अन्न जान सक्दैन ।

मृतक रामकी आमा किशुनवती देवी अब आफ्नो छोरालाई कहिल्यै भेट गर्न नपाउने थाहा भएदेखि नै आँखाको आँसु सुक्न सकेको छैन । एक वर्षभित्रमै दुई वटा छोराको मृत्युले आमाको मुटु नै भक्कानिएको छ । उनी भन्छिन्, ‘अब बाँच्ने पनि कसका लागि ? भएको दुइटै छोरा मरिहाले, नातिनातिना सानै छन् । अब हामीलाई कसले कमाएर खुवाउने होला ?’

पनिलाल महराको जेठो छोरा विश्वजीत रामको गत वर्ष माघ महिनामा किडनीमा समस्या भएर मृत्यु भएको थियो । जेठो छोराकी श्रीमती निर्मलादेवीसित घरका सबैले विजयसित विवाह गराइदिएका थिए । यसअघि विजयको विवाह सुनिता पासवानसित भएको थियो । भाउजू बेहोर्दा निर्मलाका तीन छोरा थिए र आफ्नी श्रीमती सुनिता गर्भवती थिइन् । दुवै श्रीमतीको तर्फबाट मृतक १९ वर्षीय विजय रामका तीन छोरा र एक छोरी छन् । अब घरमा कमाइ गर्ने कोही छैन ।

चार साना सन्तान, दुई श्रीमती र आमा बुबाका एक मात्र आधार नै गुमेपछि पनिलालको परिवारको विचल्ली हुने भएको छिमेकीहरू पनि बताउँछन् । अबको हरेक दिन यस परिवारका लागि कटाउनु ठूलो पहाड छिचोल्नु जस्तै हुने एक छिमेकीले बताए ।

गत साउन ३१ गते घाँटी रेटेर निरन्जन रामको हत्या भएको थियो । हत्या भएको दिन साँझ करिब आठ बजेदेखि राति एक बजेसम्म मृतक विजय रामको दुई श्रीमतीसित विवाद र झगडा चलेको थियो । ३१ गते राति हत्या गरिएका निरन्जन रामका पिता नन्दलाल महराले नै तिनीहरूको झगडामा मध्यस्थता गरेका थिए । मृतक विजय रामकी आमा किशुनवती देवी प्रश्न गर्छन्, ‘निरन्जन रामको हत्यामा मेरो छोराको संलग्नता भएको भए राति एक बजेसम्म कसरी झगडा गरे बस्थे ? जबकि निरन्जन रामको हत्या राति दश बजेतिर नै भएको बताइएको छ ।’

भदौ १ गते राति प्रहरी जबरजस्ती घरमा पसेर छोरालाई कुटपिट गर्दै लगेको बताउँदै किशुनवतीले जिउँदै लगेको छोरालाई प्रहरीले जिउँदै पुर्याइदिन माग गरेकी छन् ।

सहिद घोषणाको लागि सिफारिस गर्ने निर्णय

जिंगडियामा एकपछि अर्को गरी दुई जना नवयुवकको आकस्मिक मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले दुबै मृतकलाई सहिद घोषणा गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ । 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको संयोजकत्वमा भएको सर्वपक्षीय बैठकले आठ बुँदे निर्णय गर्दै विजय रामको पोस्टमार्टम रिपोर्ट आएपछि र गृह मन्त्रालयको छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि दुवैको आधारमा सम्बन्धित सरोकारबालासित छलफल गर्ने, दुबै परिवारलाई आर्थिक सहयोग गर्न गरुडा नगरपालिकालाई आग्रह गर्ने, थप आर्थिक सहयोगको लागि केन्द्र तथा प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय भएको छ ।  

प्रहरी हिरासतमा रही उपचारको क्रममा मृत्यु भएको घटनाको छानबिनको लागि राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोग समेतको सहभागिता रहने गरी उच्चस्तरीय छानबिन आयोग गठनका लागि गृह मन्त्रालयमा अनुरोध गर्ने निर्णय भएको छ ।  

सर्वपक्षीय बैठकमा सुरक्षा समितिका सम्पूर्ण सदस्य, केही नगरपालिकाका प्रतिनिधि, मानव अधिकार आयोगको प्रदेश कार्यालयका प्रतिनिधि तथा दलित प्रतिनिधि र मृतकको परिवारका तर्फबाट पनि प्रतिनिधिको सहभागिता रहेको थियो । छानबिन प्रतिवेदन र मृतकको पोस्टमार्टम रिपोर्ट नआएसम्म निषेधाज्ञालाई विचार गर्दै संघर्षका कार्यक्रम रोक्ने निर्णय पनि गरिएको छ ।

प्रकाशित: १२ भाद्र २०७७ १४:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App