८ वैशाख २०८१ शनिबार
समाज

संकटमा राउटे

नगेन्द्र उपाध्याय/नागरिक

साढे तीन महिनादेखिको बन्दाबन्दी (लकडाउन)का कारण नेपालको एक मात्रै फिरन्ते समुदाय राउटे संकटमा परेको छ। काठका सामाग्री र दाताको सहयोगमा दैनिकी चलाउँदै आएको यो समुदाय कोरोना संक्रमणका कारण भइरहेको बन्दाबन्दीको मारमा परेको हो। ‘अरु बेला जंगलमा गएर काठ काट्थ्यौं, गाउँ–शहरमा गएर विक्री गथ्यौं,’ मुखिया सुर्यनारायण शाहीले भने, ‘कोरानाले काठ काट्न नपाउँदा ठूलो संकट आइलागेको छ।’ कोरोना संक्रमणका कारण दाताहरु पनि राउटे बस्तीसम्म पुग्न पाएका छैनन्। यसले राउटे समुदायलाई झन ठूलो संकट निम्त्याएको छ।

राउटेका स्पष्ट तीन मान्यता छन्, खेतीपाती नगर्ने, लेखपढमा नलाग्ने र एउटै ठाउँमा नबस्ने। समुदायको कुनै व्यक्तिको मृत्यु भएमा लगत्तै बस्ती सर्ने यो समुदाय दुई दिनअघि मात्रै सुर्खेतबाट दैलेखको गुराँस गाउँपालिका–९ बुबैराखेमा सरेको छ। कोरोना संक्रमणका कारण राउटे समुदायलाई अन्य समुदायले आफ्नो घर–आँगनमा आउन दिँदैनन्। यस्तोमा उनीहरुले बनाएका काठका भाँडाकुडा पनि विक्री हुने कुरा भएन्। सरकारले दिने सामाजिक सुरक्षा भत्ताले उनीहरुलाई एक साता पनि खान पुग्दैन्।

‘कोरोनाले गास छिन्यो, जंगल जान पनि पाइदैंन, शहर पस्न पनि दिँदैनन्,’ अर्का मुखिया वीरबहादुर शाहीले भने, ‘जनता (आफ्नो समुदायका मानिस) भोकभोकै हुन लागे, हामीमाथि ठूलो संकट आइलाग्यो।’

‘कोरोनाले गास छिन्यो, जंगल जान पनि पाइदैंन, शहर पस्न पनि दिँदैनन्,’ मुखिया वीरबहादुर शाहीले भने, ‘जनता (आफ्नो समुदायका मानिस) भोकभोकै हुन लागे, हामीमाथि ठूलो संकट आइलाग्यो।’

कोरोना संक्रमणअघिसम्म राउटे बस्तीमा दाताहरुको घुइँचो लाग्थ्यो। राउटे समुदायलाई खाद्यान्न, लत्ताकपडा र नगद दिएर जान्थे। यसले दैनिकी चलाउन उनीहरुलाई सहज हुन्थ्यो। पछिल्लो साढे तीन महिनाको अवधिमा राउटे समुदायले दाताहरुबाट पाँच पटक मात्रै सहयोग पाएको छ। राउटे समुदायमा ४६ घरका १५४ सदस्यहरु छन्।  

कोरोना संक्रमणका कारण काठका सामाग्रीहरु विक्री हुन थालेपछि उनीहरुले भाँडाकुँडा बनाउन पनि छोडेका छन्। ‘पहिले जस्तो हामीले बनाएका भाँडाकुँडा विक्री हुँदैनन्, बनाएर मात्रै के गर्नु ?’ मुखिया सूर्यनारायण शाहीले भने, ‘लकडाउनले त पेशानै संकटमा परिसक्यो।’

लोपोन्मुख राउटे समुदायले सामाजिक सुरक्षा भत्ता पनि समयमै पाउँदैनन्। पछिल्लो तीन महिनाको भत्ता उनीहरुले दुई दिनअघि मात्रै प्राप्त गरे। ‘समयमै भत्ता नआउँदा छाक टार्न समस्या हुने गरेको छ,’ मुखिया सुर्यनारायणले भने, ‘समयमै भत्ता दिने व्यवस्था गरिदिए केही सजिलो हुन्थ्यो।’ विहान–बेलुकाको छाक टार्न समस्या हुन थालेपछि राउटे समुदायले आफ्ना औजारहरु विक्री गरेर वा धरौटी राखेर खाद्यान्नको जोहो गर्ने गरेका छन्। महामुखिया महिनबहादुर शाहीले चामल किन्नकै लागि नजिकैको पसलमा बन्चरोलगायतका औजारहरु विक्री वा धरौटी राख्ने गरिएको बताए। ‘भोकै बस्न सकिँदैन्, समयमै भत्ता पनि आएन्,’ उनले भने, ‘औजार विक्री गरेर भएपनि खाद्यान्न जोहो गर्नुपर्ने समस्या आइलाग्यो।’

दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायलाई अघिल्लो वर्ष असार ३१ गते परिचयपत्र वितरण गरेको छ। यसैका आधारमा उनीहरुले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन्। एउटै ठाउँमा नबस्ने भएकाले उनीहरुले अहिलेसम्म नागरिकता प्राप्त गरेका छैनन्।

गुराँस गाउँपालिका अध्यक्ष खेमराज वली कोरोना कहरका कारण राउटे समुदाय संकटमा रहेकोे बताउँछन्। ‘कोरोना संक्रमणका कारण लकडाउन नहुँदासम्म राउटे बस्तीमा दाताहरु आउँथे, राहत दिएर जान्थे,’ अध्यक्ष वलीले भने, ‘अहिले दाताहरुको सहयोग मात्रै रोकिएको मात्रै छैन्, परम्परागत पेशा पनि संकटमा पर्न थालेको छ।’

पछिल्लो समय राउटे र अन्य समुदायबीचको द्वन्द्व पनि बढ्दै गएको छ। सिमल, उत्तीस, गुराँसलगायतका रुखहरु काटेर कोसी, मधुसलगायतका सामाग्री बनाउने उनीहरुलाई स्थानीय समुदायको अवरोध छ। वर्षौदेखि आफुले संरक्षण गर्दै आएको सामुदायिक वनभित्र राउटे समुदायले जथाभावी रुखहरु काट्दा विवाद हुने गरेको छ।

राउटे समुदायलाई अमेरिकाबाट सहयोग

नेपाल आदिवासी जाजाती महासंघ अमेरिका (फिप्ना) ले राउटे समुदायलाई खाद्यान्न र कपडा वितरण गरेको छ। फिप्नाले पठाएको दुई लाख २६ हजार रूपैयाँबाट प्रत्येक परिवारलाई चामल, दाल, नुन, तेल र कपडा खरिद गरेर वितरण गरिएको नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् दैलेखका अध्यक्ष खगेन्द्र पुन मगरले बताए। ‘लकडाउनका कारण राउटे समुदाय समस्यामा रहेको जानकारी पाएपछि अमेरिकास्थित जनजाति महासंघसँग समन्वय गरेर आवश्यक सामाग्रीहरु वितरण गरेका हौं,’ उनले भने, ‘साँच्चै राउटे बस्तीमा अहिले खाद्यान्न, लत्ताकपडा र पालको समस्या रहेछ।’

प्रकाशित: २७ असार २०७७ ०३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App