११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

म्यानमारलाई २७ टन राहत सामग्री पठाउँदै नेपाल

नेपाल सरकारले म्यानमारमा गएको विनाशकारी भूकम्पपछि त्यहाँको सरकारलाई करिब २७ मेट्रिक टन राहत सामग्री सहयोग स्वरूप पठाउने भएको छ।

राहत सामग्री हस्तान्तरण गर्न परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारीसहितको नेपाली प्रतिनिधिमण्डल बुधबार राति म्यानमार प्रस्थान गर्नेछ।

गत शुक्रबार म्यानमारमा ७.७ म्याग्निच्युडको भूकम्प जाँदा ३ हजारभन्दा बढीको मृत्यु भएको थियो। उक्त विपद्‌पछि म्यानमार सरकारले नेपाल सरकारलाई आवश्यक राहत सामग्रीको सूची उपलब्ध गराएको थियो।

सोही सूचीअनुसार खाद्यान्न, औषधि, मेडिकल टिम, टेन्ट, भाँडाकुँडा, ब्लड ट्रान्सफ्युजन सेट लगायत सामग्री पठाउन लागिएको हो।

परराष्ट्रमन्त्री डा. आरजु राणाले नेपाल सरकारको तर्फबाट राहत सामग्री हस्तान्तरण गरिने जानकारी दिँदै भनिन्, ‘‘हाम्रो राजदूतावासमार्फत म्यानमार सरकारसँग सम्पर्क गरेर आवश्यक सामग्रीको सूची माग गरिएको थियो। निजी क्षेत्र र सरकारको संयुक्त प्रयासमा २७ टन सामग्री संकलन गरिएको छ।’’

यसअघि नेपाली सेनाको आपतकालीन मेडिकल टिम म्यानमार पुगिसकेको मन्त्री राणाले जानकारी दिइन्। उक्त टिम दुई दिनपछि नेपाल फर्कने छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले म्यानमार २०७२ सालको भूकम्पमा नेपाललाई सहयोग पुर्‍याएको स्मरण गर्दै अहिले नेपालले आफ्नो मित्र राष्ट्रलाई विपत्तिको बेला साथ दिइरहेको बताए।

‘‘चार्टर्ड प्लेनमार्फत आज साँझ पठाइन लागिएको राहत सामग्रीमा खाद्यान्न, भाँडाकुँडा, औषधि, टेन्ट, ब्लड ट्रान्सफ्युजन सेट लगायत आवश्यक सामग्रीहरू छन्,’’ प्रवक्ता बुढाथोकीले भने, ‘‘नेपाल सरकारको तर्फबाट करिब १ करोड ४० लाख रुपैयाँ बराबरको सामग्री म्यानमार पठाइँदैछ।’’

उनका अनुसार सरकारले मौज्दात सामग्रीका साथै निजी क्षेत्रबाट प्राप्त सहयोग समेटेर राहत तयारी गरेको हो। नेपाल उद्योग वाणिज्य महासंघ, कन्फेडेरेसन अफ नेपालिज इन्डस्ट्रीज, औषधि उद्योग, खाद्य उद्योग लगायतबाट प्राप्त सहयोग सामग्री समावेश गरिएको छ।

प्रकाशित: २७ चैत्र २०८१ १६:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App