राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले युवाको नेतृत्व, समावेशी राजनीतिक संस्कार र न्यायको संस्थागत आवश्यकतामाथि जोड दिएकी छिन्।
उज्बेकिस्तानमा जारी अन्तर व्यवस्थापिका संघको महासभामा सम्बोधन गर्दै सांसद गौतमले नेपालले समावेशी संविधानमार्फत न्याय सुनिश्चित गर्ने प्रयास गरिरहेको बताइन्।
गौतमले आफूलाई ‘हिमालको छोरी’ को रूपमा प्रस्तुत गर्दै असमानता र सीमित अवसरबिच हुर्किएको अनुभव सुनाइन्। उनले भनिन्, ‘म निर्वाचित प्रतिनिधिका रूपमा मात्र होइन, समावेशिता, न्याय र सबैको सम्मानको मूल्य सिक्दै अघि बढिरहेको समाजको प्रतिनिधिका रूपमा यहाँ उभिएकी छु।’
उनले नेपालको संविधानलाई समावेशी र प्रगतिशील आशाको दस्ताबेजको रूपमा चित्रण गर्दै कानुन बनाउनु मात्रै पर्याप्त नभई सहानुभूति, जबाफदेही र समावेशीतामा आधारित राजनीतिक संस्कार निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइन्।
‘आजको युग गति हो, युवाहरू परिवर्तनको टिकट पर्खन चाहँदैनन्,’ उनले भनिन्, ‘हामी नवप्रवर्तन, साहस र वैश्विक एकताको भावना लिएर परिवर्तनका चालक बन्न चाहन्छौं।’
गौतमले विश्वका कतिपय भाग युद्ध र विभाजनको सङ्कटमा रहेका बेला युवाहरूले शान्ति, एकता र साझा मानवताको बाटो प्रस्ताव गरिरहेको बताइन्। ‘युवालाई नेतृत्वको अवसर दिइयो भने युद्ध इतिहास बन्न सक्छ,’’ उनले भनिन्, ‘‘हामी विनाश होइन, भविष्य निर्माणमा विश्वास गर्छौं।’
महासभामा उनले संसद्, राजनीति र निर्णय प्रक्रियामा थप युवाको सहभागिता सुनिश्चित गर्न आग्रह गरिन्। ‘हामी युवाहरूले नयाँ ऊर्जा, साहसिक विचार र तीव्र नतिजा ल्याउन सक्छौँ,’ गौतमको भनाइ थियो।
प्रकाशित: २७ चैत्र २०८१ १५:५४ बुधबार





