७ माघ २०८२ बुधबार
image/svg+xml
शिक्षा

‘शैक्षिक उत्कृष्टता सुनिश्चित गर्न दलीय राजनीतिभन्दा माथि उठ्नुपर्छ’

राजधानीको केन्द्र ठमेलमा अवस्थित देशकै प्रतिष्ठित शैक्षिक धरोहर सरस्वती बहुमुखी क्याम्पसले विविध कार्यक्रमका बिच आफ्नो ६७ औं वार्षिकोत्सव मनाएको छ।

शिक्षामा बढ्दो व्यापारीकरणको वर्तमान सन्दर्भमा सर्वसुलभ शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्दै आएको यस सरकारी क्याम्पसले आफ्नो गरिमालाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धताका साथ वार्षिकोत्सव मनाएको हो।

कार्यक्रममा उपस्थित शिक्षक, कर्मचारी तथा विद्यार्थी प्रतिनिधिहरूले क्याम्पसको ऐतिहासिक महत्त्वमाथि प्रकाश पार्दै सामुदायिक तथा सरकारी शैक्षिक संस्थाहरूको औचित्य र जिम्मेवारी अझ बढेको सुनाए।

कार्यक्रमको केन्द्रविन्दुमा क्याम्पसको नेतृत्व र भावी कार्ययोजना रहेको थियो। क्याम्पसको लामो इतिहासमै पहिलो पटक राजनीतिक भागबन्डाभन्दा माथि उठेर योग्यता (मेरिट) का आधारमा क्याम्पस प्रमुखमा नियुक्त भएका डा. ठाकुर प्रसाद वाग्लेले क्याम्पसको मुहार फेर्ने सङ्कल्प व्यक्त गरे।

समारोहलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख डा. वाग्लेले शैक्षिक संस्थाहरूमा हुने अति राजनीतीकरणले सरकारी कलेजहरूको साख गिराएको यथार्थलाई स्वीकार गर्दै अबको बाटो शैक्षिक उत्कृष्टताको हुनुपर्नेमा जोड दिए।

उनले भने, ‘अति राजनीतीकरणले सरकारी कलेजहरूमा नकारात्मक असर पारेको छ। यो कुरालाई सबैले मनन गरी विद्यार्थीहरूको पढ्न पाउने नैसर्गिक अधिकारको रक्षा गर्नुपर्छ।’

डा. वाग्लेले आफूले क्याम्पसको भौतिक पूर्वाधार निर्माणका लागि पहलकदमी लिइसकेको जानकारी दिँदै विद्यार्थीको चापलाई व्यवस्थापन गर्न विषय र सिफ्टको सङ्ख्या बढाउने कार्यमा निरन्तर लागिपरेको बताए।

सम्बोधनका क्रममा डा. वाग्लेले शैक्षिक गुणस्तरमा कुनै पनि सम्झौता नहुने स्पष्ट पारे। ‘अहिलेको शिक्षाको उद्देश्य भनेको आलोचनात्मक चेतनासहितको अनुसन्धानमुखी जनशक्ति उत्पादन गर्नु हो,’ उनले भने, ‘त्यसका लागि समयसापेक्ष विज्ञान, प्रविधि र आईटीलगायतका आधुनिक विधालाई क्रमबद्ध रूपमा भित्र्याउँदै लगिएको छ र यसलाई निरन्तरता दिने विश्वास दिलाउन चाहन्छु।’

कार्यक्रममा प्राध्यापक र विद्यार्थी नेताहरूले पनि क्याम्पस सुधारका लागि आ-आफ्नो धारणा राखेका थिए। शिक्षक प्रतिनिधिका रूपमा बोल्दै उप-प्राध्यापक बालकृष्ण शर्माले शैक्षिक उत्कृष्टता सुनिश्चित गर्नका लागि सबै पक्ष दलीय राजनीतिभन्दा माथि उठ्नुपर्ने औंल्याए।

उनले शिक्षक, विद्यार्थी र कर्मचारी मिलेर शान्त र प्राज्ञिक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

त्यसैगरी, इतिहासका प्राध्यापक डा. अच्युत अधिकारीले कवितामार्फत क्याम्पसले भोगिरहेको राजनीतिक हस्तक्षेपको पीडा र अबको परिवर्तनको आवश्यकतालाई मार्मिक रूपमा प्रस्तुत गरेका थिए।

समारोहमा विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूले पनि शैक्षिक वातावरण सुधारको माग गरे। अखिल क्रान्तिकारीका अध्यक्ष राजेश बाबु बगाले, अनेरास्ववियुका अध्यक्ष लोकमणि जोशी र नेपाल विद्यार्थी सङ्घका अध्यक्ष मन्दिप सिंह ठकुरीले संयुक्त रूपमा विद्यार्थीहरूका लागि शान्तपूर्वक पठनपाठन गर्ने वातावरण सिर्जना गर्न र आवश्यक भौतिक संरचना निर्माणका लागि क्याम्पस प्रशासन गम्भीर बन्नुपर्ने माग राखे।

पत्रकारिता लगायत १४ वटा विभिन्न कार्यक्रम सञ्चालन भइरहेको यस क्याम्पसमा हाल करिब ९ हजार विद्यार्थी अध्ययनरत छन्।

समारोहमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।

क्याम्पस प्रमुख डा. वाग्लेले विभिन्न सङ्काय र विषयमा उच्चतम अङ्क प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मान पत्र प्रदान गरे। सो अवसरमा क्याम्पसले आयोजना गरेको ‘खेलकुद सप्ताह’ का विजयी खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र वितरण गरिएको थियो।

खेलकुद सप्ताहअन्तर्गत फुटबल, बास्केटबल, टेबल टेनिस, भलिबल, चेस, हाजिरी जवाफ, निबन्ध लेखन र डोरी तान्ने (टग–अफ–वार) जस्ता प्रतियोगिताहरू सञ्चालन भएका थिए।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिसमेत दिएका थिए। लक्ष्मी न्यौपाने र प्रकृति परियार लगायत दर्जनौं विद्यार्थीले नृत्य तथा अन्य प्रतिभा प्रस्तुत गरी वार्षिकोत्सवलाई मनोरञ्जनात्मक बनाएका थिए।

प्रकाशित: १३ पुस २०८२ १८:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App