२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

आशिकाले सोधिन- राजनीतिमा होमिने निर्णय लिनुपर्ने भएको छ, के गरूँ ?

सामाजिक अभियन्ता आशिका तामाङले आसन्न संसदीय निर्वाचनमा उम्मेदवारी दिने विषयमा सर्वसाधारणसँग राय मागेकी छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक ‘पोल’ राख्दै उनले आफू सक्रिय राजनीतिमा आउनु पर्ने या नपर्ने विषयमा शुभचिन्तकहरूको सुझाव मागेकी हुन्।

विगत लामो समयदेखि सामाजिक कार्यमा सक्रिय तामाङले ७ वर्षअघि आफ्नो सरसफाइ अभियानलाई संस्थागत गर्दै फाउन्डेसन खोल्दा पनि यसरी नै जनमत लिएको स्मरण गरेकी छन्।

उनले विगतमा जस्तै यसपटक पनि महत्त्वपूर्ण निर्णय लिनुअघि जनताको भावना बुझ्न चाहेको उल्लेख गरेकी छन्।

फेसबुकमा स्टाटस लेख्दै उनले भनेकी छन्, ‘नमस्कार सबैजनालाई आजभन्दा करिब ७ वर्ष पहिले मैले हाम्रो सरसफाइ अभियानलाई संस्थागत गर्दै फाउन्डेसन खोल्ने निर्णय लिएको थिएँ। मैले यहाँहरूकै भोटिङ पोलमार्फत आएको निर्णयलाई सम्मान गर्दै फाउन्डेसन खोलेको थिएँ।’

सोही सन्दर्भ जोड्दै उनले अगाडि लेखेकी छन्, ‘यो क्षणलाई उजागर गर्दै मैले फेरि अर्को राजनीतिमा होमिने निर्णय लिनुपर्ने भएको छ। मलाई अब आउँदो संसदीय चुनावमा लड्नलाई उम्मेदवारी दिन फेरि भोटिङ पोलमार्फत आफ्नो मत र भावना प्रकट गर्न सबै जनालाई अनुरोध गर्दै यो पोस्ट गर्दै छु।’

उनले राखेको प्रस्तावमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उत्साहजनक प्रतिक्रिया दिएका छन्।

उनले राखेको ‘राजनीतिमा आउनु पर्छ या पर्दैन?’ भन्ने प्रश्नमा यो समाचार तयार पार्दासम्म ९३ प्रतिशतले ‘आउनु पर्छ’ भन्ने विकल्पमा मतदान गरेका छन् भने केवल ७ प्रतिशतले ‘आउनु पर्दैन’ भन्ने मत जाहेर गरेका छन्।

आसन्न निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूबीच एकता र ध्रुवीकरण तीव्र भइरहेको छ। यही माहोलमा स्वतन्त्र छवि बनाएका अभियन्ताहरूले पनि राजनीतिमा आउने चाहना व्यक्त गर्न थालेका छन्।

प्रकाशित: १३ पुस २०८२ १८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App