७ भाद्र २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

महिलालाई राहुल गान्धीको सन्देश : तिमी कसैकी होइनौ, आफ्नै हौ

भारतीय कांग्रेसका नेता एवं लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले महिलाको स्वतन्त्रता र आत्मनिर्णयलाई भारतको शक्ति र लोकतन्त्रसँग जोड्दै युवतीहरूलाई पितृसत्तात्मक सोचविरुद्ध आवाज उठाउन आग्रह गरेका छन्।

हालै भारतको महाराष्ट्रस्थित पुणेमा आयोजित ‘छात्रों की गूंज’ कार्यक्रमको महिला-मात्र संस्करणमा बोल्दै गान्धीले महिलालाई परिवारका कुनै पुरुष सदस्यको अधीनमा रहने व्यक्तिका रूपमा नभई आफ्नै जीवनको निर्णय आफैं गर्न सक्ने नागरिकका रूपमा हेर्नुपर्ने बताएका हुन्।

उक्त कार्यक्रममा करिब १० हजार महिला विद्यार्थी तथा कर्मचारी सहभागी हुने आयोजकको अपेक्षा थियो। यो ‘छात्रों की गूंज’ कार्यक्रमको पहिलो महिला-मात्र संस्करण भएको र कोटा, देहरादुन तथा प्रयागराजमा भएका यसअघिका कार्यक्रमपछि पुणेको कार्यक्रम ठुलो भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गान्धीले भारतको सबैभन्दा ठुलो शक्ति के हो भन्ने प्रश्न उठाउँदै अर्थतन्त्र, सैन्य शक्ति वा जनसंख्याभन्दा भारतका महिला ठुलो शक्ति भएको बताएका थिए। उनले भने, ‘भारतका ७० करोड महिला देशको सबैभन्दा ठुलो शक्ति र सम्पत्ति हुन्।’

उनका अनुसार भारतका महिलालाई एउटै पहिचानमा सीमित गर्न हुँदैन। ७० करोड महिलाका ७० करोड फरक यात्रा, कल्पना र सपना रहेको उनले बताए।

गान्धीले महिलामाथिको पितृसत्तात्मक नियन्त्रणको उदाहरण दिन मनुस्मृतिको उल्लेख गरे। उनले भने, ‘म यहाँ मनुस्मृति उद्धृत गर्न चाहन्छु, जसले स्पष्ट रूपमा भन्छ कि बाल्यकालमा महिला आफ्नो बुबाको अधीनमा हुनुपर्छ, युवावस्थामा उनी आफ्नो पतिको हुन्छिन् र जब उनको पतिको मृत्यु हुन्छ, उनी आफ्ना छोराहरूको हुन्छिन्। महिला कहिल्यै स्वतन्त्र हुनुहुँदैन। यी शब्दहरू लज्जास्पद छन्। यी शब्दहरू बोलिनु हुँदैनथ्यो।’

महिलाहरू देशको सबैभन्दा ठुलो सम्पत्ति भएको बताउँदै गान्धीले उनीहरूलाई आफ्नै पक्षमा उभिन र आफूमा विश्वास गर्न आग्रह गरे।

‘तपाईं कसैको पनि होइन, आफ्नै बाहेक। तपाईंको आफ्नो बुबा, भाइ, पति र छोरासँग सम्बन्ध छ, तर तपाईं उनीहरूको हुनुहुन्न। तपाईं आफ्नै हुनुहुन्छ,’ गान्धीले भने।

‘महिलालाई दबाउने मानसिकता मनुस्मृतिबाट आएको हो र आज हाम्रो लडाइँ यही मानसिकताविरुद्ध हो,’ गान्धीले भने। उनले भाजपा–आरएसएससँग नजिक रहेका शक्तिहरूले महिला र युवतीलाई सीमित राख्न खोजेको आरोप पनि लगाए।

गान्धीले भारतमा महिलामाथि हुने हिंसा, काम गर्ने अधिकार र पारिश्रमिकमा रहेको असमानताको विषय पनि उठाएका थिए। उनले भारतमा यौन हिंसाका ९९ प्रतिशत घटना रिपोर्ट नहुने, ८४ प्रतिशत महिलाले काममा जान परिवारबाट अनुमति लिनुपर्ने र समान प्रकृतिको काममा महिलाले पुरुषको तुलनामा करिब २५ प्रतिशत कम कमाउने दाबी गरे।

महिलाले हिंसा, अपमान, सामाजिक नियन्त्रण, घरेलु कामको बोझ र अनलाइन दुर्व्यवहारको सामना गरिरहेको उनको भनाइ थियो। उनले युवतीहरूलाई आफ्नो अधिकारका लागि खुलेर बोल्न आग्रह गरे।

‘चर्को स्वरमा बोल, गर्व गर र समाजमा आफ्नो स्थानका लागि लड,’ उनले भने।

गान्धीले परिवारभित्रै महिलाको निर्णय र अधिकारलाई किन सीमित गरिन्छ भन्ने प्रश्न पनि उठाए। महिलाको स्वतन्त्रताको विषय राज्यको राजनीतिमा मात्र नभई घरभित्रको शक्ति बाँडफाँडसँग पनि जोडिएको उनको भनाइ थियो।

गान्धीले महिलालाई आमा, दिदी वा छोरीका रूपमा मात्र हेर्ने राजनीतिक भाषाभन्दा उनीहरूको व्यक्तिगत स्वतन्त्रतालाई प्राथमिकता दिनुपर्ने बताए। उनको मुख्य सन्देश थियो, ‘तिमी अरू कसैकी होइनौ, तिमी आफ्नै हौ।’

प्रकाशित: ७ भाद्र २०८३ २२:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App