राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रवीन्द्र मिश्रले सहकार्यका लागि काठमाडौं महानगरका मेयर बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बधाई दिँदै राजसंस्थाको एजेन्डा पनि साथमा बोक्न सुझाव दिएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मिश्रले बालेन र रविको सहकार्यले मात्र देशको समस्या समाधान नहुने भन्दै ‘संवैधानिक राजसंस्था’ को अपरिहार्यता औंल्याएका हुन्।
रवि र बालेनबिच भएको सहकार्यको सहमतिप्रति लक्षित गर्दै उनले सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेन्डाले मात्र अबको नेपाललाई थेग्न नसक्ने दाबी गरेका छन्।
मिश्रले बदलिएको भूराजनीतिक र आन्तरिक परिवेशतर्फ सङ्केत गर्दै भनेका छन्, ‘भावी नेपाललाई अब केवल सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेन्डाले मात्र थेग्न सक्दैन, सक्दै सक्दैन।’
उनले राष्ट्रिय सङ्कटको घडीमा अभिभावकत्व ग्रहण गर्ने गरी प्रजातन्त्रको फ्रेमवर्कभित्र संवैधानिक राजसंस्थालाई स्थान दिनुपर्नेमा जोड दिए।
उनले लेखेका छन्, ‘रूपान्तरणको मुद्दासँगै तपाईंहरूले राजसंस्थाको मुद्दा पनि बोकिदिनु भयो भने आउने केही दशक तपाईंहरूको दशक हुनेछ र सम्भवतः नेपालको ऐतिहासिक रूपान्तरण पनि सम्भव हुनेछ।’
राजसंस्थाको संस्थागत जगेर्ना नगरिएमा अहिले देखिएको आशा र उत्साह विगतमा झैँ पुनः धुमिल भएर जाने चेतावनी समेत उनले दिएका छन्।
प्रकाशित: १३ पुस २०८२ १९:०८ आइतबार





