२ आश्विन २०७८ शनिबार
समाज

त्रासले घरमा सुत्दैनन् निर्मलाका दिदीबहिनी

घरको बरन्डामा निर्मलाका दिदी मनीषा र बहिनी सरस्वती। तस्बिर : दिलबहादुर/नागरिक

उल्टाखाम (कञ्चनपुर) - टिनले छाएको एकतले घरअगाडि बरन्डामा प्लास्टिकको कुर्सीमा १५ वर्षीया मनीषा पन्त टोलाएर बसिरहेकी थिइन्। एकैछिनमा छेउको घरमा गएकी ११ वर्षीया सरस्वती आइपुगिन्। बुधबार दिउँसो घरमा पुग्दा निर्मलाका दिदीबहिनी निरास देखिन्थे।

‘आमा र बुबा काठमाडाैं गएपछि हामी दुई दिदीबहिनी मात्र घरमा छौं’, दबेको स्वरमा मनीषाले भनिन्, ‘त्रासले घरमा सुत्न सक्तैनौं।’ दिउँसो उज्यालोमा त उनीहरूलाई समय बिताउन त्यति कठिन हुँदैन। साँझ अँध्यारो हुन थालेसँगै उनीहरूको मुटुको धड्कन बढ्छ। छिमेकी भाउजू मञ्जु भट्टको घरमा गएर आश्रय लिन्छन्। ‘दिउँसो उज्यालोमा जसोतसो हामी घरमा बसिहाल्छौं’, उनले भनिन्, ‘अँध्यारो भएपछि घरभित्रै डर लाग्छ। भाउजूको घरमा गएर सुत्ने गरेका छौं।’ साँझ ६ बजेतिर उनीहरू मञ्जुकहाँ जान्छन्। राति त्यहीं सुत्छन्।

आमा नहुँदा उनीहरूले राम्रोसँग खाना पनि खाएका छैनन्। ‘आफैं पकाएर खान्छौं। साँझ ढिलो भए खाना बनाउँदैनौं’, मनीषाले भनिन्। ‘साँझ यिनीहरूले घरमा पनि खाना बनाउँदैनन्। मैले पकाएर खाऊ भन्दा पनि मन लगाएर खाँदैनन्’, मञ्जुले भनिन्, ‘साँझ ६ बजेतिर मेरो घरमा आउँछन्, आएनन् भने म आफैं खोज्न जान्छु।’ तीन बहिनीमा निर्मलालाई मिठो खाना बनाउन आउने भएकाले आमा यताउता हुँदा उनले पकाउने गरेको मनीषाले बताइन्। ‘बहिनीले खाना पकाउँथी। हामीले पकाउनु पर्दैनथ्यो’, उनले भनिन्, ‘अहिले हामीलाई खाना पकाउन गाह्रो हुने गर्छ।’ बुबालाई सन्चो हुँदैछ छ भनेर आमाले फोन गरेको मनीषाले बताइन्। ‘कहिले घर आउने टुंगो छैन, सन्चो भएपछि मात्र आउँछु भन्नुहुन्थ्यो’, उनले भनिन्।

मनीषा कक्षा १० र सरस्वती ७ मा पढ्छन्। अहिले उनीहरूको दुवैको दोस्रो त्रैमासिक परीक्षा चलिरहेको छ। बिहान उनीहरू परीक्षा दिन विद्यालय जान्छन्। उनीहरूलाई पढ्ने वातावरण छैन। ‘राति डरले घरमा बस्न सक्दैनौं। भाउजूको घरमा गएर रात बिताउँछौं’, मनीषाले भनिन्, ‘पढ्न मन लाग्दैन।’ मनीषा पढाइमा अब्बल छिन्। उनी प्रत्येक वर्ष कक्षामा प्रथम र दोस्रो हुँदै आएकी छन्। सरस्वती पनि पढाइमा राम्रै छिन्। मनीषा डरले ट्युसन पढ्न जान सकेकी छैनन्। ‘साथी पाएर केही दिन ट्युसन पढ्न गएँ, ती साथी नजाने भएपछि डरले म एक्लै जान सकेकी छैन’, उनले भनिन्।

हत्यारा पत्ता नलाग्दा त्रास र पीडा
मनीषा, सरस्वती र निर्मला सँगै घरमा बस्थे। गफिन्थे र रमाइलो गर्थे। ‘दिदीको पटकपटक याद आइरहन्छ’, बहिनी सरस्वतीले भनिन्, ‘तीन बहिनीमा दुई मात्र रह्याैं, यादले नियास्रो लागिरहन्छ।’ हत्यार पत्ता नलाग्दा घरमा पटकपटक विभिन्न व्यक्तिहरू आएर सोधपुछ गर्दा घाउ कोट्याएजस्तै सबै कुरा सम्झिँदा उनीहरूलाई झन् पीडा हुने गरेको छ।

प्रहरीको सिभिल पोसाकमा आउने केहीले निर्मलाको चरित्र कस्तो थियो भनेर सोध्ने गरेको र न्याय नपाएका आफन्तलाई यसले बढी घोच्ने गरेको मञ्जु बताउँछिन्। ‘निर्मला १३ वर्षकी बालिका नै थिई, यताउता जाँदैनथी’, उनले भनिन्, ‘अपराधी पत्ता लगाउन छोडेर आफन्तलाई पीडा थप्ने गरेका छन्।’

हत्यारा पत्ता नलागेकाले यस्तो घटना दोहोरिन्छ कि भनेर त्रास बढेको उनीहरू बताउँछन्। ‘निर्मलाको हत्या हुनुअघि आमा राति ढिलो आए पनि वा कतै आफन्तकहाँ गए पनि उनीहरू घरभित्र निर्धक्क बसिराख्थे’, भट्ट भन्छिन्, ‘अहिले हत्यारा पत्ता नलागेकाले अँध्यारो नहुँदै त्रसित हुने गर्छन्।’

निर्मलाको हत्यारा पत्ता नलागेपछि कात्तिक २५ गतेदेखि निर्मलाका आमाबुुबा जिल्ला प्रशासन कार्यालयअगाडि अनिश्चितकालीन धर्नामा बसे। धर्नामा बस्दा बाबु यज्ञराज पन्तले असामान्य व्यवहार देखाउन थालेपछि उनलाई मंसिर ८ गते उपचार गर्न आमा दुर्गादेवीलगायत आफन्त काठमाडाैं गए। उनको उपचार त्रिवि शिक्षण अस्पताल काठमाडौंमा भइरहेको छ।

यज्ञराजकी कान्छी पत्नी लक्ष्मीदेवी पन्त दिनरात २४ घन्टा धर्नामा बसेकाले घरमा मनीषा र सरस्वती छन्। साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मलाको ११ गते उखुबारीमा शव फेला परेको थियो। प्रहरीले एकपछि अर्को छानबिन समिति गठन गरेर गम्भीर अनुसन्धान गरिरहेको दाबी गरे पनि हत्यारा पत्ता लगाउन सकेको छैन।

प्रकाशित: १३ मंसिर २०७५ ०७:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App