१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
खेल

चौथो ताप्लेजुङ गोल्डकप : गृह मैदानमा आयोजकको टीम जर्जियन एफसीद्धारा स्तब्ध

ताप्लेजुङको फुङलिङमा सुरु चौथो संस्करणको ताप्लेजुङ गोल्डकपमा भारतको कालिम्पोङको जर्जियन युनाइटेड फुटबल क्लबले विजयी सुरुवात गरेको छ। आयोजक ताप्लेजुङ–११ लाई घरेलु मैदानमा २–१ गोलअन्तरले स्तब्ध पार्दै प्रतियोगिताको एकमात्र अन्तर्राष्ट्रिय टोली जर्जियन युनाइटेडले सेमिफाइनलमा स्थान बनाएको हो।

मध्यन्तरपछिको चौथो मिनेटमा डिक्वस एरियाको बाँया भागबाट प्रहार गरेका जर्जियनका कप्तान गुन्जमान थापाको प्रहारप्रति ताप्लेजुङ–११ का गोलरक्षक आकाश लिम्बूले भेउ पाउन सकेनन् र बलले सिधै जाली चुम्यो।

मध्यन्तरअघि १–० को अग्रतामा रहेको जर्जियनले विपक्षी टोलीविरुद्धको खेललाई नियमित आक्रामक बनायो। पहिलो गोल गरेको केही समयपछि ताप्लेजुङ–११ का खेलाडीले जर्जियनका कप्तान थापालाई फाउल गरेपछि रेफ्री श्रवण लामाले जर्जियनलाई पेनाल्टीको अवसर दिए।

पेनाल्टी प्रहार गरेका कप्तान थापाले आफ्नो प्रहारमा कुनै गल्ती नगरी व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे।

२–० ले पछि परेको खेलमा फर्कन ताप्लेजुङ–११ का लागि सङ्घर्षपूर्ण खेल खेल्नु अनिवार्य थियो। सोही रणनीतिअनुसार खेलमा आक्रामक रणनीति बुनेको आयोजक टोलीका दिपेश लिम्बूले उत्कृष्ट गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए।

खेल अन्त्यतिर पुग्दै गर्दा आयोजक टोलीले गोल फर्काउन थुप्रै प्रयास गरे पनि जर्जियनले रक्षात्मक खेल खेल्दै अग्रता जोगायो। अन्ततः खेल जर्जियनकै पक्षमा गयो। मध्यन्तरअघिको खेल भने गोलरहित बराबरीमा सकिएको थियो।

म्यान अफ द म्याच विजेता टोलीका कप्तान गुन्जमान थापाले ७ हजार रुपैयाँ बराबरको अलैंची उपहार पाए। ताप्लेजुङको प्रमुख नगदेबाली अलैंचीको प्रवर्द्धन र महत्त्व स्थापित गर्न म्यान अफ द म्याच बन्नेलाई अलैंची उपहार दिने निर्णय गरिएको आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए।

भदौ १३ गते शनिबार हुने दोस्रो खेलमा समूह ‘बी’को चित्लाङ फुटबल क्लब र पाँचथरको फिदिम स्पोर्टिङ क्लब आमनेसामने हुनेछन्।

प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८३ रुपैयाँ र उपविजेताले ३ लाख ५२ हजार ८३ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रकाशित: १२ भाद्र २०८३ २१:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App