१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

पोखरामा बाढीपीडितको शव व्यवस्थापनमा सकस

पोखरामा बाढीपीडितको शव व्यवस्थापन गर्न सकस भएको छ। क्षमताभन्दा बढी शव पोखरा पठाइएपछि शव व्यवस्थापनमा हम्मेहम्मे परेको हो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा ७२ जनासम्मको शव राख्न सक्ने क्षमता छ। भोटेकोशी बाढीका कारण मृत्यु भएका १०२ वटा शव पोखरा ल्याइएको छ।

भदौ १० गते ९ वटा र भदौ ११ गते ९१ वटा गरी कुल १०२ वटा शव पोखरा आइपुगेको जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए। उनका अनुसार पोखरामा तनहुँबाट २३ वटा, गोरखाबाट ११ वटा, नवलपरासी पूर्वबाट ४१ वटा र धादिङबाट २७ वटा शव ल्याइएको हो। पोखरा ल्याइएका शवहरू पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएका छन्।

सो अस्पतालमा पहिलेदेखि नै रहेका शवहरू मणिपाल शिक्षण अस्पताल, गण्डकी मेडिकल कलेजलगायतका अस्पतालमा पठाएर शवगृह खाली गर्ने प्रयास गरिएको छ। तर अझै पनि पूर्ण रूपमा व्यवस्थापन हुन नसकेको अस्पताल स्रोतले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी बरालले शव व्यवस्थापनको काम भइरहेको बताए। कतिपय शव आफन्तले पहिचान गरेर लगेपछि व्यवस्थापन सहज हुने उनको भनाइ छ। उनका अनुसार पोखरा ल्याइएका १०२ वटा शवमध्ये एउटा शव आफन्तले पहिचान गरी बुझिसकेका छन् भने अन्य दुई वटा शव पनि आफन्तले पहिचान गरिसकेका छन्। त्यस्तै, थप २० वटा शवको पोस्टमार्टम भइसकेको उनले जानकारी दिए।

त्यस्तै, ५७ वटा शवको फोटो, भिडियो खिच्नेदेखि फिङ्गरप्रिन्टसमेत राख्ने काम भइसकेको छ। बरालले भने, ‘यसरी नै आफन्त आएर शव पहिचान भए शव व्यवस्थापनमा समस्या आउँदैन। हामी चाँडै व्यवस्थापन मिलाउँछौँ।’

शव पहिचानका लागि आफन्तलाई सहज होस् भनेर फोटो तथा भिडियो खिच्ने काम गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए। ‘सबैको फोटो र भिडियो लिइसकेपछि सामाजिक सञ्जालमा हाल्छौँ। यसले शव पहिचान चाँडो हुने विश्वासमा छौँ,’ उनले भने।

बरालका अनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाहेक मणिपाल, गण्डकी मेडिकल कलेज, चरक अस्पताल, आर्मी अस्पताल, गण्डकी मेडिकल कलेज, फिस्टेल अस्पताल र पोखरा युनिभर्सिटीमा पनि शव व्यवस्थापन गर्न सकिने अवस्था छ।

उनका अनुसार मणिपालमा ८ वटा, चरकमा २ वटा, फिस्टेल अस्पतालमा २ वटा, आर्मी अस्पतालमा ४ वटा, गण्डकी मेडिकल कलेजमा ४ वटा (२ वटा एसी नभएको), पोखरा युनिभर्सिटीमा २ वटा (एसी नभएको) र फिस्टेलमा २ वटा शव अटाउने शवगृह रहेका छन्।

प्रकाशित: १२ भाद्र २०८३ २१:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App