२७ चैत्र २०८१ बुधबार
image/svg+xml १६:५० अपराह्न
समाज

किन बढ्दै सम्बन्धविच्छेद?

समाज

वर्तमान अवस्थामा सम्बन्धविच्छेद एक जटिल सामाजिक समस्याका रूपमा बढिरहेको छ। दुःखमा साथ सुखमा विश्वासले जीवनपद्धति अगाडि बढाउने प्रण गरेर दाम्पत्य जीवन सुरुवात गरेका दम्पतीहरूबिच समस्या बन्छ। सामाजिक संरचनागत विभिन्न इकाइको प्रकार्यात्मक गतिविधिमा सामञ्जस्य हुन नसक्दा सामाजिक सांस्कृतिक मूल्यमान्यताले बाँधिएको बन्धनको गाँठो खुस्किँदै जान्छ।

दाम्पत्य जीवनको सुरुवाती चरणमा विच्छेदनको परिकल्पना नै हुँदैन तर विवाहपश्चात्का क्रियाकलाप र विवाहपूर्वको सहमति र सद्भावको विचलनको रूप बढ्दा दम्पती छुट्टिने मानसिकतामा पुग्छन्। सँगै जिउनेमर्ने कसम खाएर विवाहको बन्धनमा बाँधिएका श्रीमान्–श्रीमतीबिच सम्बन्धविच्छेदजस्तो गम्भीर अवस्थामा त्यत्तिकै पक्कै पनि पुगेका हुँदैनन्। त्यसका पछाडि विभिन्न कारणहरू जोडिएर आएका  हुन्छन्।

केही कारणहरू सामान्य प्रकृतिका हुन्छन् भने केही जटिल प्रकृतिका पनि हुन्छन्। सम्बन्धविच्छेदका कारणहरू पत्ता लगाउनका लागि विवाहदेखि दैनिक जीवनका ससाना घटना र व्यवहारहरूको सूक्ष्म अध्ययन गर्नु आवश्यक देखिन्छ। सम्बन्धविच्छेद हुनुका कारणमा विदेशी जीवनशैलीको प्रभाव, वैदेशिक रोजगार, स्वतन्त्र यौनजीवनदेखि असझदारी, सामाजिक मर्यादामा आएको कमी र व्यक्तिगत अराजकतासम्म देखिन्छन्। आजकल मेहनत र परिश्रमबाट सम्पत्ति आर्जनभन्दा पनि सम्बन्धविच्छेदबाट प्राप्त हुने सम्पत्तिको लोभ बढ्दै गएको पाइन्छ।

मानिसको दैनिक जीवन र उसको व्यवहारसँग रोजगारी र उसले गर्ने कामको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ। रोजगारीका क्रममा घरबाहिर बस्नुपर्ने र सोही क्रममा बाहिरी व्यक्तिसँग हुने सम्बन्धले वैवाहिक जीवनमा समेत प्रभाव परेको हुन्छ। नेपालबाट कामका सिलसिलामा विदेश जाने कयाैं युवायुवतीहरू प्रत्यक्ष प्रभावित हुने गरेका घटनाहरू दैनिकजसो सञ्चारमाध्यममा आएका देख्न  सकिन्छ।

महिलाहरू रोजगारीका माध्यमबाट आत्मनिर्भर बनिसकेपछि घरपरिवार तथा पुरुषहरूको शोषणदमन सहेर बस्नुनपर्ने, आफ्नो जीवनका निर्णयहरू आफैं लिन सक्ने हुन्छन् भने बेरोजगार भएकै कारण, आर्थिक अवस्था कमजोर भएका कारण पनि कयांै वैवाहिक सम्बन्धहरू टुट्ने गरेको देखिन्छ। तसर्थ रोजगारीको अवस्थासँग सम्बन्धविच्छेद जोडिएको पाइन्छ।

अर्को नवधनाढ्य तथा कुलघरानसँग कुटुम्ब जोड्ने आससँगै शैक्षिक, चेतना र स्तरको ख्याल नगरी वैवाहिक जीवनमा बाँधिने तर विवाहपश्चात्का दम्पतीबिच आपसी कुराकानी, रोजगारी, एकअर्काको बुझाइमा आउने फरकपनले एकअर्कामा मनमुटाव सुरु भएर सम्बन्धविच्छेद भएको देखिन्छ। पहाड, तथा तराईमा सम्बन्धविच्छेदको घटना बढ्नुमा अन्तरजातीय विवाहमा वृद्धि, दाइजो, तिलक प्रथा, परम्परागत र आधुनिक सोचबिच टकराब, मधेसी र गैरमधेसीबिच विवाह आदि समस्या रहेको पाइन्छ।

शैक्षिक असमानता शिक्षाले मानिसको सोच र दैनिक व्यवहारमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ। शैक्षिक अवस्थाले मानिसहरूको दैनिक जीवन र वैवाहिक जीवनमा समेत प्रभाव पारेको हुन्छ। विवाह र विवाह पछिको वैवाहिक जीवनमा श्रीमान् श्रीमतीको शौक्षिक योग्यताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। सम्बन्धविच्छेदका घटनाहरू मुख्यतया शिक्षित व्यक्तिहरूमा सचेतना, आत्मनिर्भरता, स्वतन्त्रता आदि कारणका रूपमा देखिन्छन् भने अशिक्षितहरूमा घरेलु हिंसा, बहुविवाह, आदि कारक तत्त्वका रूपमा देखिएका छन्।

आज विज्ञानप्रविधिको समय हो। वैज्ञानिक आविष्कारसँगै सञ्चार क्षेत्रमा तीव्र विकास भएको छ। नेपालमा पनि विद्युतीय सञ्चारमाध्यमको प्रभाव तीव्र रूपमा विस्तार हँुदै गरेको छ। सञ्चारका माध्यमहरूको विकास हुनु सकारात्मक पक्ष हो तर यसको दुरूपयोगले सामाजिक समस्या पनि बढाइरहेको देखिन्छ। यसको प्रयोग सही रूपमा गर्न सके वरदानस्वरूप हुन सक्छ भने यसको अति प्रयोग गर्दा हरेक क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ। केही वर्षयता टेलिफोन, मोबाइल र इन्टरनेटको विस्तारसँगै सामाजिक सञ्जालका माध्यहरूको प्रयोगमा व्यापकता आएको छ।

टिकटक, फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालको प्रयोग धेरैको दैनिकीजस्तै भएको छ। यी माध्यमको प्रयोगसँगै घरपरिवारभन्दा पनि बाहिरी मानिससँगको सामीप्यको वृद्धिका कारण आफन्त तथा घरपरिवारसँगको सम्बन्ध पातलिँदा यसले परिवारमा दरार सिर्जना गरेको छ।

पारिवारिक खटपटको प्रमुख कारण विद्युतीय सञ्चार माध्यमको अधिक प्रयोगको विषय बनेको छ। सञ्चारमाध्यमबाट बढेको आकर्षण तथा त्यसबाट भत्किएको सामाजिक मर्यादाबाट पनि पारिवारिक असमञ्जसता बढेको कारण घरपरिवारमा द्वन्द्व बढेको देखिन्छ। वर्तमान समयमा सम्बन्धविच्छेद हुने घटनाहरूको एक महत्त्वपूर्ण कारक तत्त्वका रूपमा टिकटक, फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालका माध्यमको अधिक तथा अनावश्यक प्रयोग देखापरेको छ।

विवाह र विवाहपछिका दिनमा हुने असमझदारीको प्रमुख कारण दाइजो वा गरगहनाका विषय पनि हुनेगरेको पाइन्छ। आज पनि नेपाल–भारतलगायतका मुलुकमा दाइजोको विषयलाई लिएर कयौं घरेलु हिंसा भएका घटनाहरू देखिएका हुन्छन्। छोरीलाई विवाह गरी केटा पक्षको घरमा पठाउनुपर्ने र त्यसमा साथसाथै दाइजो पनि दिनुपर्ने सामाजिक कुसंस्कारले गर्दा आज छोरी जन्मिँदा नाबालिक र सुत्केरी आमाले पनि अपमान सहनुपर्ने अवस्थाहरू देखिन्छन्।

समय र समाजको परिवर्तनसँगै नेपालको सहरी क्षेत्रका साथै पहाडी जिल्लाहरूमा दाइजोको विषयलाई लिएर शोषणदमन र हिंसाका घटनामा केही कमी आएको देखिए तापनि तराईका जिल्लाहरूमा र नेपाली समुदाय भएको भारतीय केही क्षेत्रमा दाइजो प्रथाको विकराल समस्या रही आएको छ। वरवधुको छनौटसँगै वरको पारिवारिक, आर्थिक, सामाजिक आडम्बर, शैक्षिक स्तर प्राप्तिजस्ता कुरालाई हेरेर वधु पक्षसँग आर्थिक र जिन्सीको लेनदेन हुने गर्छ। त्यो नै तिलक प्रथा हो।

विवाहपूर्वको सम्झौतासँगै पछि दिनचर्यामा पनि वधुपक्षले निर्वाह गर्नुपर्ने भूमिकामा कमबेसी हुँदा त्यही तिलक वा दाइजोको निहुँमा नारीलाई हिंसा गरेर सम्बन्धमा विच्छेदसम्म पुगेका घटना रहेको छ। दाइजो र आफूले भने जति सम्पत्ति नदिएको आदि कारण देखाइ घरपरिवारको समेत सहयोगमा श्रीमान्ले श्रीमतीलाई घरेलु हिंसा तथा दमन गरेको पाइन्छ।

विवाहपश्चात् विविध कारणले श्रीमान्–श्रीमती एकअर्कासँग छुट्टिएर बस्नुपर्ने अवस्था सिर्जना हुन्छ। यस क्रममा एकअर्काको अनुपस्थितिमा तेस्रो पक्षसँगको सम्बन्ध र सामीप्यका कारण नचाहँदा नचाहँदै पनि सम्बन्धमा खटपट हुन जान्छ। अन्ततः दाम्पत्य जीवनको अन्त्यसम्म हुने अवस्थामा पुग्ने गरेको देखिन्छ।

रोजगारी, व्यवसाय वा अन्य कारणबाट दम्पती छुट्टिएर बस्दै गर्दा आमसञ्चार, आधुनिक प्रविधि प्रयोगले दम्पतीबिचको नैतिक मूल्यमा ह्रास आएकाले आपसी असमझदारीले सम्बन्धविच्छेदको रूप लिएको देखिन्छ। वर्तमान अवस्थामा दम्पतीसँगै बसेर पनि दाइजो, परिवारको सम्पत्ति प्राप्त गर्ने चाहना, देखावटीपन, सोख, शैक्षिक स्तरको अन्तर, पारिवारिक पृष्ठभूमि बुझाइको कमी, मौलिक हार्दिकताको कमी, कुलत र हिंसाजस्ता कारणले सम्बन्धविच्छेद भएको देखिन्छ।

यसरी सम्बन्धविच्छेद बढ्दै जाने हो भने वैवाहिक संस्कार तथा सामाजिक संरचनामै ठुलो असर पर्छ। साथै मानिसमा विवाहप्रति नैराश्य उत्पन्न हुने देखिन्छ।

प्रकाशित: २३ चैत्र २०८१ ०९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App