१६ चैत्र २०८१ शनिबार
image/svg+xml १९:७ अपराह्न
समाज

पोखराको वायु गुणस्तर खतरनाक तहमा

चिकित्सक भन्छनः अस्पतालमा बिरामी बढेका छन्

पर्यटकीय सहर पोखरा। पोखरा पछिल्लो समय दिनहुँ जसो प्रदूषित बनेको छ। फाइल तस्बिरः नागरिक

पर्यटकीय सहर पोखरा पछिल्लो समय वायु प्रदूषणले ग्रसित भएको छ। फाट्टफुट्ट पानी परेपनि सहरभित्रको प्रदूषण कम भएको छैन। पोखराको वायु गुणस्तर सूचकांक खतरनाक तहमा पुगेको वातावरण विभागले बताएको छ।

प्रदूषित वातावरणले पोखरामा छातीका बिरामीको संख्या पनि बढाएको स्वास्थ्यकर्मीले बताएका छन्। प्रदूषण बढेका कारण पोखराको पर्यटन क्षेत्र पनि उत्तिकै चिन्तित छ। पर्यटकीय सिजनको मुखैमा पोखरा प्रदूषित भएकोले पाहुना आगमन प्रभावित हुनसक्ने व्यावसायीको चिन्ता छ।  

वातावरण विभागका अनुसार आइतबार बिहान ८ बजे पोखराको वायु गुणस्तर सूचकांक ३६१ पुगेको छ। पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुल (जिबिएस) परिसरमा रहेको प्रदूषण मापन यन्त्रले पोखराको वायु गुणस्तर सुचकांक दिनहुँ बढेको देखाईरहेको विभागले बताएको छ। यसले पोखराको वायु प्रदूषण निकै नै जोखिमयुक्त रहेको जनाउ दिने विभागको भनाई छ।  

विभागका वातावरण निरिक्षक गोबिन्दप्रसाद लामिछानेले पोखराको प्रदूषण निकै नै उच्च रहेको मापनले देखाएको बताए। उनका अनुसार पोखरामा भारी वर्षा नभएसम्म वा चर्काे घाम नलागेसम्म अहिलेको प्रदूषण कम हुने सम्भावना छैन।

‘जिबिएसको तथ्यांक निकै नै उच्च देखिएको छ। यसले पोखराको वायु प्रदूषित रहेको पुष्टि हुन्छ,’ लामिछानेले भने, ‘पोखरा वरिपरिका क्षेत्रमा आगलागी भएको हुनसक्छ। त्यसबाहेक सवारीको प्रदूषण, विकास निर्माणका कारण पनि प्रभावित भएको अनुमान गर्न सकिन्छ।’

उनका अनुसार पोखराको आकाशमा अहिले तुँवालो लागेको छ। बाक्लो तुँवालोका कारण प्रदूषण उच्च हुन्छ। ‘पोखरा आफैमा पनि भौगोलिक रुपमा होँचो छ। त्यसले गर्दा तराई क्षेत्रबाट पनि तुवाँलो पोखरा भित्रिन्छ। त्यसले पनि थप प्रदूषित बनाउँछ,’ उनले भने। लामिछानेका अनुसार पोखरामा बिहान र बेलुकी चिसो हुँदा यहाँँको आकाशको तुँवालो बाहिर निस्कन सकेको छैन। त्यसले गर्दा असर रहिरहेको उनले बताए। ‘पोखरामा राम्रोसँग घाम पनि लागेको छैन। त्यस्तै बादल पनि लागिरहेको छ। राम्रोसँग जमिन तात्नेगरि घाम नलाग्दा यो अवस्था आएको हो,’ उनले भने।  

उनका अनुसार यस्तो अवस्थामा पोखराको भिजिविलिटी पनि कम हुन्छ। आसपासका क्षेत्रमा आगलागी हुनु, पोखरा बजारभित्रै सवारी साधनले पनि प्रदूषण गराएको र पृथ्वी राजमार्ग बिस्तारको क्रममा रहेकोले त्यसको असर पनि परेको हुनसक्ने उनले बताए। 

‘सवारीको प्रदूषण र राजमार्ग बिस्तारको क्रममा पोखरा क्षेत्रमा काम हुँदैगर्दा धुलो उड्दा वायुमण्डल प्रदूषित भएको अनुमान गर्न सकिन्छ,’ उनले भने। लामिछानेका अनुसार राम्रोसँग वर्षा भयो भने बल्ल पोखराको प्रदूषण कम हुनेछ। ‘बिहान र बेलुकी चिसो छ। दिउँसो कतैकतै फाट्टफुट्ट वर्षा भएपनि त्यो पर्याप्त छैन,’ उनले भने, ‘पानी नपर्ने र घाम पनि नदाग्दाको अवस्था पोखरा बढी प्रदूषित भएको हो।’

पोखराको प्रदूषणका कारण अहिले आसपासका डाँडाकाँडा पनि देखिन छाडेका छन्। वायु प्रदूषण बढ्दा पोखरामा बिरामीको संख्या पनि बढेको चिकित्सकले बताएका छन्। वरिष्ठ छाती रोग विशेषज्ञ डा. सीपी आचार्यले प्रदूषणका कारण पोखरामा छातीको संक्रमणका बिरामी बढेको बताए। उनका अनुसार वायु प्रदूषण हुँदा आँखा पोल्ने र रुघा लाग्ने समस्या तत्कालै निम्तिन्छ। त्यसबाहेक फोक्सोको समस्या भएका दीर्घरोगीलाई यो समस्याले बढी सताउँछ।  

‘फोक्सोका दीर्घरोगीलाई यो प्रदूषण निकै नै घातक हुन्छ। यसले फोक्सोको क्षमता कमजोर बनाउँछ। त्यसबाहेक रुघा लाग्ने र आँखा पोल्ने समस्या धेरैलाई हुन्छ,’ आचार्यले भने, ‘फोक्सोका दीर्घरोगीलाई त यसले सकस नै थप्छ।’ 

आचार्यका अनुसार अहिले पोखराका अस्पतालमा छातीका बिरामी पनि थपिएका छन्। एकसाताको अन्तमा छातीका बिरामीको संख्या कम्तिमा ३० प्रतिशत बढेको उनले बताए। ‘अस्पतालमा छातीको समस्या लिएर आउने बिरामी बढिरहेका छन । प्रदूषणका कारण यो अवस्था आएको हो,’ उनले भने।  

पर्यटन व्यावसायी पनि पोखरा दिनहुँ प्रदूषित हुन थालेसँगै चिन्तित बनेका छन। होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन, ‘पोखरामा सबैभन्दा बढी वायु प्रदूषण बनाउन नगरबसको भूमिका रहेछ धुँवाको मुस्लो फ्याक्दै गुड्ने सवारीका कारण अहिले बजारमा हिडडुल गर्न नसकिने अवस्था छ। नगरबसको पछाडि हिड्नु्पर्दा धुँवाको मुस्लोले भेट्छ।’  

पोखरामा सवारीको भीडभाड बढ्नु, मुस्लो फ्याक्ने सवारी घटाउन नसक्नु, पोखरा भित्रिने मुख्य राजमार्ग निर्माणाधीन अवस्थामा रहनु, पोखराभित्रका रुख विरुवा काटिनु, वृक्षरोपण नहुनु, आसपासका क्षेत्रमा डढेलो लाग्नु, पानी नपर्नु लगायतका कारणले पोखरा प्रदूषित भएको उनले बताए।

‘पोखरा पर्यटकीय राजधानी भनिएको छ। तर, स्वच्छ वातावरणमा बस्न पाउने अवस्था छैन। पर्यटन क्षेत्र सिजनको मुखमा छ। अबको एकसातापछि पर्यटकीय सिजन सुरु हुँदै गर्दा पर्यटकीय सहर प्रदूषणको चपेटामा पर्ने देखिएको छ,’ उनले भने, ‘यस्तो प्रदूषणका कारण पोखरा आउने पर्यटक पनि प्रभावित हुनसक्छन। त्यसको मार पर्यटन क्षेत्रले खेप्न बाध्य हुनेछ।’

वातावरण विभागका अनुसार वायु गुणस्तर सूचकांक ०–५० हुँदा राम्रो मानिन्छ। ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै नै अस्वस्थ तथा ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्ने विभागको भनाई छ। वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेषगरि बालबालिका, वृद्धवृद्धा एवं स्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव पार्ने भएकोले सचेत हुनुपर्ने विभागको भनाई छ। पोखराको वायु गुणस्तर सूचकांक ३६१ भएकोले खतरनाक अवस्थामा रहेको विभागको भनाई छ।  

प्रकाशित: ११ फाल्गुन २०८१ १८:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App