सुनसरीको देवानगञ्ज गाउँपालिका-२ मा शनिबार ऐलानी जग्गामा बसोबास गर्ने परिवारको घर खाली गराउने क्रममा प्रहरीसँग झडप भएको छ।
जिल्ला अदालत सुनसरीको आदेश कार्यान्वयन गर्न पुगेको प्रहरी र कर्मचारीको टोलीमाथि स्थानीयले आक्रमण गरेपछि स्थिति तनावपूर्ण बनेको हो।

झडपका क्रममा ऐलानी जग्गामा बसोबास गर्ने विश्वेश्वर रामको परिवारले आफैंले परालमा आगो लगाएर प्रहरीसँग विवाद बढाएको इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक कमल विष्टले बताए।
स्थानीयले प्रहरीमाथि माटोको डल्लाले प्रहार गरेपछि करिब दुई घण्टासम्म झडप भएको स्थानीय पत्रकार जुगेसकुमार मेहताले जानकारी दिए। प्रहरी निरीक्षक विष्टका अनुसार, स्थानीयले परालमा आगो लगाएर निहुँ खोजेपछि मानवीय क्षति रोक्न तत्काल घर खाली गराउने कार्य रोकिएको छ।

उनले भने, “अब थप सुरक्षा रणनीति बनाएर मानवीय क्षति नहुने गरी घर खाली गराउने प्रक्रिया अघि बढाइनेछ।”
देवानगञ्ज-२ को सडक छेउको ऐलानी जग्गामा सुकुम्बासी परिवारले एक दशकदेखि घर बनाएर बसोबास गर्दै आएका छन्। उनीहरूले बनाएको घरको पछाडि रहेको निजी जग्गामा आवतजावतमा अवरोध गरेपछि जग्गाधनीहरूले अदालतमा मुद्दा दायर गरेका थिए।

अदालतको आदेशपछि खाली गराउन प्रहरी र कर्मचारीको टोली पुगेको थियो। ऐलानी जग्गामा बसोबास गर्ने परिवारले घर खाली गर्न दुई महिनाको समय माग गरेका थिए। तर, अदालतका कर्मचारीका अनुसार पटकपटकको अटेरिपछि बाध्य भएर आदेश कार्यान्वयनमा जुटिएको हो।
स्थानीय र प्रहरीबीचको यो झडपले ऐलानी जग्गाको विवाद फेरि चर्चामा आएको छ। प्रहरीले आगामी दिनमा थप सुरक्षा व्यवस्थासहित प्रक्रिया अघि बढाउने जनाएको छ।
प्रकाशित: १६ चैत्र २०८१ १८:२९ शनिबार