३ वैशाख २०८२ बुधबार
image/svg+xml १३:२ अपराह्न
समाज

२० करोडको लागतमा जुगाडखोला करिडोर निर्माण सुरु

जुम्लाको सदरमुकाम खलंगाको बीच भागमा बग्ने जुगाडखोलालाई स्वच्छ, सफा र कन्चन बनाउने उद्देश्यले जुगाडखोला करिडोर निर्माणको काम सुरु भएको छ। पछिल्लो समय फोहोर र प्रदूषित बन्दै गएको जुगाडखोलालाई आकर्षक बनाउन यो करिडोरले महत्वपूर्ण भूमिका खेल्ने चन्दननाथ नगरपालिकाले बताएको छ। 

उक्त करिडोरको शिलान्यास गर्दै चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले पर्यटन प्रवर्द्धनमा यो करिडोरले ठूलो योगदान पुर्‍याउने विश्वास व्यक्त गरेकी छिन्। उनले भनिन्, ‘जुगाडखोला करिडोर आफैंमा एउटा पर्यटकीय स्थल बन्नेछ। कन्चन जुगाडखोलाको सुन्दर दृश्यले सबैको मन लोभ्याउनेछ।’

करिडोरमा पर्यटकीय पूर्वाधार निर्माणका लागि रेखांकनको काम पनि सुरु भइसकेको छ। चन्दननाथ(५ मा रहेको खानेपानी उपभोक्ता समितिको कार्यालय नजिकैबाट डोजर प्रयोग गरेर काम थालिएको हो। बहुवर्षीय योजनाअन्तर्गत यो करिडोरका लागि पहिलो चरणमा ६ करोड रुपैयाँ विनियोजन गरिएको छ। 

चालु आर्थिक वर्षमा ३ किलोमिटर करिडोर निर्माण हुने नगरप्रमुख राजुसिंह कठायत बताउँछन्। खानेपानी उपभोक्ता समितिको कार्यालयदेखि चन्दननाथ-४ को मालाभिडसम्म दायाँ-बायाँ २ मिटर चौडा करिडोर यो वर्षभित्रै तयार हुने उनको भनाइ रहेको छ। 

‘करिडोर क्षेत्रमा पर्ने सार्वजनिक जग्गामा बनेका संरचना हटाउन नगरपालिकाले पत्राचार गरिसकेको छ। यस्ता संरचना तत्काल भत्काउन अनुरोध गरिएको छ,’ नगरप्रमुख कठायतले भने, ‘अन्यथा डोजर प्रयोग गरेर हटाउनुपर्ने बाध्यता आउनेछ।’ 

चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाका अनुसार सहकारी विकास तथा भवन निर्माण आयोजनाको २० करोड सहयोगमा करिडोर निर्माण हुनेछ। जुगाडखोलालाई स्वच्छ र हरियाली बनाउने लक्ष्यअनुसार नगरपालिकाले प्राथमिकताका साथ काम अघि बढाएको उनको भनाइ छ। 

जुगाडखोला करिडोरमा स्टेट लाइट, सीसी क्यामरा र बीच-बीचमा प्रतिक्षालय निर्माण गरिनेछ। सबैले करिडोरमा मर्निङवाक गर्न मिल्ने गरी पूर्वाधार बनाउन थालिएको छ।

‘खोलाको दायाँ-बायाँ २-२ मिटर चौडा करिडोर बन्नेछ,’ नगरप्रमुख कठायतले भन्नुभयो, ‘खोलाको २ मिटर दूरीभित्र पर्ने घर(टहरा हटाउनुपर्नेछ। अहिले जुगाडखोला फोहोर फाल्ने ठाउँजस्तो भएको छ। खोलामाथि अतिक्रमण गरेर संरचना बनाइएका छन्।’ 

तिला नदीदेखि नै करिडोर सुरु गर्ने योजना भए पनि पहिलो चरणमा खेतीयोग्य जमिनलाई असर नपर्ने नीति लिइएको छ। करिडोर ‘टी’ आकारको हुने जानकारी दिइएको छ।

प्रकाशित: ९ फाल्गुन २०८१ १४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App