१३ पुस २०८२ आइतबार
image/svg+xml
समाज

काठमाडौंमा पाकिस्तानको ‘८५ औं राष्ट्रिय दिवस’ : नेतादेखि न्यायाधीशसम्म सहभागी

नेपालमा पनि पाकिस्तानको ‘८५ औं राष्ट्रिय दिवस’ भव्यताका साथ मनाइएको छ। काठमाडौंस्थित पाकिस्तान दूतावासले मंगलबार ८५ औं राष्ट्रिय दिवसको उत्सव आयोजना गरेको थियो। उपराष्ट्रपति राम सहाय प्रसाद यादवले कार्यक्रमको उद्‌घाटन गरे। 

दूतावासका अनुसार कार्यक्रममा उपराष्ट्रपति यादवसँगै प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राणा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार विष्णु रिमाल, सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल र पूर्वउपप्रधानमन्त्री सीपी मैनाली लगायत विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहेको थियो। 

सो कार्यक्रममा सहभागि भएपछि भट्टराईले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘पाकिस्तानका मित्रवत जनता र सरकारलाई ८५ औं राष्ट्रिय दिवसको शुभकामना। काठमाडौंमा आयोजित शान्त र ज्ञानवर्धक उत्सव कार्यक्रममा उपस्थित हुन पाउँदा खुशी लाग्यो।’ 

सो अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच हाशमीले पाकिस्तान अन्तर्राष्ट्रिय समुदायसँग मिलेर आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गरे। हाशमीले नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई हिमालयदेखि सांस्कृतिक समानतासम्मको विशेष मिश्रणको रूपमा वर्णन गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, रक्षा, जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा भएको सहकार्यले दुई देशलाई झन् नजिक ल्याउने आशा पनि व्यक्त गरे। कार्यक्रममा नेपाली सेनाको ब्यान्ड पनि थियो।

तस्बिर : नेपालस्थित पाकिस्तान दूतावासको पेजबाट 

प्रकाशित: ३ वैशाख २०८२ १२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App