१६ चैत्र २०८१ शनिबार
image/svg+xml १५:१९ अपराह्न
समाज

पर्यटकीय राजधानीको सडकमा फोहोरको डंगुर

उठेन पोखराको फोहोर

पोखराको व्यस्तमध्येको पालिखेचोकमा सडकमा थुप्रिएको फोहोर। पोखरा महानगरपालिकाले व्यवस्थापन गर्न नसक्दा पोखराको सडकभरी फोहोर थुप्रिएको छ । तस्बिरः सन्तोष/नागरिक

पर्यटकीय राजधानी पोखराको सडकमा यतिबेला फोहोरको डंगुर देख्न सकिन्छ। नियमित रुपमा फोहोर व्यवस्थापन गरिरहेको ठाउँमा स्थानीयको अवरोध भएपछि केहीदिनदेखि पोखरा सहरको फोहोर उठेको छैन। पर्यटकीय सहर पोखराको मुख्य र भित्री सडकको चोकचोकमा यतिबेला फोहोरको थुप्रो लागेको छ। चोकचोकमा फोहोरको थुप्रो थपिँदै जाँदा यहाँ दूर्गन्ध फैलिन थालेको छ। 

बजारको मुख्य सडकमा अहिले फोहोरका पोका यत्रतत्र देख्न सकिन्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने बेलामा पोखरा महानगरपालिकाले १४ नम्बर वडाको बाच्छेबुडुवास्थित पुरानो ल्याण्डफिलसाइट बन्द गरेर पोखरा–३२ को लामेआहालस्थित सेतीनदि किनारमा फोहोर व्यवस्थापन गर्न थालेको थियो। स्थानीयको विरोधका बाबजुत पनि महानगरले बढिमा ६ महिनाका लागि भन्दै त्यहाँ फोहोर खसाल्न थालेको थियो।  

६ महिनाभित्र स्थायी संरचना बनाउने र त्यसपछि लामेआहालमा पनि फोहोर फ्याक्न छाड्ने भनेर महानगरले त्यो बेला स्थानीयलाई आश्वासन दिएको थियो। तर, त्यो अनुसार काम नगरेको महानगरले दोश्रोपटक म्याद थपेर स्थानीयसँग सम्झौता गर्दै उक्त स्थानमा फोहोर फाल्दै आएको थियो। तर, अहिले सम्झौताको म्याद सकिएको भन्दै स्थानीयले फोहोर रोकेका छन्।

पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले महानगरले सम्झौता गरेअनुसार काम नगरेको र बजेट नदिएपछि स्थानीयले फोहोर खसाल्न रोकेको बताए। उनका अनुसार माघ २३ गते प्रभावित क्षेत्र र महानगरबीचको यसअघिको सम्झौता सकिएको थियो। ‘पुरानो सम्झौता अनुसार काम नभएको र वडा कार्यालयले पाउनुपर्ने बजेट नदिएकोले स्थानीयले फोहोर रोकेका हुन। ६ महिनाका लागि मात्र फोहोर खसाल्ने भनेको महानगरले विगत २ वर्षदेखि यहाँ फोहोर खसालिरहेको छ,’ उनले भने, ‘सम्झौता अनुसार बजेट पनि दिएको छैन। अरु वडालाई दिने बजेट भन्दा कम बजेट दिएको छ।’  

कार्कीका अनुसार महानगरले फोहोर व्यवस्थापन गरेबापत ३२ नम्बर वडालाइ वार्षिक पाँचकरोड रुपैयाँ त दिएको छ, तर, अरु नियमित बजेट भने कटौती गरेको छ। ‘फोहोर खसालेबापत पैसा त दियो, तर, अरु रकम भने कटौताी गरिदियो। जबकी अरु वडा कार्यालयले ३२ नम्बर वडाको तुलनामा निकै नै धेरै बजेट पाउँछन,’ उनले भने। फोहोर व्यवस्थापन गर्ने विषयमा बारम्बार छलफल चलेको भएपनि अहिलेसम्म सहमति नजुटेको उनले बताए।  

सकेसम्म लामेआहालमा फोहोर नै नल्याउन पाए हुन्थ्यो भन्ने स्थानीयको भनाई रहेको पनि उनले बताए। यसअघि पनि स्थानीयले लामेआहालमा फोहोर खसाल्न अवरोध गर्दै आएका थिए। प्रभावित क्षेत्रमा विकास निर्माणका काम नगरेको, प्रदूषण रोक्नका लागि पहल नथालेको भन्दै बेलाबेला प्रभावित क्षेत्रका बासिन्दाले फोहोर खसाल्न अवरोध गर्दै आएका छन।  

पोखरा महानगरका सरसफाई शाखाका प्रमुख बलराम पाठकले पनि स्थानीय र महानगरबीच वार्ता चलिरहेकोले आशावादी हुन सकिने बताए। ‘फोहोर खसाल्न रोकेदेखि नै वार्ता चलिरहेको छ। अब छिटै सम्झौता हुनेछ भन्नेमा हामी आशावादी छौ। अहिले नै सहरको फोहोर उठेको भने छैन,’ उनले भने। 

पोखरामा दिनमा १ सय ५० देखि २ सय टन फोहर उठ्छ। यसमा औद्योगिक क्षेत्र र अस्पतालको फोहोर पर्दैन। पोखराभित्रको फोहोर दिनहुँ २० वटा गाडीमार्फत उठाइन्छ। महानगरले विभिन्न ६ वटा निजी कम्पनिलाई फोहोर संकलन गर्ने जिम्मा दिएका छन्। हरेक घरबाट शुल्क उठाएर ती कम्पनिले फोहोर संकलन गर्दै आएका छन्।  

पाठकका अनुसार गत आइतबार मूल सडकको फोहोर उठाएर गाडीमा भरेर राखेको भएपनि त्यसपछि उठेको छैन। गाडीमा भरेको फोहोर गाडीमै थन्किएको छ, कतै व्यवस्थापन गरिएको छैन। ‘फोहोर व्यवस्थापन संवेदनशील हो। त्यसैले जहाँ पायो त्यही लगेर खसाल्ने कुरा रहन्न। वार्ता भएर सहमति भएपछि तत्काल फोहोर उठ्नेछ,’ उनले भने, ‘भएभरका सवारी परिचालन गर्ने हो भने घरघरमा थुप्रिएको फोहोर एकैदिनमा उठिसक्छ। तर, त्यसका लागि सम्झौता महत्वपूर्ण छ।’  

महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीका अनुसार महानगरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने तयारी भएपछि दुइवर्ष अघि पोखरा–३२ लामेआहाललाई अस्थायी ल्याण्डफिल साइट बनाइएको थियो। प्रभावित क्षेत्रमा विकास निर्माणमा प्राथमिकता दिने लगायतका सम्झौता त्यो बेला महानगर र स्थानीयबीच भएको थियो। ‘प्रभावित क्षेत्रका बासिन्दासँगको सम्झौतको म्याद सकिएको छ। विमानस्थल आउने भनेपछि अस्थायी ल्याण्डफिल साइटका रुपमा लामेआहालामा फोहोर बिर्सजन गर्न थालिएको हो,’ तिवारीले भने, ‘तर, बीचबीचमा अकेन सर्त अघि सारेर स्थानीयले अवरोध गरिरहेका छन्।’ स्थानीयसँग भएको सम्झौता बमोजिम काम नभएको स्थानीयको आरोप रहेको उनले बताए।  

तिवारीका अनुसार ल्याण्डफिल साइट भएकोले उक्त वडाले अरु वडाको तुलनामा वर्षेनी पाँचकरोड रुपैयाँ अतिरिक्त बजेट पाउँछन। त्यो नियमित बाहेकको बजेट हो। ‘वडामार्फत प्रभावित क्षेत्रमा काम गर्नका लागि महानगरले बजेट दिएको छ। तर प्रभावित क्षेत्रमा सबै बजेट खर्च नभएको भन्ने स्थानीयको गुनासो छ। वडा कार्यालयले पनि फोहोरका नाममा आएको सबै बजेट ठ्याक्कै ल्याण्डफिल प्रभावित ठाउँमा खर्च नगरि अन्यत्र पनि खर्चेको छ,’ उनले भने, ‘प्रभावित क्षेत्रले आफ्नो ठाउँका लागि भनेर आएको बजेट अन्यत्र लगेको गुनासो छ। प्रभावितले आफ्नो क्षेत्रमा मात्र त्यो बजेट खर्च होस भन्ने चाहेका हुन सक्छन। तर, वडाले भने त्यो बजेट अन्यत्र पनि खर्चेको छ। त्यसको असन्तुष्टि फोहोर रोकेर पोखिएको छ।’  

पोखरामा फोहोरको स्थायी  व्यवस्थापनका लागि पोखरा–३३ भरतपोखरीमा प्रशोधन केन्द्र बनाउने भन्दै जग्गा प्राप्तीको प्रक्रिया अघि बढाएको पनि तिवारीले जानकारी दिए। सार्वजनिक निजी साझेदारी अन्तर्गत रहेर आशयपत्र माग गरेको पनि उनले बताए। ‘महानगरले पोखराको फोहोरको स्थायी व्यवस्थापन चाहेको छ। तर, त्यो अनुसार हुन सकेको छैन,’ उनले भने।  

 

प्रकाशित: २९ माघ २०८१ १७:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App