२० चैत्र २०८१ बुधबार
image/svg+xml ९:२ पूर्वाह्न
स्वास्थ्य

निजी औषधि पसलहरूलाई पनि बिमामा समावेश गराउन माग

व्यवसायीहरूले स्वास्थ्य बिमाबाट पनि निजी औषधि पसलहरूमा औषधि किन्न पाउने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। हाल एक लाखको स्वास्थ्य बिमा हुँदा नै आफूहरू पसल बन्द गरेर हिँड्नुपर्ने नाजुक अवस्था आएको भन्दै उनीहरूले स्वास्थ्य बिमा एकबाट पाँच लाख भएपछि पसल बन्द नगर्नुको विकल्प नरहने बताए।

औषधि व्यवसायी संघ भक्तपुर जिल्ला शाखाको शनिबार भक्तपुरमा भएको चौथौं साधारण सभाका प्रमुख अतिथि संघका बागमती प्रदेशका अध्यक्ष ध्रुबनारायण श्रेष्ठले यसका लागि आफूहरूले नेपाल सरकारको पनि ध्यानाकर्षण गराइसकेको जानकारी गराए। 'सरकारले हाम्रो माग सम्बोधन गर्ने हाम्रो गहिरो विश्वास छ,' उनले भने।

भक्तपुरमा दिइएको जानकारी अनुसार भक्तपुर जिल्लामा ६ सयभन्दा बढी औषधि पसलहरू छन्। औषधि व्यवस्था विभागमा दर्ता भएर भक्तपुरमा सञ्चालनमा रहेका औषधि पसलहरूको संख्या ६ सयभन्दा बढी रहेको तर तीमध्ये सबैभन्दा बढी भक्तपुर नगरपालिका क्षेत्रमा रहेको बताइयो। त्यसपछि मध्यपुर थिमि नगरपालिका क्षेत्रमा बढी पसल छन्। जिल्लामा यी बाहेक सूर्यविनायक र चाँगुनारायण नगरपालिकाहरू छन्। संघमा भने एक सय ६५ वटाको संख्यामा मात्रै आबद्धता रहेका जनाइएको छ।

कार्यक्रममा संयुक्त रूपमा क्यालेण्डर पनि विमोचन गरिएको थियो। कार्यक्रममा बागमती प्रदेशका महासचिव राजु श्रेष्ठ, काठमाडौँका अध्यक्ष शंकर महर्जन, ललितपुरका अध्यक्ष इन्द्रवीर महर्जन, काभ्रेका अध्यक्ष श्याम तिमिल्सना, रामेछाप दोलखा सदस्य मदन भौकाजीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रम जिल्ला सभापति नारायणप्रसाद भुसालको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रकाशित: १६ चैत्र २०८१ १५:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App