काठमाडौं महानगरपालिकाले तीनकुने–कोटेश्वर–जडीबुटी क्षेत्रमा शुक्रबार भएको राजावादी प्रदर्शनका क्रममा पुगेको क्षतिको विवरण सङ्कलन थालेको छ।
दुर्गा प्रसाईंको आह्वानमा भएको प्रदर्शनमा तोडफोड, आगजनी र अराजक गतिविधिहरू भएपछि महानगरले शनिबार बिहानैदेखि अनुगमन सुरु गरेको हो।
मेयर बालेन शाहको सचिवालयका अनुसार महानगरको टोलीले सरकारी तथा निजी सम्पत्तिमा पुगेको क्षतिको विवरण सङ्कलन गरिरहेको छ। प्रदर्शनकारीहरूले नगरपालिकाको सम्पत्ति बिगारेको, सडक फोहोर पारेको, ट्राफिक लाइट र आयरल्याण्ड भत्काएको, दमकल तोडफोड गरेको तथा चालकलाई घाइते बनाएको विवरण सङ्कलित भएको छ।
महानगर स्रोतका अनुसार प्रदर्शनका कारण करिब १० लाख रुपैयाँभन्दा बढीको जरिवाना लगाउने तयारी छ। यसअघि, शुक्रबार राति नै क्षतिको विवरण सङ्कलन गर्ने योजना भए पनि निरन्तर जारी प्रदर्शनका कारण शनिबार बिहान मात्रै टोली परिचालन गरिएको थियो।
यसैबीच, शनिबार बिहानै महानगरपालिकाले सडकमा रहेका फोहोर सरसफाइ गरिसकेको जनाएको छ।
प्रकाशित: १६ चैत्र २०८१ १५:०१ शनिबार