किसानकी छोरी उनका घरमा टन्नै मकै हुन्थे। मकै छोडाउँदा छरिएको खोस्टा यसै खेर जान्थ्यो। घरआँगन फोहोर पनि हुन्थ्यो। त्यही खेर गएका खोस्टामा पाटनकी लक्ष्मी नकर्मीले व्यवसायको कला मिसाइन्। फोहोर हुने खोस्टा मोहोर बनेर चम्केको छ।
‘मकैका खोस्टाबाट बनाएका कलाकृतिले वार्षिक २० लाख जति आम्दानी मिलेको छ,’ लक्ष्मीले भनिन्, ‘यसमा झन्डै एक दर्जनले रोजगारी पाएका छन्।’
विभिन्न जातजातिका कलात्मक आकृति र खेलौना बनाउँदै आएकी उनले यसले समाजका अन्य व्यक्तिलाई खुसी दिएको सुनाइन्। समाजमा केही गर्ने सोच पहिलेदेखि नै भएको तर त्यसलाई खोस्टाले पूरा गरिदिएको उनले सुनाइन्। ‘शारीरिक अशक्तता भएका तथा ज्येष्ठ नागरिकले पनि काम पाउनुभएको छ,’ उनले भनिन्, ‘किन्नेले पनि रमाउँदै किन्ने गरेका छन्।’
स्कुल अफ म्यानेजमेन्ट, त्रिभुवन विश्वविद्यालय (एसओएम टियु) ले शुक्रबार कीर्तिपुरमा आयोजना गरेको ‘दोस्रो सामाजिक व्यवसाय प्रदर्शनी २०२५’ मा भेटिएका अधिंकाशको सपना उनको जस्तै थियो। अरूले सामान्य ठानेको र वास्ता नगरेका विषयलाई समाएर उनीहरू सपना पूरा गरेका भेटिए।
उनले यसो भन्दै गर्दा छेउमा फरक सपना मगमगाइरहेको थियो। फूलप्रसाद नाम गरेको उक्त कम्पनीले पशुपतिनाथ मन्दिरलगायतका स्थानमा छरिएका तथा ओइलाएका फूल बटुलेर सुगन्धित धूप निर्माण गर्ने गरेको छ। ‘खेर गएका फूलहरू प्रयोग गरेर धूप बनाउँदा मन्दिर परिसर सफा भएको छ भने आम्दानी पनि बढेको छ। ‘खेर गएका फूलका पत्रबाट धूप बनाउने कार्यमा २० भन्दा बढीले रोजगारी पाएका छन्, स्टलमा भेटिएका समुन्द्रराज अर्यालले भने, ‘सकारात्मक सोचका साथ गरिएको यो कार्य सुनेर पनि धूप किन्ने धेरै भएका छन्।’

व्यवसाय सुरु गर्न सहज अवस्था पर्खनुपर्दैन। अप्ठेरो अवस्थाबाट पनि व्यवसायको जन्म हुन्छ भन्ने उदाहरण थियो– आमा क्रिएसन। कोभिडको बेलाकी सुत्केरी सुरुचि खाँडलाई बच्चालाई सहज हुने कपडाको अभाव भयो। त्यसैले उनले नानीहरूका लागि सहज हुने मलमलका नरम कपडाबाट विभिन्न थरीका सामग्री उत्पादन गरिन्। ‘छोरीको यो उत्पादन अहिले जापान, अस्ट्रेलिया लगायत विभिन्न देशमा पुग्ने गरेको छ,’ स्टलमा भेटिएकी सुरुचिकी आमा मिरा बस्नेतले भनिन्, ‘छोरीको यो क्रियसनलाई माया गरेर मैले पनि सघाउन थालेकी छु।’
कीर्तिपुरस्थित स्कुल अफ म्यानेजमेन्टले ‘दिगोपनको यात्रा’ भन्ने विषयअन्तर्गत सुरु गरेको यो कार्यक्रमले नेपालमा सामाजिक व्यवसायलाई प्रवर्धन गर्ने, उद्यमशीलतालाई बढवा दिने र दिगो व्यावसायिक अभ्यासको सम्भावनालाई उजागर गर्ने लक्ष्य राखेको कार्यक्रम संयोजक सन्तोष लामिछानेले बताए।
कार्यक्रममा विभिन्न सामाजिक व्यवसायीहरूले आफ्नो उत्पादन तथा सेवाहरूको प्रदर्शनी गरे। सहभागी व्यवसायीहरूमा रि–कृति, कास्य ज्वेलरी, फूलप्रसाद, क्रोचेट क्रिएसन, सिस्टर क्रिएसन, अनुग्रह ह्यान्डिक्राफ्ट, साम ज्वेलरी, भाङ्ग्रो, दिगो नेपाल, विन्टर ग्रिन टी, लच्छी, भूमिथान, मानुषी, जाम्बाला, आमाज क्रिएसन, सुखावती, किपा ज्यसा स्टुडियो, गृहिणी फुड उद्योग, द बी किपिङ सप, न्यु डिजाइन, समिट नेपाललगायतका स्थानीय उद्यम थिए। रि–कृतिले पनि खेर गएका कपडाका टुक्राबाट आकर्षक ब्याग बनाएर बेच्ने गरेको छ।
‘खेर गएका मात्र होइन, फाटेका जिन्सबाट पनि हामीले कच्चा पदार्थ बनाउने गरेका छौं,’ हिमांशु श्रेष्ठले भने, ‘खेर जाने कपडाका टुक्राबाट व्यवसायको सपना पूरा भएको छ।’
पछिल्लो समय नयाँ पिँढीमा व्यापारको नशा चढेको छ। उनीहरूले नयाँनयाँ क्रियसनमार्फत बजारमा पकड जमाउन थालेका छन्। यसैमध्येको अर्को एक व्यवसाय देखियो–भाङ्ग्रो। नशाजन्य उत्पादन भाङको बोटबाट रेसा निकालेर निर्माण गरिएको यसका सामग्री बजारमा लोकप्रिय बनेको उनीहरू बताउँछन्।
.jpg)
‘नराम्रोभित्र पनि राम्रो पक्ष हुन्छन्,’ भाङ्ग्रोको स्टलमा भेटिएकी एलिजा क्षेत्रीले भनिन्, ‘हामीले भाङको नशालाई छाडेर यसको रेसालाई व्यवसायमा ल्यायौं।’ बाजुरा, रोल्पालगायत जिल्लाबाट भाङको बोटका रेसा मगाएर राजधानीमा विभिन्न हस्तकलाका सामग्री निर्माण गरिँदै आएको उनले सुनाइन्। ‘व्यापार पनि नशा हो,’ ऐलिजाले भनिन्, ‘यस्तो नशा जसले समाजलाई सम्हालिन सहयोग पुर्याउँछ।’
स्कुल अफ म्यानेजमेन्ट, टियुका एमबिए २३ औं ब्याचका विद्यार्थीहरूले प्रदर्शनी आयोजना गरेका हुन्। आयोजकका अनुसार यस कार्यक्रमले दिगो स्थानीय व्यवसायलाई प्रवर्धन गर्न र उद्यमशीलता विकासलाई प्रोत्साहन गर्ने मञ्चको रूपमा काम गर्नेछ।
यस्तै प्रोत्साहनको कुरा गर्दा कास्य ज्वेलरीको झनै सुनौलो कथा छ। उनीहरूले ज्वेलरी तालिममार्फत महिला सशक्तीकरणको बाटोमा लागेको यो संस्थाले पछि परेका नारीलाई मूलधारमा ल्याउने कोसिस गर्दैछ। ‘महिलालाई दयाभन्दा सिपको खाँचो छ,’ साधना पोखरेलले भनिन्, ‘हामीले सिप सिकाएर रोजगारीको बाटो खोलिदिएका छौं।’
विभिन्न हिंसाबाट सिकार भएका महिलालाई प्राथमिकतामा राखेर अगाडि बढेको उनले सुनाइन्। ‘सपनाहरू कहिल्यै खेर जाँदैनन्,’ पोखरेलले भनिन्, ‘बेचिएर फर्किएकाहरू पनि तालिम लिएर सपनाको नयाँ बाटोमा हिँड्दै छन्।’
प्रकाशित: २६ माघ २०८१ १०:४३ शनिबार