छठ पर्वअन्तर्गत दोस्रो दिन आज खरना मनाइँदैछ । पञ्चमी तिथिमा पर्ने ‘खरना’को अर्थ संरक्षण अर्थात् पापको क्षय हो।खरनाको दिन व्रतालु दिनभरि निर्जला बस्छन् अनि साँझपख नुहाएर चोखो भई आफ्नो कुल देवता स्थापना गरेको पूजा कोठामा जान्छन्।त्यहाँ नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गर्छन्। प्रसादका रुपमा विशेषगरी पाकेको केरा र पायस (खिर) लिने चलन छ।
यो दिन व्रतालुले आँगनमा गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गर्ने गर्छन्।अनि राति चन्द्रोदयपछि चन्द्रमालाई पायस चढाइ सोही प्रसाद ग्रहण गर्छन्।यसदिनपछि व्रतालुले पूर्ण व्रत लिनुपर्दछ।
छठको तेस्रो दिन अर्थात षष्ठीमा गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान–पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री तयार गरिन्छ।
छठको चौथो तथा अन्तिम दिनलाई पारन (पार्वण)भनिन्छ।यसदिन बिहान उषाकालमा व्रत लिनेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याउँछन्।प्रातःकालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ। छठ पूजाका लागि अहिले मिथिलाञ्चलसहितका अन्य क्षेत्रमा ताल, तलैया र पोखरी झकिझकाउ हुने गरी सिंगारिएको छ।दिपावली तिहारको रौनक नसक्दै छठ पर्वको तयारी सुरु हुन्छ।
पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकामना पूरा हुने विश्वासका साथ सूर्यको उपासना गरी यो पर्व मनाइन्छ।छठ पर्व सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्ने चाड रहेको मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीको भनाइ छ।
चारदिने छठ पर्वको पहिलो दिन मंगलबार व्रतालुले नहाखाय मनाए । यो दिन उनीहरूले नुहाएर चोखो बस्त्र धारण गरी प्याज र लसुन बिनाको अरबा चामल सेवन गरेका थिए।
पहिलो दिन चतुर्थीलाई ‘अरबा–अरबाइन’ पनि भनिन्छ।यो दिनमा व्रतालुले खोला, नाला, नदी, पोखरी र तलाउ लगायतका जलाशयमा गई नुहाइधुवाई गरेर शुद्ध भई चोखो खाना खाएका थिए।
प्रकाशित: २१ कार्तिक २०८१ ०७:५७ बुधबार