नेपाल नम्बर एक प्रोफेसनल गल्फर नीरज तामाङले सूर्य नेपाल इस्टर्न ओपनमा लगातार दोस्रो दिन पनि शीर्षस्थानमा अग्रता कायमै राखेका छन्।
सूर्य नेपाल गल्फ टुर (२०२५–२६) को दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनमा उनले पाँच स्ट्रोकको अग्रतासहित शीर्ष स्थान कायम राखेका हुन्। उनले बिहीबार ६ अन्डर ६४ को उत्कृष्ट स्कोर प्रदर्शन गरे। यससँगै नीरजले एमेच्योर गल्फर राहुल विश्वकर्मामाथि पाँच स्ट्रोकको अग्रता बनाएका हुन्।
समग्रमा उनी १२ अन्डर १ सय २८ को लोभलाग्दो कार्डमा छन्। राहुलले पनि ६ अन्डर ६४ को स्कोरमा खेल्दै दोस्रो दिनको खेल पूरा गरे। समग्रमा राहुल सात अन्डर १ सय ३३ को कार्डमा छन्। नीरजले आफ्नो घरेलु कोर्समा लागातार उत्कृष्ट प्रदर्शन गरेका हुन्। फ्रन्ट नाइनमा नीरजको नाममा ६ बर्डी रह्यो। उनले दोस्रो, तेस्रो, पाँचौं, छैटौं, आठौं र नवौं होलमा बर्डीको पाएका हुन्।
उनले ११औं होलमा पनि एक सट बचाए। तर, १५औं होलको बोगीले नीरज ब्याक नाइनमा इभन पार ३४ मा रहे। स्थानीय प्रो. शुक्रबहादुर राई र टंकबहादुर कार्की संयुक्त रूपमा तेस्रो स्थान बाँडे। यी दुई समग्रमा चार अन्डर १ सय ३६ को स्कोरमा छन्।
शुक्रले तीन अन्डर ६७ र टंकले एक अन्डर ६९ मा दोस्रो दिनको खेल सकाए। दिनेश प्रजापति चार अन्डर ६६ मा रहे। यससँगै समग्रमा तीन अन्डर १ सय ३७ सहित उनी पाँचाैं स्थानमा छन्। रवि खड्का, भुवन नगरकोटी र बलभद्र राईले संयुक्त रूपमा छैटौं स्थान बाँडे। समग्रमा यी तीन गल्फर एक अन्डर १ सय ३९ को कार्डमा छन्।
दोस्रो दिन रविले एक अन्डर ६९, भुवनले इभन पार ७० र बलभद्रले दुई ओभर ७२ को स्कोरमा खेले। एमेच्योर गल्फरद्वय पदम हाङ लिम्बू र प्रकृत तामाङ (समग्रमा दुई ओभर १ सय ४२ स्कोरका साथ) संयुक्त रूपमा नवौं स्थानमा रहे।
३६ होलको समाप्तीमा १७ प्रो. र सात एमेच्योर गल्फरले कट (११ ओभर १५१ सम्म स्कोर गरेका) पार गरे। एमेच्योरतर्फ राहुल सात अन्डर १३३ स्कोरसहित शीर्ष स्थानमा छन्। उनी पदमहाङ र प्रकृतभन्दा ९ स्ट्रोकले अगाडि छन्। तीन दिनसम्म चल्ने प्रतियोगितामा कुल ५४ होलमा प्रतिस्पर्धा हुँदैछ। विजेताले १ लाख ७० हजार, उपविजेताले १ लाख २५ हजार र तेस्रो हुनेले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
प्रकाशित: २ माघ २०८२ १०:५२ शुक्रबार





