१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बाढीबाट प्रभावित काभ्रेका तीन पालिकालाई काठमाडौं महानगरको २०/२० लाख सहयोग

काभ्रेपलाञ्चोक जिल्लाका बाढी प्रभावित ३ वटा स्थानीय तहलाई बाढीजन्य विपदबाट पुगेको क्षति पुनःस्थापना तथा सङ्कट व्यवस्थापन गर्न राहतका लागि काठमाडौँ महानगरपालिकाले २०/२० लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने भएको छ। 

महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले पालिकाहरूको कोषमा सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो। यसरी सहयोग प्रदान गरिने पालिकाहरूमा पनौती नगरपालिका, रोशी गाउँपालिका र वेथानचोक गाउँपालिका छन्।

पालिकाहरूबाट सहयोगको माग भएपछि विपद् व्यवस्थापन समितिमा छलफल गरेर सहयोगका सिफारिस गरेर महानगर विपद् व्यवस्थापन समितिमा पठाइएको, समितिका संयोजक प्रेम थापाले जानकारी दिए।

आन्तरिक क्षति व्यवस्थापन गर्दै संकटमा परेका पालिकाहरूलाई महानगरपालिकाले सहयोग उपलब्ध गराएको हो। आन्तरिकतर्फ आफ्नो भौगोलिक क्षेत्रभित्र भएको क्षतिको विवरण पठाउन वडाहरूलाई पत्राचार गरिएको छ। बाह्यतर्फ सहयोगका माग भएका स्थानीय तहहरूलाई ‘विपद् व्यवस्थापन कोष’ बाट सहयोग उपलब्ध गराएको हो। अनधिकृत बसोबासलाई भौतिक सहयोग गरेर असुरक्षित आवासलाई बढवा नदिने महानगरपालिकाको नीति छ।

सहयोग उपलब्ध गराइएका पालिका क्षेत्रमा असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी र पहिरोले व्यक्तिका बस्ने घर पूर्ण र आंशिक रुपमा क्षति गरेको छ। सार्वजनिक सेवा प्रदान गरिने कार्यालयहरूबाट सेवा प्रवाह गर्न कठिन हुने अवस्था सिर्जना भएको छ। सडक, खानेपानीका ट्याङ्की तथा पाइप लाइन, सञ्चार र विद्युत् सञ्जाल विच्छेद भएको छ। खेतीबाली बगाएको र पुरिएको छ । लत्ताकपडा, खानेकुराको अभाव तथा स्वास्थ्यजन्य समस्या सिर्जना भएको छ। यस्तो मानवीय संकटमा राहत र पुनःस्थापना गर्न महानगरपालिकाले सहयोग गरेको हो।

बाढी पहिरोको विपत्तिमा परेर पनौती नगर क्षेत्रमा २० जना व्यक्तिको मृत्यु भएको छ। ५ सय वटा घर पूर्ण र ७१३ वटा घर आंशिक रुपमा क्षति भएका छन्। २ हजारभन्दा धेरै पशु धनको क्षति भएको छ।

रोशी गाउँपालिका क्षेत्रभित्र १२ जना व्यक्तिको निधन भएको छ। आवासीय करिब ५ सय घरमा पूर्ण क्षति भएको छ । करिब १ हजार ५ सय घरमा आंशिक क्षति भएको छ। खसी बोका, गाई, भैँसी गरेर करिब ५ सय र कुखुरा चल्ला करिब २ हजार संख्यामा क्षति भएको छ।

वेथानचोक गाउँपालिकाभित्र १२ जना व्यक्तिको निधन भएको छ। पूर्ण र आंशिक गरेर ९७० वटा घरहरूमा क्षति पुगेको छ। गाई, भैँसी र बङ्गुर गरेर १ हजार वटा, ८ हजार ५ सय वटा कुखुरा गरी ९ हजार ५ सय बढी पशुधनको क्षति भएको छ। गाउँपालिकाको प्रशासनिक भवनमा पनि क्षति पुगेको छ।   

प्रकाशित: १८ आश्विन २०८१ १६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App