३० भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

अन्तर्राष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन असोज ५ गते हुने

आउँदो असोज ५ गते ताप्लेजुङमा हुने अन्तर्राष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिता हुने भएको छ ।  

हिमाली संरक्षण मञ्चले रेडपाण्डा नेटवर्क र फुङलिङ नगरपालिका सहितका निकायसंग मिलेर गर्न लागेको म्याराथनका बेला रेडपाण्डाको प्रतिमा(स्ट्याचु)समेत स्थापना हुनेछ । जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा र फुङलिङ नगरप्रमुख अमिर मादेनको उपस्थितिमा सोमबार मञ्चले पत्रकार सम्मेलन गर्दै रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिताका बारेमा जानकारी गराएको हो । प्रतियोगिता सञ्चालनका लागि कूल २६ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजको छ ।  

हिमाली संरक्षण मञ्चका कार्यवाहक अध्यक्ष भिङमारे लिम्बूका अनुसार प्रतियोगिताका लागि फुङलिङ बजारबाट सुरु भई ३ हजार ७९४ मिटर उचाईको पाथीभरा मन्दिरसम्म पुगेर पुनःफुङलिङ बजार फर्कने गरी कूल ४८ किलोमिटर दुरी तय भएको छ । उनका अनुसार यसवर्ष महिला हाफ म्याराथन नभई पुरुष र महिला म्याराथन हुनेछ ।  

पुरुष तथा महिला म्याराथनका धावकलाई एकैपटक र एकै समयमा दौडाईने छ । म्याराथनमा सबैभन्दा पहिला दौड पूरा गर्ने एकजनालाई म्याराथनका बिजेता घोषित गरी नगद १ लाख रुपैयाँ पुरस्कार दिईने छ भने सर्बोत्कृष्ट धावक बाहेक पुरुष र महिलातर्फका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः जनही ५०, ३० र २० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

यस्तै ताप्लेजुङ, पाँचथर र इलामका सहभागीमध्ये पहिलो, दोस्रो र तेस्रो हुनेले जनही क्रमशः१५, १० र ५ हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । उल्लेखित तीन जिल्ला रेडपाण्डा पाइने जिल्लाको रुपमा परिचित छन् भने त्यहाँ रेडपाण्डा नेटवर्क सहितका निकायहरु मार्फत रेडपाण्डा संरक्षण अभियान समेत सञ्चालनमा छन् ।  

विश्व समुदायमा रेडपाण्डाको संरक्षण अभियानको सन्देश दिन सम्भवतः पहिलो पटक रेडपाण्डा म्याराथन आयोजना हुन लागेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए । असोज ५ गते अर्थात् सेक्टेम्बर २१ का दिन विश्व रेडपाण्डा दिवस मनाइन्छ । सोहि दिन म्याराथन गर्न लागिएको हो ।  

यसैबीच म्याराथनका सहभागीले नाम दर्ता शुल्क वापत तिर्नुपर्ने शुल्क महंगो भएको भन्दै दर्ता शुल्क बारे पुर्नविचार गर्न माग आएको छ । पत्रकार सम्मेलनमै दर्ता शुल्क महंगो भएको विषयले प्रवेश पाएको हो । हिमाली संरक्षण मञ्चले रेडपाण्डा म्याराथनमा सहभागी हुने विदेशी धावकका लागि जनही १ सय अमेरिकी डलर दर्ता शुल्क तोकेको छ । नेपाली धावकका लागि तीन हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ भने ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाका लागि जनही १ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ ।  

प्रकाशित: १७ भाद्र २०८१ १७:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App