१ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

गाउँमै विद्युतकाे राष्ट्रिय प्रसारण लाइन जोडिँदा स्थानीय खुसी

चिल्खाया गाउँमा विद्युतकाे राष्ट्रिय प्रसारण लाइन जोडिँदा स्थानीयमा खुसीयाली छाएको छ। कालीकाेट जिल्लाको तिलागुफा नगरपालिका वडा नम्बर ९ चिल्खाया गाउँमा नेपाल विद्युत् प्राधिकरणले पहिलो पटक राष्ट्रिय प्रसारण लाइन विस्तार गर्दा स्थानीयवासीमा खुसी छाएको हो।

जिल्लाको सदरमुकामबाट विकट मानिने गाउँका ४ सय २० घरमा राष्ट्रिय प्रसारण लाइन विस्तारपछि स्थानीयले विकासको महसुस गरेका छन्।

तिलागुफा नगरपालिकाकाे वडाहरूमा लामो प्रयासपछि राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार हुँदै छ। गाउँमा विद्युत् पुग्दा निकै खुसी भएको स्थानीय धनसुर खत्रीले बताए। गाउँमा विद्युत् नहुँदा पक्की घर बनाउँदा घरको सटर बनाउन महंगोमा जेनेरेटर चलाएर बनाउनुपर्ने बाध्यता नहुने र फर्निचरका सामानहरू सहजै रूपमा बनाउन सकिने, घरमा मसला पिस्न मिक्सचर चलाउन, चिसोमा हिटर बाल्न, पसलमा फ्रिज राख्न सहज भएको खत्रीले बताए।

पहिले बिजुली कस्तो हुन्छ भन्ने थाहा थिएन अहिले विद्युत् आउँदा निकै खुसी भएको सागर खत्रीले बताए।

वडाहरूमा राष्ट्रिय प्रसारण लाइन विस्तार भइसकेपछि विद्युत् सटबाट हुनसक्ने दुर्घटनाबाट सचेत हुन स्थानीयलाई तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्र शाहीले सुझाव दिएका छन्। उपप्रमुख शाहीले भने, ‘अहिले तिलगुफा नगरपालिकाका केही वडामा बिजुली बालेका छौं। यही आर्थिक वर्षमा पालिकाका सबै वडामा विद्युत् विस्तार गर्ने लक्ष्य रहेको छ।’

विद्युत् नपुगेका गाउँमा विद्युत् पुर्‍याउन पहल गरिरहेकाे नेपाल विद्युत् वितरण केन्द्र कालीकाेटका प्रमुख हरेन्दराय यादवले बताए।

अहिले जिल्लाका धेरै जसाे पालिकाका वडाहरूमा विद्युत् जडान सुरु भएकाे उनको भनाइ छ। तिलागुफा नगरपालिकाकाे ९,१० र ११ वडामा पनि रप्तार काम भइरहेकाे छ भने केही दिनमा विद्युत् सुचारु हुने नगरपालिकाले जनाएको छ।

प्रकाशित: २७ पुस २०८२ १०:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App