चितवनकी प्रतिभा श्रेष्ठ र भक्तपुरकी सोया चक्रधरले बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा स्वर्ण जितेका छन्।
कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा फाइटतर्फ सिनियर महिलामा प्रतिभाले ५३–५७ केजीमा र सोयाले ५७–६१ केजी तौल समूहमा स्वर्ण जितेका हुन्।
थलीस्थित आयोजकको हातामा भएको फाइनलमा प्रतिभाले काठमाडौंकी अनुरा श्रेष्ठ र सोयाले काभ्रेकी एलिना बन्मालीलाई हराए। फाइटमै ललितपुरकी खुसी घलानले स्वर्ण जितिन्। खुसीले ४९–५३ केजी तौलसमूहको फाइनलमा भक्तपुरकी सविना तामाङलाई पराजित गरिन्।
जिल्ला समन्वय समिति काठमाडौंको संयोजनमा भएको प्रतियोगितामा प्रतियोगिताको जुनियर पुरुष ४१–४४ केजीमा काठमाडौंका राहुल हाङ लिम्बू र महिला ३१–३४ केजीमा काठमाडौंकी सुप्रिया जोशीले स्वर्ण जिते।
फाइनलमा राहुलले काठमाडौंका ललितबहादुर राणा र सुप्रियाले काठमाडौंकै रोनिशा गौतमलाई हराए। जुनियर पुरुष ४४–४७ केजीमा नुवाकोटका सुदीप तामाङले काठमाडौंका रिडम बिसी र जुनियर महिला ३४–३७ केजीमा काठमाडौंकी जोबियानी तामाङले काठमाडौंकै साइना तामाङलाई हराउँदै पहिलो भए।
कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले प्रतियोगिताको उद्घाटन गरेका थिए। सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी लगायत उपस्थित थिए। यस प्रतियोगितामा दुई सय २७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्।
सिनियर/जुनियर पुरुषमा समान पाँच र सिनियर/जुनियर महिलामा समान पाँच गरी कुल २० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ। लिगको यो दोस्रो संस्करणको पहिलो प्रतियोगिता हो भने समग्रमा पाँचौं प्रतियोगिता हो। यसअघि लिगको पहिलो संस्करणमा चार प्रतियोगिता भएका थिए।
लिगको हरेक संस्करणमा एक वर्षको अवधिमा तीन महिनाको अन्तरालमा एउटा प्रतियोगिता हुने गरेको छ। त्यसअन्तर्गत दोस्रो संस्करणमा पनि चार प्रतियोगिता हुनेछ। लिगमा हरेक तौलसमूहमा पहिलो हुनेले १०, दोस्रो ७ र तेस्रोले तीन अंक पाउनेछन्। चार वटा लिग सम्पन्न भएपछि खेलाडीको प्रदर्शनका आधारमा एक उत्कृष्ट पुरुष/महिला खेलाडीले मोटरसाइकल पाउनेछन्।
यो लिगको हरेक स्पर्धामा शीर्ष तीन स्थान प्राप्त गर्ने उपत्यका बाहिरका खेलाडीले आगामी लिगमा खाना, बसोवास र यातायातको सुविधा पाउने भएका छन्।
मोटरसाइकल पुरस्कार र खेलाडीको सुविधाको व्यवस्थापन जिल्ला समन्वय समिति काठमाडौंले गर्नेछ। प्रदर्शनलाई नै मध्यनजर गरी दोस्रो संस्करणको चौथो लिगको समाप्तिमा हरेक तौलसमूहमा शीर्ष तीन स्थानमा रहने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार ५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरिनेछ।
प्रकाशित: २७ पुस २०८२ १०:२३ आइतबार





