२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

निर्वाचनलाई सुरक्षित बनाउन प्रधानमन्त्रीको निर्देशन, भनिन्- ‘सुरक्षामा कुनै चुक नहोस्’

प्रधानमन्त्री एवं रक्षामन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएकी छन्।

जंगी अड्डामा आयोजित पृतनापति समन्वयात्मक बैठक-२०८२ (दोस्रो) को समुद्‍घाटन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षामा कुनै पनि प्रकारको कमजोरी वा रिक्तता स्वीकार्य नहुने स्पष्ट पारिन्।

प्रधानमन्त्रीले सरकारद्वारा स्वीकृत प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अनुसार सेनालाई तोकिएको जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्न निर्देशन दिइन्।

‘निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न नेपाली सेनाले आफ्नो विशिष्ट क्षमता प्रदर्शन गर्नेमा म पूर्ण विश्वस्त छु,’ उनले भनिन्।

सुरक्षा निकायहरूबीचको समन्वयमा विगतका अनुभवबाट पाठ सिक्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले भनिन्, ‘विगतमा सुरक्षा संयन्त्रहरूबीच समन्वयमा कतै त्रुटि वा रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन दिनु हुँदैन। चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिनेतर्फ सचेत र सतर्क रहनुहोस्।’

प्रधानमन्त्री कार्कीले जनतालाई सुरक्षाको प्रत्याभूति दिन र सबै राजनीतिक दलका गतिविधिहरू विनाअवरोध सञ्चालन हुने वातावरण सृजना गर्न सेनालाई विशेष निर्देशन दिएकी छन्।

अन्य सुरक्षा निकायहरूसँगको सहकार्यमा स्पष्ट कार्ययोजनासहित अघि बढ्न र आसन्न चुनावका विविध आयामहरूको सुक्ष्म विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा त्रुटिरहित ढंगले काम गर्न उनले जोड दिइन्।

बैठकमा प्रधानसेनापति लगायत नेपाली सेनाका उच्च अधिकृत तथा पृतनापतिहरूको सहभागिता रहेको थियो।

प्रकाशित: २७ माघ २०८२ २२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App