७ वैशाख २०८१ शुक्रबार
समाज

रारा पर्यटन वर्षको तयारीका लागि कर्णाली प्रदेशका मन्त्रीको दौडधुप

जुम्ला – रारा कर्णाली पर्यटन वर्ष २०७५ को पूर्व तयारीका लागि कर्णाली प्रदेशका मन्त्री जिल्ला दौडाहमा केन्द्रित छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, पर्यटनमन्त्री नन्दसिंह ऐडी र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीको टिम कर्णाली प्रदेशका जिल्ला दौडाहामा लागेका हुन।

दैलेख, कालिकोट हुँदै जुम्ला पुगेका मन्त्रीहरूले कृषि अर्गानिक कर्णाली प्रदेश घोषणाका लागि आधार विन्दु जुम्ला भएको बताएका हुन। नेपाल पत्रकार महासंघ शाखा जुम्लाले आयोजना भएकोे पत्रकार सम्मेलनमा उनीहरूले कर्णालीलाई अर्गानिक र पर्यटकिय सम्भावना युक्त प्रदेश बनाउने प्रतिज्ञा गरे।

कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णाली प्रदेशको जुम्ला भौगोलिक रुपमा सुन्दर भएको र पहिला नै अर्गानिक जिल्लाको रुपमा घोषणा भइसकेकोले प्रदेश सरकारले अर्गानिक प्रदेश घोषणाका लागि आधार केन्द्रका रुपमा जुम्लालाई लिइएको बताइन। 

यहाँको उर्भर खेतियोग्य जमीन, उत्पादन, भुगोल र पहिचान अरु जिल्ला भन्दा फरक छ, उनले भनिन, बाहिर जिल्लामा वा क्षेत्रमा जुम्लाको उत्पादन भन्ने वित्तिकै पहिचान फरक हुन्छ र बजार पाउने गरेको छ, यो निकै खुसीको विषय हो। यहाँको सिमी, कालीमार्सी चामल, फापरको पिठो लगायत अर्गानिक उत्पादनका रुपमा अन्य जिल्लाका नागरिकहरूले बुझेका छन्, मन्त्री केसीले भनिन्, जुम्ला लगायत कर्णाली प्रदेशलाई कृषि पर्यटनका रुपमा विकास गर्ने हेतुले कृषि मन्त्रालयले कार्ययोजना निर्माण गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश अब उत्पीडनबाट मुक्त हुने दावी गरे। उनले भने कर्णाली प्रदेशको जल,जमीन र जडीबुटीलाई उत्खनन् गरी समृद्धिको ढोका खोल्ने प्रयत्न प्रदेश सरकारले गरिरहेको छ।  कर्णाली प्रदेशको समृद्धि रारा कर्णाली पर्यटन वर्ष २०७५ बाट सुरु भएको उनले बताए। उनले भने, अब कर्णाली प्रदेशमा पर्यटकिय रुपमा आउने पाहुनाले  असुरक्षितको अनुभूती नगर्ने खालको सुरक्षा व्यवस्था मिलाउछौ।  

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले रारा कर्णाली पर्यटन वर्ष २०७५ को बैशाख १ गते प्रधानमन्त्री केपी ओलीले रारा तालबाटै उद्घाटन गर्ने गरी तयारी भइरहेको बताए। उनले भने प्रचुरमात्र पर्यटन क्षेत्र भएको कर्णाली प्रदेशमा पर्यटन वर्षमा मात्र होइन आगामी दिन लाखौंको हिसाबमा आफै पर्यटक आउने वातावरण सिर्जना गर्नका लागि कार्यनीति बनाइरहेको जानकारी दिए।

कर्णाली प्रदेशमा पर्ने १० जिल्लामा पर्यटकिय गन्तव्य स्थल बनाउने लक्ष्यले पर्यटन करिडोर तय गर्ने बताए। पर्यटन मन्त्री बुढाका अनुसार प्रधानमन्त्री ओलीले बैशाख १ गते नै कालिकोट पचाल झरना, मुगुका राराताल र डोल्पाको सेफोक्सुण्डो बाटै पर्यटन सम्बन्धी सन्देश फैलाउने कार्य तालिका तयार गरिएको छ ।

सुर्खेतको देउती बज्यै, काक्रेबिहार, बुलबुले ताल, दैलेखको बिभिन्न पर्यटन गन्तव्य स्थल, कालिकोटको पचाल भर्ना, सांस्कृतिक, आर्थिक र सामाजिक पर्यटकिय स्थल, जुम्लाको खस भाषाको उत्पति क्षेत्र सिजा, तातोपानी धारा, चन्दननाथ मन्दिर, विश्वको अग्लो स्थानमा कालीमार्सी धान फल्ने छुमचौर ज्यूलो, गुठीचौर, पाटन क्षेत्रमा पर्ने ठाकुरज्यू दह, विष्टज्यू दह, रङफर्ने गिडिदह, डोल्पाको सेफोक्सुण्डो, मुगुको राराताल, हुम्लाको मानसरोबर जस्ता पर्यटकिय गन्तव्य स्थलहरूलाई समेट्ने गरी पर्यटन करिडोर तय गर्ने पर्यटन मन्त्रालयको नीति रहेको छ।

दक्षिण छिमेकी राष्ट्र भारतसँग कर्णाली प्रदेश जोडिएको छैन आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीले भने, मुगु हुदै उत्तरी छिमेरी राष्ट्र चिनसँग नाका जोड्नका लागि नाक्चेलाग्ना र हुम्लाको हिल्सा नाका छिटै खोल्ने तयारी भएको छ। त्यसका लागि संघीय सरकारमार्फत पहल सुरु गरिएको छ, उनले भने।  उनले भने ‘हुम्ला, मुगु र डोल्पाका तीन नाका खोल्ने छौं। त्यसमध्ये हुम्लाको हिल्सा नाका तत्कालै खोल्छौं,’। कर्णाली करिडोरलाई दुई लेनको बनाएर मुगु र डोल्पाका उत्तरी नाका खोलिने प्रदेश सरकारको तयारी छ, उनले थपे। तिनै नाकाहरूलाई खोलेर उत्तरी क्षेत्रबाट  पर्यटक भित्र्याउने योजना रहेको छ।

अहिले यिनै पर्यटन गन्तव्य स्थलमा आउने पर्यटकहरू धुलाम्य भएर जाने गरेका छन्। कर्णाली राजमार्गको स्तरउन्नती देखि पर्यटकमैत्री वातावरण सिर्जना गर्ने पर्यटन मन्त्री बुढाले बताए। उनले भने, कर्णालीको समृद्धिका लागि प्रदेश सरकार गम्भिर देखिएको छ।

प्रकाशित: १७ चैत्र २०७४ ०७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App